आज युरोपको धर्तीमा "जेन-जी" का युवाहरू, मजदुर संगठनहरू र क्रान्तिकारी वामपन्थी शक्तिहरूको नेतृत्वमा भइरहेको विशाल वर्ग-संघर्षले विश्वभरिका उत्पीडित जनता र सर्वहारा वर्गलाई नयाँ ऊर्जा प्रदान गरेको छ। जर्मनी, फ्रान्स, इटाली र पोर्चुगल जस्ता साम्राज्यवादी तथा नवउदारवादी केन्द्रहरूमा सडकमा ओर्लिएका लाखौं जनताको यो उभार कुनै आकस्मिक घटना होइन, बल्कि यो पुँजीवादी व्यवस्थाको गहिरिँदो संकट र यसको ऐतिहासिक असफलताको प्रत्यक्ष परिणाम हो।
नेपालका कम्युनिष्ट र वामपन्थीहरू, जसले दशकौंदेखि सामन्तवाद र वैदेशिक साम्राज्यवादविरुद्ध सशस्त्र र शान्तिपूर्ण संघर्ष लडेका छन्, यस ऐतिहासिक घडीमा युरोपेली समकालीन वर्ग-संघर्षप्रति आफ्नो दृढ र निशर्त ऐक्यबद्धता प्रकट गर्दछन्।
पुँजीवादी संकट र जनजीवनको बदहाली
युरोपका शासकहरूले लामो समयदेखि "कल्याणकारी राज्य" को झुठो भ्रम छरेर आफ्नो नवउदारवादी चरित्र लुकाउँदै आएका थिए। तर आज, चरम मूल्यवृद्धि, आवासको अभाव, शिक्षा र स्वास्थ्यको निजीकरणले त्यहाँका आम श्रमजीवी र युवाहरूको जीवन तहसनहस बनाएको छ। एकातिर बहुराष्ट्रिय कम्पनी र वित्तीय पुँजीपतिहरूको नाफा दिनप्रतिदिन चुलिँदै गएको छ भने, अर्कोतिर आम जनताले आफ्नो टाउको लुकाउने ओत (आवास) समेत पाउन नसक्ने स्थिति सिर्जना भएको छ।
पोर्चुगलको लिस्बन र पोर्तोका सडकमा "आवासको अधिकार" का लागि टेन्ट टाँगेर बस्न बाध्य भएका युवाहरू हुन् वा जर्मनीमा महँगी र सैन्य भर्तीविरुद्ध सडकमा उत्रिएका विद्यार्थीहरू—तिनीहरूको पीडा र आक्रोशले पुँजीवादको कुरुप अनुहारलाई विश्वसामु छताछुल्ल पारेको छ।
साम्राज्यवादी युद्ध र घरेलु दमनको विरोध
नेपाली वामपन्थी दृष्टिकोणबाट हेर्दा, युरोपेली सरकारहरूले आफ्ना जनताको पेट काटेर सैन्य बजेट बढाउनु र साम्राज्यवादी युद्धहरूमा अर्बौं डलर झोस्नु घोर निन्दनीय छ। इटालीका मजदुरहरूले सैन्य खर्च बढाउने र जनसरोकारका क्षेत्रमा बजेट कटौती गर्ने (Austerity) नीतिका विरुद्ध गरेको आमहडतालले के पुष्टि गर्छ भने, पुँजीवादी शासकहरू जनयुद्ध होइन, साम्राज्यवादी युद्धको संरक्षण गर्न उद्यत छन्।
फ्रान्समा म्याक्रोन सरकारले आफ्नै नागरिकमाथि ७० हजारभन्दा बढी प्रहरी र कफ्र्यु लगाएर जुन फासीवादी दमन प्रदर्शन गरेको छ, त्यसले "पश्चिमा लोकतन्त्र" को मुकुण्डो उतारेको छ। जब-जब पुँजीवादी व्यवस्था संकटमा पर्छ, यसले आफ्नो लोकतान्त्रिक चरित्र गुमाएर फासीवादी दमनको सहारा लिन्छ भन्ने मार्क्सवादी-लेनिनवादी निष्कर्षलाई यस घटनाले पुनः प्रमाणित गरेको छ।
नेपाली वामपन्थी आन्दोलनका लागि शिक्षा र ऐक्यबद्धता
नेपाल जस्तो विकासोन्मुख देशका वामपन्थीहरूका लागि युरोपको यो आन्दोलन अत्यन्तै शिक्षाप्रद छ। हामीले बुझ्नुपर्छ कि पुँजीवादी शोषणको स्वरुप भौगोलिक सीमामा मात्र सीमित हुँदैन। अन्तर्राष्ट्रिय बन्दरगाह मजदुरहरूको हालैको ठूलो हडतालले पुँजीवादविरुद्धको लडाइँ विश्वव्यापी छ भन्ने देखाएको छ।
युरोपेली कम्युनिष्ट पार्टीहरू र उनीहरूका युवा संगठनहरूले जसरी यस आन्दोलनलाई केवल 'सुधारवादी' मागहरूमा मात्र सिमित नराखेर व्यवस्था विरोधी (Anti-capitalist) क्रान्तिकारी आन्दोलनमा बदल्न खोज्दैछन्, त्यो अत्यन्तै प्रशंसनीय छ।
निश्कर्ष
युरोपेली साम्राज्यवादी शासकहरूले आन्दोलनलाई "अतिवादी र हिंस्रक" को बिल्ला भिराएर दमन गर्न खोजे पनि, इतिहासको पाङ्ग्रालाई कसैले रोक्न सक्दैन। शोषित र उत्पीडित वर्ग जहाँको भए पनि उनीहरूको सत्रु एउटै हो—पुँजीवादी व्यवस्था।
नेपालका सम्पूर्ण क्रान्तिकारी वामपन्थी शक्तिहरू फ्रान्स, जर्मनी, इटाली लगायत सिंगो युरोपमा स्थापित हुँदै गरेको यस नयाँ सर्वहारा विद्रोहको सडक-लडाइँलाई लाल सलाम टक्राउँछन्। पुँजीवादको चिहान खन्ने यो ऐतिहासिक प्रक्रियामा युरोपेली युवा र मजदुर वर्गको विजय सुनिश्चित छ।
विश्वका मजदुरहरू एक होऔं!
युरोपेली युवा र सर्वहारा वर्गको न्यायपूर्ण आन्दोलन जिन्दावाद !
थापा लण्डन निवासी बिश्लेषक हुनु हुन्छ ।
चाह थापा