आइतबार, कार्तिक ९ गते २०८३

आन्दोलनका क्रममा बागमती प्रदेशमा अभिलेख नष्ट, सहकारीहरूले यी विवरण पुनः अद्यावधिक गर्नुपर्ने


आश्विन २३, २०८२ बिहीबार
आन्दोलनका क्रममा बागमती प्रदेशमा अभिलेख नष्ट, सहकारीहरूले यी विवरण पुनः अद्यावधिक गर्नुपर्ने

 

बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले नियमन क्षेत्रभित्रका सहकारी संघसंस्थाहरूलाइ विवरण अद्यावधिक गर्न भनेको छ । 

२०८२ साल भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेन–जी आन्दोलनका क्रममा हेटौडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित सहकारी तथा गरिबी निवारण मन्त्रालयमा तोडफोड र आगजनी हुँदा मन्त्रालयका भौतिक संरचना र सहकारी संघ–संस्थासम्बन्धी केही अभिलेख नष्ट भएको जनाएको छ।

साेही कारण मन्त्रालयले आफ्नो नियमन क्षेत्रभित्रका सबै सहकारी संघ–संस्थालाई आवश्यक प्रमाणित कागजातहरू पेश गरी अभिलेख पुनः सङ्ग्रह र वार्षिक साधारणसभाको विवरण अद्यावधिक गर्न अनुरोध गरेको हो। 

अद्यावधिक प्रक्रिया हेटौंडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरभित्र रहेको सहकारी तथा गरिबी निवारण महाशाखाबाट गर्न सकिने मन्त्रालयले जनाएको छ।

सहकारी संस्था अद्यावधिकका लागि आवश्यक कागजातहरू:

  • आ.व. २०८१/८२ को साधारण सभाको उपस्थिति र निर्णयको प्रमाणित प्रतिलिपि।

  • बहालवाला सञ्चालक समिति सदस्यहरूको फोटो, हस्ताक्षर, तीन पुस्ते विवरण र नागरिकता प्रतिलिपि।

  • संस्थाको स्वीकृत विनियम र दर्ता प्रमाणपत्रको प्रतिलिपि।

  • आ.व. २०७९/८० र २०८०/८१ का साधारण सभा विवरण, लेखा परीक्षण प्रतिवेदन र लेखापरीक्षक नियुक्ति विवरण।

  • पछिल्ला दुई कार्यकालका सञ्चालक समितिका सदस्यहरूको फोटो, हस्ताक्षर, तीन पुस्ते विवरण र नागरिकता प्रतिलिपि।

  • कर चुक्ता प्रमाणपत्र वा म्याद थप पत्र।

  • कोपोमिस (COPOMIS) प्रणालीमा अद्यावधिक विवरण पेश गरेको प्रमाण।

  • मन्त्रालयको वेबसाइटमा रहेको “सहकारी अद्यावधिक विवरण ENTRY २०८१–८२” फारम भरेको प्रमाण।

  • वेबसाइटबाट डाउनलोड गरी भरेको “सहकारी वार्षिक विवरण अद्यावधिक कागजात–२०८२” फारम र सम्बन्धित प्रमाणपत्र।

  • रजिष्ट्रारले निर्देशन अनुसार माग गर्न सक्ने अन्य आवश्यक विवरणहरू।