चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ३३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अतिथि संस्थाका पुर्व उपाध्यक्ष तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे रहेका थिए ।
प्रमुख अतिथि बादेले चण्डेश्वरी साकोस समुदायमा आधारीत भई बिगत ३ दशक देखी नै सहकारी मुल्य, मान्यता अनुरुप आन्तरीक सुशाशन कायम गरी वित्तीय कारोबार गर्दै बताए । सभामा संस्थाका अध्यक्ष बादेले सुरुमा १३ जना युवाको अग्रसरतमा समुदायको लागि गठन भएको सहकारीमा अहिले १० हजार ९७३ सदस्य पुगेको बताए । सदस्यहरुले संस्थामा ढुक्क भएर वित्तीय कारोबार गरिराखेको जानकारी दिँदै उनले संकलित पुँजीलाई आय आर्जन र रोजगारी सृजना गर्ने क्षेत्रमा परिचालन गर्दै आएको बताए । संस्था नीति, विधि र पद्धतीमा सञ्चालन भएको र संस्थागत सुशासनमा अब्बल रहेको अध्यक्ष श्रेष्ठले बताए ।
सरकारले सहकारी ऐन नियमको कार्यान्वयन गर्दै यो क्षेत्रलाई व्यवस्थित बनाउन लाग्नु पर्नेमा उनको जोड छ । सदस्यहरुको सम्पूर्ण आवश्यकता पुरा गर्ने गरी संस्थाले काम गर्दै आएको र उत्कृष्ट र दिगो संस्थाको सपना मुख्य रहेको उनले जनाए । संस्थाका सचिव बुद्धरत्न मानन्धरले आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवदन तथा चालु आबको प्रस्तावित नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । यस आबमा सदस्यता तथा डिजिटल सेवा सहभागितामा वृद्धि,तालिम तथा गोष्ठी,विभिन्न शिविर, सदस्य शिक्षा तथा समुदाय भेटघाट, सम्मान तथा पुरस्कार वितरण जस्ता गतिविधि गर्ने उनले सभामा जानकारी दिए । कोषाध्यक्ष गणेश कुमार रंजितले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आबमा शेयर पुँजी ११ करोड ४२ लाख,बचत संकलन १ अर्ब १६ करोड १६ लाख र ऋण लगानी ८९ करोड ८६ लाख गरी कुल सम्पत्ति १ अर्ब ५१ करोड ४९ लाख पुगेको जानकारी दिए ।

उनले गत आबमा ३ करोड ३९ लाख ४१ हजार खुद नाफा भएको सभामा उल्लेख गरे । साधारण सभाको अवसरमा संस्थामा आबद्ध सदस्य तथा बाल सदस्यहरुले एस.ई.ई. २०८१ मा सहभागी भई उत्तिर्ण भएका ३३ जना छात्र छात्राहरुलाई सम्मान गरिएको थियो भने ति मध्ये ५ जनालाई ज्योती प्रकाश सैँजु स्मृति छात्रबृत्ति प्रदान गरिएको थियो । संस्थामा उत्कृष्ट बित्तिय कारोबार गर्ने उत्कृष्ट बचतकर्ता तथा ऋणीहरुलाई बिभिन्न बिधाहरुमा सम्मान गरिएको थियो । आ.व. २०८१।०८२ मा उत्कृष्ट कार्य संपादनको आधारमा कनिष्ठ कार्यालय सहायक राजेन्द श्रेष्ठलाई उत्कृष्ट कर्मचारी बिधाबाट सम्मानित गरिएको थियो । साधारण सभाको अवसरमा सि डब्लु सि पोलिक्लिनिकको प्राविधिक सहयोगमा उपस्थीत सदस्यहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको थियो । शिविरमा हाड, जोर्नी तथा नशा सम्बन्धि, फिजियोथेरापी सम्बन्धि बिशेषज्ञ डाक्टरको उपस्थीतिमा १ सय ९० जनाले जाँच गराई आवश्यक परामर्श तथा औषधि बितरण गरिएको थियो ।

नेपालपत्र संवाददाता