मानिसको वाणी कतिवटा रसको सार रहेछ त ! बोलीको ठेगान नभएका मानिसले पनि यसबारे विचार गर्न जरुरी छ । छान्दोग्य उपनिषदले हामीलाई मानव ध्वनीको महत्व बताउँछ । उराँठलाग्दो कुरा मानेर विचलित नहुनुहोस् है ! अलिकति बुझिराख्नु पर्ने उपयोगी कुरा छ ।
छान्दोग्य उपनिषद्लाई सामवेद संहिता पनि भन्न सकिन्छ । यो उपनिषद् ब्रम्हाले प्रजापतिलाई उनले मनुलाई मनुले आफ्ना छोराहरूलाई ज्ञानको रुपमा हस्तान्तरण गरेका हुन् भनिन्छ ।
शब्दकोशले उपनिषद्को अर्थ, ‘हिमवत्खण्डदेखि हिन्द महासागरभित्रको भू सेरोफेरोका इश्वरवादी निवासीहरूको गूढ आध्यात्मिक र दार्शनिक विचार भरिएको तथा आत्मा र परमात्माको निरुपण गर्ने, वेदका शाखाहरूमध्ये ब्राम्हणवंशको पछिल्लो भाग’ भनी बताउँछ ।
यो दश उपनिषदमध्ये नवौँ, समवेदीय छान्दोग्य ब्राह्मणको औपनिषदिक भाग हो, जो सबैभन्दा सानो आकारको वेदको सबैभन्दा ठूलो आकारको उपनिषद मानिन्छ ।
सामवेद, यस भूक्षेत्रको प्राचीनतम ग्रंथ ४ वेदमध्येको एक हो, जो गीत–संगीत प्रधान छ । प्राचीन आर्यहरूले साम–गानकै आधारमा संगीतको सा, रे, ग, म, प, ध, नि, को आविष्कार र वैज्ञानिक विकास गरे । भूपाली, यमन, वसन्त, बागेश्री, मुल्तानी, बसन्त बहार, हिंडोल, काफी जस्ता प्रमुख रागहरू विकसित भए । ध्वनी संगीतमात्र होइन, अनेकौँ वाद्ययन्त्रको पनि छान्दोग्य उपनिषदको चेतनाले आविष्कार गरायो, जसमा सितार, सरोद, तानपुरा, वीणा, ईसराज, सुरबहार, बाँसुरी, सारङ्गी, सहनाई, मादल, तबला, ढोलक, मृदङ्गम्, सन्तूर, गोत्वादम्, हार्मोनियम, कंजीर, भ्वाईलिन जस्ता वाद्ययन्त्र वर्तमान दक्षिण एशियामै आविस्कार भएर पछिमात्र युरोप–अमेरिका पुगेका हुन् ।
आकारमा सबभन्दा सानो सामवेदका १८७५ मन्त्रहरूमध्ये ६९ मन्त्र (फर्मूला) लाई छोडेर सबै (१५०४ मन्त्र) ऋगवेदका मन्त्र छन् ।
१७ मन्त्र अथर्ववेद र यजुर्वेदबाट लिईएको पाइन्छ । तर पनि सामवेदको महत्व र प्रतिष्ठा सर्वाधिक मानिन्छ । जसको एउटा कारण गीतामा कृष्णले ‘वेदानां सामवेदोऽस्मि’ (वेदमा सामवेद मै हुँ) भनेकोले पनि होला । सामवेद सानो भए पनि प्रकारान्तरले यो सबै वेदहरूको साररुप भन्न पनि सकिन्छ । र सबै वेदबाट छानिएका अंश यसमा समाविष्ट गरिएको छ । यही सामवेदको दार्शनिक ब्याख्या छान्दोग्य उपनिषदले दिन्छ । उपरोक्त उपनिषद वाणीको पूर्णरुप यस्तो छ–
एषां भूतानां पृथ्वी रसः, पृथिव्या आपो रसोऽपामोषधयो रसः, औषधीनां पुरुषो रसः, पुरुषस्य वाग्रसो वाच ऋग्रस ऋचः सामरसः साम्न उद्-गीथो रसः ॥ स एष: रसानां रसतमः परमः परार्ध्योऽष्टमो यदुद्-गीथः॥ समग्र पञ्चभूतको साररस पृथ्वी, पृथ्वीको सार पानी, पानीको सार अन्नादि वनस्पति र औषधि, यिनको सार पुरुष, पुरुषको सार उसैको वाणी.....हो । वाणीको सार ऋग् अर्थात ईश्वरको स्तुति वा उपासना हो, ऋग्को सार साम, सामको सार ॐकार गान हो, जो परब्रह्म नारायणको परमपवित्र नाम हो । यसरी यो आठौं सार ॐकार नै सबै सारको पनि सार हो, यो ईश्वरको परमप्रिय नाम हो । यो परमसार, परमानन्द र परमधाम हो भन्ने सम्झिनु पर्छ ।
चन्द्रमणि गाैतम