ललितपुर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड २०८२ जारी गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुले प्राधिकरणमा दर्ता हुनका लागि सो मापदण्ड सार्वजनिक गरेका हुन् ।
संस्थाहरु अनलाइनमार्फत दर्ता गर्ने प्रयोजनका लागिका लागि प्राधिकरणले एउटा अभिलेखीकरण सफ्टवेयर निर्माण गरिराखेको र सो तयार भएपछि सहकारी संस्थाहरुलाई जानकारी गराइने उनले जनाए । त्यसको तयारी करिब अन्तिम चरणमा पुगेको र असोज महिनाभित्र दर्ता प्रकृया थालनी हुने अध्यक्ष शर्माले जनाए । सफ्टवयेर लञ्च भएपछि प्राधिकरणले सूचना जारी गर्ने र सूचना जारी भएको ६० दिन भित्र बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी दर्ता हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
संस्थाहरुले अनलाईनबाटै दर्ता गर्न र ईजाजत पत्र पनि अनलाईनबाटै प्राप्त गर्न सकिने सिष्टम प्राधिकरणले विकास गरिरहेको उनले बताए । प्राधिकरणबाट इजाजत नलिएका सहकारीले बचत तथा ऋणको कारोबार गर्न नपाउने समेत उनले स्पष्ट पारे।
इजाजतपत्र पाउनका लागि दस्तुर समेत लाग्ने अध्यक्ष शर्माले जनाए । प्राधिकरण एक स्वायत्त रुपमा सञ्चालन हुने निकाय भएकोले श्रोतको आवश्यकता पर्ने उनको भनाई थियो । वासलातको आकार अनुसार न्यूनतम एक हजार देखि १५ हजारसम्म शुल्क तोकिएको छ ।
नेपालपत्र संवाददाता