नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ सहकारीले कृषि उत्पादन, रोजगारी सृजना र सदस्यको जीवनस्तर सहज बनाउन काम गर्नु पर्ने बताएका छन् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको १७औं साधारणसभाको प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने , ‘चीनका सहकारीले वर्षभरी उद्यमव्यवसाय गरेर कति उत्पादन रोजगारी बढाइ जनताको जीवनस्तर उकास्न सके भन्ने कुरा वार्षिक प्रतिवेदनमा समेट्ने गर्दा रहेछन्, उनले थपे ‘यहाँ त बचत र ऋण लगानीको भन्दा कुनै कुरै आउँदैन ।’
‘मुलुक कृषि प्रधान देश भएपनि तरकारी लगायत खाद्यान्नमा समेत भारतमा निर्भर रहनुपरेको छ’, उनले थपे ‘नेपालमा धेरै सहकारी भएपनि उनीहरुको उत्पादन केहि पनि छैन । सहकारीले कृषिलाई प्राथमिकता दिनुपर्छ । गरिब र किसानका निम्ति काम गर्नु पर्छ नत्र सहकारी हुन सक्दैन ।’
‘कृषिमा लगानी गर्दा कृषकले वर्षमा २ पटक ब्याज तिर्छ । तर ठूला बहुराष्ट्रिय कम्पनीहरुमा लगानी गर्दा हप्तैपिच्छे ब्याज आउँछ । त्यसैले बैंकहरुले त्यस्ता क्षेत्रमा बढि लगानी गरेका छन् । सहकारीले सदस्यबाट उठाएको ससानो बचतलाई सदस्यमार्फत नै परिचालन गरेर उनीहरुको जीवनस्तर उकास्नु अहिलेको आवश्यकता हो ।’ उनले थपे ‘नाफालाई मात्र नहेरी सदस्य र समुदायलाई कसरी सेवा दिन सकिन्छ भन्नेमा सहकारीको ध्यान जानुपर्छ । संस्थाले कति नाफा बाँड्यो भन्दापनि सदस्यको कति बन्दोबस्त गर्यो भन्ने कुरा महत्वपूर्ण हो ।’
‘सहकारीमा जम्मा भएको पुँजीको लाभ सदस्यले लिनुपर्ने हो तर त्यो अवस्था अहिले छैन, सत्तामा बस्नेहरुले सहकारीको पुँजी लगेर सीमित व्यक्तिले मुनाफा कमाउन प्रयोग भइरहेको छ,’ उनले भने । सहकारीकर्मी त्यसतर्फ सचेत भएर सहकारीको पुँजी सहकारी क्षेत्रमै रहने बातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।