आइतबार, आश्विन १८ गते २०८३

सदस्य संस्थाहरुको नियमित अनुगमन गरी संस्थागत सुदृढीकरण गर्न नेफ्स्कूनले ल्यायो स्क्यान कार्यक्रम


आश्विन १०, २०८२ शुक्रबार
सदस्य संस्थाहरुको नियमित अनुगमन गरी संस्थागत सुदृढीकरण गर्न नेफ्स्कूनले ल्यायो स्क्यान कार्यक्रम

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) ले स्क्यान कार्यक्रममार्फत् सदस्य संस्थाहरुको अनुगमन गर्ने भएको छ । नेफ्स्कूनले ३८ औं स्थापना दिवसको अवसर पारेर उक्त कार्यक्रम सार्वजनिक गरेको थियो ।

संघमा आवद्ध बचत तथा ऋण सहकारी संस्थाहरुको नियमित अनुगमन गरी संस्थागत सुदृढीकरण र संरक्षण गर्न स्क्याम कार्यक्रम सञ्चालनमा ल्याइएको हो । संघले हिजो पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी संघले स्क्याम कार्यक्रम मार्फत् पहिलो चरणमा ७ सय संस्थाहरुको नियमित अनुगमन गर्ने जानकारी दिएको छ । संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संघमा आवद्ध संस्थाहरुको नियमित रुपमा  निरिक्षण तथा अनुगमन स्क्यान कार्यक्रम  सुरु गरिएको बताए । बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको केन्द्रीय संघ नेफ्स्कून भएको र सात सय संस्था पहिलो चरणमा स्क्यानमा आवद्ध गर्न योग्य रहेको उनको भनाई छ ।

स्क्यानमार्फत् संस्थाहरुको वास्तविक अवस्था थाह गर्ने र सुधारको लागि संघले फिडव्याक दिइ सदस्यहरुको बचतको सुरक्षाको लागि यसले सघाउने उनले जानकारी दिए । एम आई एस प्रणाली मार्फत् सदस्य सुपरिवेक्षण एकाईबाट निरन्तर सुपरिवेक्षण तथा तोकिए बमोजिमको स्थलगत अनुगमनका लागि प्रत्येक सदस्य संस्थाको वासलातको आकारमा संस्थाहरुको नियमन तथा अनुगमन अगाडि बढाइएको उनको भनाई छ । पहिलो चरणमा संस्थाहरु स्क्यान कार्यक्रममा आवद्ध हुन सम्झौता गर्नुपर्ने र त्यसपछि संस्थाहरुको वित्तीय अवस्थाको आधारमा संस्थाहरुको वर्गिकरण गरीअनुगमनको काम अगाडि बढाइने अध्यक्ष ढकालले बताए । संस्थाहरु स्क्यानमा आवद्ध भएपछि साप्ताहिक वा मासिक रुपमा रिपोट बुझाउनुपर्ने र त्यसकै आधारमा संस्थाहरुलाई सुधार गर्दै लैजाने उनले प्रष्ट पारे । प्राधिकरणमा अभिलेखिकरण हुनु भन्दा पहिला  सबै संस्थाहरु हरेक पक्षमा योग्य हुनुपर्छ भन्ने मान्यताले यो कार्यक्रम ल्याइएको उनले जनाए ।

संस्थाहरुको सुधारको लागि स्क्यान कार्यक्रम ल्याइएको र यो शुल्क उठाउनको लागि मात्र ल्याइएको हो की भनेर नबुझ्न उनको आग्रह छ । स्क्यानमा आवद्ध नभएका संस्थाहरुबाट बचत नलिने र ऋण लगानी समेत नगर्ने उनले सुनाए । सहकारी संस्थाहरुको समस्यालाई क्रमश सुधार गर्दै शुन्यमा लैजानु नै यो कार्यक्रमको उदेश्य रहेको उनले प्रष्ट पारे । सदस्य संस्थाहरुको नियमन गर्न संघले स्थलगत तथा गैर स्थलगत सुुपरिवेक्षणको कार्य अगाडि बढाइएको उनको भनाई छ । संघले संस्थाहरुले ऋण लिँदा दिइएको  धितो लिलाम गरी  ल्याइसकेको र ढिलो चाँडो विक्री हुने हुँदा समस्या क्रमश सुधार हुदै जाने अध्यक्ष ढकालले बताए ।  धितोलाई विक्री गरी नगदमा परिवर्तन गर्नु अहिलेको मुख्य चुनौती रहेको उनले सुनाए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले संघमा आवद्ध संस्थाहरुको वास्तविक अवस्था स्क्यान गरेर हेर्न यो कार्यक्रम लागु गरिएको जानकारी दिए । उनले नेफ्स्कून केन्द्रीय संघ भएकाले आवद्ध सदस्य संस्थाको वारेमा पनि जानकारी राख्दै ती संस्थाहरुलाई दिगो बनाएर लैजाने जिम्मेवारी रहेको सुनाए । संघमा आवद्ध सबै संस्था क्रमशः स्क्यान कार्यक्रममा आवद्ध हुनपर्ने  भन्दै सिईओ सापकोटाले नेफ्स्कूनको सदस्य रहने संस्था नियमित सुपरिवेक्षणमा रहनुपर्ने जनाए । संघमा आवद्ध सबै संस्थामा पुग्ने गरी नेफ्स्कूनले कार्यक्रम तय गरेको र त्यसका लागि ६८ जना कर्मचारी व्यवस्थापन गरी फिल्डमा खटाइएको उनले बताए । एक्सेस, प्रोवशन र कब्र्स कार्यक्रममा आवद्ध भएका सबै सहकारी संस्था पनि स्क्यानमा आवद्ध हुनुपर्ने  र सहकारी विभागबाट यो कार्यक्रमको स्वीकृत लिइएको उनले जानकारी दिए । सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चतता गर्न यो कार्यक्रम प्रभावकारी हुने समेत उनको भनाई छ ।

संघले सञ्चालनमा रहेका सबै संस्थाहरुको स्क्यानमार्फत् अनुगमन गर्ने उनले जानकारी दिए । मुलुकभर १० हजारको हारहारीमा  बचत ऋण सहकारी संस्था रहेकोमा ४ संस्था नेफ्स्कूनमा आवद्ध रहेका छन् । नेफ्स्कूनको हालसम्म शेयरपुँजी १ अर्ब ४६ करोड,बचत १८ अर्ब ९९ करोड,ऋण लगानी ७ अर्ब,गैर बैकिङ्ग सम्पत्ति २ अर्ब ३० करोड, जगेडा तथा अन्य कोष ७० करोड ८० लाख, भाखा नाघेको ऋण १ अर्ब ७ करोड र ऋण जोखिममा व्यवस्थापनमा १ अर्ब ८ करोड रहेको छ । नेफ्स्कूनले अव वहस पैरवी, अन्तर लगानी,सदस्य अनुगमन, साझा प्रविधि र असल अभ्यास आन्तरिकीकरणको क्षेत्रमा मात्र काम गर्ने सिईओ सापकोटाको भनाई छ । बचत तथा ऋण सहकारीमा ५९ लाख सदस्य आवद्ध रहेको र ती संस्थामार्फत् ६ खर्ब ९० अर्ब पुँजी परिचालन भएको नेप्स्कूनको तथ्याङ्क छ ।