आइतबार, कार्तिक ९ गते २०८३

वित्तीय कारोबार गर्न पाउनु पर्ने माग गर्दै संघहरुले सहकारी प्राधिकरणमा बुझाए ज्ञापन पत्र


आश्विन २८, २०८२ मंगलबार
वित्तीय कारोबार गर्न पाउनु पर्ने माग गर्दै संघहरुले सहकारी प्राधिकरणमा बुझाए ज्ञापन पत्र

बागमती प्रदेशमा  रहेका बचत तथा ऋण सहकारी संघहरुले बचत ऋणको कारोबार गर्न पाउनु पर्ने माग गरेका छन् । प्रदेशमा रहेका जिल्ला बचत तथा ऋण सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)ले सहकारी ऐन २०७४ बमोजिम गर्दै आएको बचत तथा ऋणको कारोबार गर्न पाउनुपर्ने माग गरेका हुन् । बचत संघहरुको हेटौडामा भएको संघहरुको संयुक्त बैठकले तयार गरेको संयुक्त विज्ञप्ती राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा.खगराज शर्मालाई प्राधिकरणकै कार्यालयमा बुझाएका छन् ।

उक्त विज्ञप्ती बुझ्दै अध्यक्ष शर्माले सहकारी अभियानमा संघहरुको भुमिका आवश्यक रहेको बताए । संघको सहयोग विना राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मात्र सहकारी संस्थालाई नियमन गर्न प्रयाप्त नहुने जनाए । बचत तथा ऋण सहकारी संस्था संख्यामा धेरै भएको र दर्ता मापदण्डका सूचांक पनि प्रारम्भिक संस्थाका आधारमा तयार गरेका कारण पहिलो चरणमा प्रारम्भिक संस्थालाई दर्ता अभिलेखिकरण गर्ने र दोस्रो चरणमा संघ नियमनका मापदण्ड बनाई दर्ता अभिलेखिकरण गर्ने उनको भनाई छ । सहकारी ऐनले संघलाई दिएको अधिकार र अभियान कुण्ठित हुने कार्य प्राधिकरणले गर्न खोजेको होइन भन्दै संघलाई सिमित कारोबार गर्न सक्ने गरी मापदण्ड जारी हुनेबारे छलफल भइरहेको उनले जानकारी दिए । विज्ञप्ती बुझाउदै बागमती प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष जिबसराज खड्काले ऐनमा भएका व्यवस्थालाई कुण्ठित हुने गरी संघमा रहेको रकमलाई तरलतामा गणना नगर्ने जारी भएको निर्देशन प्रति विरोध जनाए ।

बागमती प्रोस्कूनका महासचिव गोविन्द काफ्ले सहकारी संघहरुलाई पनि दर्ता अभिलेखिकरणमा समावेश गर्नुपर्ने माग गरे । काठमाण्डौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिपक पनेरुले सहकारी अभियानलाई कमजोर बनाउने गरी जारी भएको निर्देशन संशोधनको आवश्यक रहेको बताए । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीका वेथितीको रोकथाम र गलत गर्नेलाई कार्वाहीको लागि सहकारी अभियानले सहकारी प्राधिकरणको आवयकता महसुस गरेको भन्दै संघले सहकारी ऐन अनुसार कारोबार गर्न पाउनुपर्नेमा जोड दिए ।   काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायष्ठले निर्देशनमा संघलाई कमजोर बनाउने बुँदाहरुको संशोधनको माग गर्दै थप विरोध गर्न नपर्ने गरी संशोधनको कार्य अगाडि बढाउन आग्रह गरे ।

बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव दाहालले जारी नियमकीय मापदण्डमा धेरै कुरा सकारात्मक रहेकोमा सोको विरोध नभई संघले कारोबार गर्न पाउने ऐनले सुनिश्चितता गर्दा गदै पनि सो अधिकारबाट बञ्चीत गर्नु गलत भएको बताए । उनले संघमा रहेको प्रारम्भिक संस्थाहरुको रकमलाई तरलतामा गणना नगर्नु  गलत भएको धारणा राखे । सो कार्यक्रममा बागमती प्रोस्कून, काठमाण्डौं ललितपुर, भक्तपुर, काभे्र, दोलखा लगायतका बचत तथा ऋण सहकारी संघका पदाधिकारी, संचालक र प्रमुख कार्यकारी अधिकृत÷व्यवस्थापकहरुको उपस्थिति रहेको थियो । 

viber_image_2025-10-14_17-14-29-923.jpg