शुक्रबार, कार्तिक ७ गते २०८३

मस्काेमा लेखकहरूकाे सम्मेलनद्वारा शान्तिका लागि अपील, नेपालकाे जेनजी विद्राेह बारे चासाे


आश्विन ९, २०८२ बिहीबार
मस्काेमा लेखकहरूकाे सम्मेलनद्वारा शान्तिका लागि अपील, नेपालकाे जेनजी विद्राेह बारे चासाे

 

मस्को, रूस ।  विश्व लेखक सङ्घको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। रूसकाे राजधानी मस्कोमा रहेकाे भव्य वर्ल्ड ट्रेड सेन्टरमा सेप्टेम्बर २० देखि २२ सम्म ‘वर्ल्ड पिपल्स असेम्बली’ को साझा ब्यानरमुनि सभा सम्पन्न भएकाे हाे । यो विश्व सम्मेलनमा ६२ विभिन्न देशका कवि तथा लेखकहरूको सहभागिता रहेको थियो।

सन् १९५८ को तास्कन्त अफ्रोएसियन सम्मेलनमा नवोदित मुलुकमा शान्ति र  यसका निम्ति साहित्यको अनुवादका विषयमा चर्चा भएको थियो । महाकवि देवकोटाले भाग लिएको त्यस सम्मेलनमा एशिया र अफ्रिकाका प्रतिनिधिहरूको सहभागिता थियो। त्यसले तास्कन्त घोषणापत्र पास गरेको थियो।

यस पटकको महासम्मेलनमा पनि कविहरूले शान्तिका लागि आवाज उठाए। "हामी मान्छे एउटै धर्तीका" भन्ने नारा बोकेको यो सम्मेलनमा नेपालबाट बहुभाषिक कवि सन्तोष कुमार पोखरेलले प्रतिनिधित्व गरेका थिए। विभिन्न सात गोलमेचमा शान्तिका लागि कविताको अनुवाद कला विषयमा कवि पोखरेलले विशद व्याख्या गर्नुभएको थियो। वहाले तयार गरेको कार्यपत्र अधिवेशनले आफ्नो वेबसाइटमा राख्नेछ। नेपालको साहित्यिक इतिहासमा लेखक अधिवेशनले  महत्वपूर्ण स्थान लिने आशा गरिएकाे छ।

नेपालमा भएको ‘जेनेरेशन जी’ को अभूतपूर्व आन्दोलन र युवाहरूको शहादतको समाचार सम्मेलन अवधिभर सबैको चासो र नेपालको चिन्ताको बिषय रहेकाे थियाे । 
सन्तोष कुमार पोखरेल लाई लेखक अधिवेशनले कविता साहित्य अनुवादको समितिमा राखेको छ। 

कार्यक्रमको अन्त्यमा पत्रकार सम्मेलन भएको थियो र त्यहा कवि पोखरेलले रुसी भाषामा यसो भने - "हामी प्रायः लडाईंको मूल कारण राजनीति वा शक्तिमा खोज्छौं। तर हामीले सनातन ज्ञानलाई सुन्ने हो भने, बुझ्न सक्छौं कि युद्धको सबैभन्दा विषालु बीउ मानवको मनमा नै हुन्छ: हाम्रा असुरक्षाका भाव र हीनताबोधको घाउ, अनि वियोगको भ्रम यी तीन कुरा नै युद्धका प्रमुख कारण हुन् ।"

"यस्तो संसारमा, हामीलाई हाम्रो कर्तव्यको सम्झना कसले दिलाउँछ?" "कविहरूले।"  तिनका शव्दले मान्छेका मन छुनु पर्छ, कवि याचना गर्दैनन्; उनीहरूले सत्य प्रकट गर्छन्। उनीहरूले तर्क होइन, अपितु दृष्टिकोण प्रस्तुत गर्छन्। उनीहरूले समाजलाई दया, करुणा र मर्यादाको पाठ सिकाइरहनु पर्छ। 

कवि पोखरेललाई साे अधिवेशनमा प्रथम श्रेणीको डिप्लोमाले सम्मानित गरिएको थियो।