न्यूयोर्क / अमेरिकामा अश्वेत जातिका नगािरक जोर्ज फ्लोइड जाे अफ्रिकी-अमेरिकी मूलका थिए, उनको हत्या आरोप लागेका एक अमेरिकी पूर्वप्रहरी डेरेक शोभिनलाई २२ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको छ । सन् २०२० को मइ महिनमा अमेरिकाको मिनिआपुलिस शहरमा हत्या गरेको आरोपमा उनी हिरासतमा थिए । शोभिनमाथि उनले पदमाथिको विश्वास र अख्तियारीको दुरुपयोग गरेको र खासगरी क्रूरता देखाएको आरोप लगाइएको छ । ४८ वर्षीय फ्लोइडको मृत्यु ती प्रहरी अधिकारीले नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेपछि भएको थियो।

फ्लाेइडकाे हत्याले अमेरिकामा रङ्गभेद र प्रहरी बर्बरताविरुद्ध विश्वव्यापी प्रदर्शनहरू सिर्जना गरेको थियो। ४५ वर्षीय शोभिन गत महिना सेकेन्ड डिग्री हत्या र अन्य अभियोगमा दोषी ठहरिएका हुन्। सुनुवाइका बेला उनका वकिलले उक्त हत्यालाई ‘राम्रो मनसाय राख्दा भएको गल्ती’ बताएका थिए। उनले अब आजीवन हतियार राख्न समेत नपाउने भएका छन् ।
काला जातिका फ्लोइडको परिवार र समर्थकहरूले यस फैसलाको स्वागत गरेका छन्। फ्लोइडकी बहिनी ब्रिडगेट फ्लोइडले उक्त सजायले ‘अन्ततः प्रहरी बर्बरताका विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको देखाएको उल्लेख गर्दै अझै अगाडिको बाटो लामो रहेको’ बताएकी छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले भने सजाय उपयुक्तजस्तो देखिएको तर आफूलाई सबै कुरा थाहा नभएको स्वीकार गरेका छन्।