कमरेड पुष्पलालको माक्र्सबादी चिन्तन परम्पराको विरासतलाई जीवित राख्नु भनेको उहाँका ऐतिहासिक निष्कर्ष, राजनीतिक कार्यक्रम र कार्यनीतिलाई समय र परिस्थितिको परिवर्तनसँग कुनै सम्बन्ध नराखी जस्ताको तस्तै दोहो¥याउनु होइन। कुनै पनि विचारको जीवन्तता त्यसलाई कण्ठस्थ दोहो¥याउनुमा होइन, त्यसको वैज्ञानिक सार ग्रहण गरेर नयाँ वस्तुगत परिस्थितिको विश्लेषण र रूपान्तरणमा प्रयोग गर्नुमा निहित हुन्छ। पुष्पलालको वास्तविक वैचारिक योगदान पनि यही वैज्ञानिक, वस्तुवादी, ऐतिहासिक र जनमुखी चिन्तन पद्धतिमा खोजिनुपर्छ।
उहाँले आफ्नो समयको नेपाली समाजको आर्थिक संरचना, वर्गसम्बन्ध, राजनीतिक सत्ता, राष्ट्रिय स्वाधीनताको अवस्था र जनताको जीवनसङ्घर्षलाई विश्लेषण गरेर राजनीतिक निष्कर्ष निकाल्नुभयो। निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध प्रगतिशील बुद्धिजीवीलाई संगठित गर्ने, राष्ट्रिय तथा जनवादी संस्कृतिको विकास गर्ने र साहित्य, कला तथा बौद्धिक गतिविधिलाई जनताको जीवन र सामाजिक रूपान्तरणसँग जोड्ने उहाँको प्रयास त्यसैको अभिव्यक्ति थियो। उहाँको सम्बोधनमा बुद्धिजीवीको भूमिका ज्ञान उत्पादनमा मात्र सीमित नराखी सामाजिक यथार्थको आलोचनात्मक विश्लेषण र परिवर्तनको प्रक्रियासँग जोडिएको देखिन्छ।
तर आजको नेपाली समाज उहाँले विश्लेषण गर्नुभएको समयको समाजभन्दा धेरै बदलिएको छ। उत्पादन सम्बन्ध, वर्ग संरचना, राज्यसत्ता, अन्तर्राष्ट्रिय शक्ति सम्बन्ध, प्रविधि, सञ्चारमाध्यम र सांस्कृतिक प्रभावका स्वरूपमा व्यापक परिवर्तन आएका छन्। वित्तीय पुँजी, डिजिटल एकाधिकार, कृत्रिम बुद्धिमत्ता, श्रमको बदलिँदो स्वरूप, बढ्दो आर्थिक असमानता, सामाजिक विभेद र राष्ट्रिय स्वाधीनताका नयाँ चुनौतीले नयाँ प्रकारको विश्लेषण माग गर्छन्। त्यसैले उहाँको समयका निष्कर्षलाई आजको यथार्थमा परीक्षण नगरी स्वीकार गर्नु पनि वैज्ञानिक पद्धति हुँदैन; त्यस्तै, समय परिवर्तन भएको नाममा उहाँले उठाउनुभएका वर्गीय मुक्ति, राष्ट्रिय स्वाधीनता, जनताको सार्वभौमिकता र सामाजिक न्यायका प्रश्नलाई अप्रासङ्गिक ठान्नु पनि कदापि उचित हुँदैन।
यस सन्दर्भमा पुष्पलालको विरासतलाई तीन तहमा बुझ्न आवश्यक छ।
पहिलो, ऐतिहासिक विरासतको संरक्षण। नेपाली कम्युनिष्ट आन्दोलनको निर्माण, जनताको राजनीतिक चेतना अभिवृद्धि, राष्ट्रिय स्वाधीनताको रक्षा र शोषित–उत्पीडित वर्गको मुक्तिका निम्ति उहाँले गर्नुभएको योगदानको तथ्यपरक अध्ययन र मूल्याङ्कन गर्नु।
दोस्रो, वैचारिक विरासतको आलोचनात्मक पुनर्मूल्याङ्कन। उहाँका विचार र कार्यक्रमलाई तिनको ऐतिहासिक सन्दर्भमा बुझ्दै आजको नेपाली समाजको वास्तविक वर्ग संरचना, उत्पादन सम्बन्ध, राष्ट्रिय अर्थतन्त्र र अन्तर्राष्ट्रिय परिस्थितिको आधारमा पुनः परीक्षण गर्नु। जहाँ ऐतिहासिक निष्कर्ष आज पनि सान्दर्भिक छन्, तिनलाई विकसित गर्नु; जहाँ नयाँ यथार्थले नयाँ निष्कर्ष माग्छ, त्यहाँ नयाँ विचार र कार्यदिशा निर्माण गर्नु।
तेस्रो, व्यवहारमा रूपान्तरण। वैज्ञानिक विचारलाई जनताको वास्तविक जीवनसँग जोड्नु, श्रमिक, किसान, उत्पीडित समुदाय, युवा र बौद्धिक शक्तिका समकालीन समस्या पहिचान गर्नु तथा तिनको समाधानका लागि ठोस सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक पहल अघि बढाउनु।
यसका लागि कम्युनिष्ट आन्दोलनले आफ्नै इतिहास, विचार, संगठन र व्यवहारको समेत आलोचनात्मक समीक्षा गर्न सक्नुपर्छ। विचारमा प्रश्न उठाउने स्वतन्त्रता, तथ्यका आधारमा निष्कर्ष निकाल्ने साहस, जनतासँगको जीवित सम्बन्ध र व्यवहारबाट सिक्दै आफूलाई सच्याउने क्षमता वैज्ञानिक आन्दोलनका अनिवार्य सर्त हुन्। नेता वा व्यक्तिभन्दा नीति, पदभन्दा विचार र नाराभन्दा वस्तुगत यथार्थलाई प्राथमिकता दिने पुष्पलालको मान्यतालाई पनि यही व्यापक अर्थमा बुझ्नुपर्छ।
अतः पुष्पलालप्रतिको वास्तविक सम्मान उहाँका तस्वीरमा माल्यार्पण गर्नु वा उहाँका पुराना निष्कर्ष दोहो¥याउनुमा मात्र होइन; उहाँले देखाउनुभएको वैज्ञानिक, वस्तुवादी, आलोचनात्मक र जनमुखी चिन्तन पद्धतिलाई आत्मसात् गर्दै आजको नेपाली समाजको यथार्थ बुझ्ने, त्यसलाई बदल्ने र भविष्यको सामाजिक रूपान्तरणको नयाँ बाटो पहिल्याउने साहसमा अभिव्यक्त हुन्छ। इतिहासबाट शिक्षा लिने, वर्तमानको वस्तुगत विश्लेषण गर्ने र भविष्यका लागि नयाँ सम्भावना निर्माण गर्ने यही प्रक्रिया नै पुष्पलालको वैचारिक विरासतको जीवन्त निरन्तरताको प्रकृया हो।