दुई साता अघि मात्रै ५० रुपैयाले बढेको खाना पकाउने एलपी ग्यासको मुल्य सरकारले पुनः मूल्य बढाएको छ । प्रतिसिलिन्डर रु ७५ बढाएपछि एलपी ग्यासको मुल्य १५ सय ७५ पुगेको छ । पेट्रोल, डिजेल र मट्टितेल पनि प्रतिलिटर तीन रूपैयाले बढाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर रु १३६ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य रु ११९ कायम भएको छ ।
आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर रु पाँच बढेर १०१ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेकोे निगमका सहप्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले यस अघि कात्तिक १२ गते पनि इन्धनको मूल्यवृद्धि गरेको थियो ।
बजारमा खाद्यान्न, खाने तेल तथा तरकारीमा चर्को मुल्य तिरिरहेका सर्वसाधारणलाई राहत दिनुपर्ने बेलामा सरकारले धमाधम इन्धनको मुल्य वृद्धि गरेर ढाड सेक्ने काम गरेको उपभोक्ताहरुको भनाई छ ।