माँ बगलामुखी सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको सभापतित्वमा ज्यापु समाज यल, ललितपुरकी कार्यवाहक अध्यक्ष सबिना महर्जन प्रमुख अतिथि र मिस नेवा ११४५ प्रलिशा शाक्य विशेष आतिथ्यता रहेको थियो ।
त्यस अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै माँ बगलामुखी सहकारीले समाज प्रति उत्तरदायि भएर समाज लक्षित विभिन्न कार्यक्रमहरु संचालन गरेको कार्यले आफु निकै नै प्रभावित रहेको प्रमुख अतिथि महर्जनले बताइन् । साथै सहकारीले अझ बढी प्रभावकारी रुपमा अघि बढोस र संस्थाको प्रगतिको कामना सहित शुभकामना व्यक्त गरिन् । बाग्मती प्रस्कुनका सञ्चालक सदस्य तथा कुम्भेश्वर महिला साकोसकी अध्यक्ष शान्त लक्ष्मी खड्गीले हालको चुनौतीपूर्ण परिस्थितिमा समेत सहकारीको वित्तीय कारोबार वृद्धि भएकोमा खुशी व्यक्त गरिन् । उनले सहकारीमा आवद्ध सदस्यहरूले यस संस्थामा कारोबार गर्न पाउँदा गर्व महसुस गर्ने वातावरण बनेको बताउँदै सहकारीको थप प्रगतिको शुभकामना दिइन् ।

यसै अवसरमा मिस नेवा ११४५ प्रलिशा शाक्यलाई संस्थाको सद्भावना दूत नियुक्त गरिएको थियो। नियुक्तिपछि शाक्यले आफ्नो मन्तव्यमा सक्षम, पारदर्शी र सदस्यमैत्री सहकारी संस्थाको सद्भावना दूत बन्न पाउँदा निकै गौरव लागेको बताइन् । उनले आफ्नो तर्फबाट संस्थाको प्रगतिमा योगदान दिने प्रतिबद्धता व्यक्त गरिन् । सो साधारण सभामा संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले संस्थाले यस विषम परिस्थितिमा पनि करिब ४ करोड २५ लाख रुपैयाँ भन्दा बढि बचत संकलन गर्न सफल भएको तथा सदस्यहरुले संस्थाप्रति देखाएको विश्वासकै कारण सहकारी निरन्तर प्रगतिको बाटोमा अघि बढेको बताए ।

साथै सहकारी प्रधिकरणले निर्देशन जारी गरेको अवस्थामा सम्पूर्ण सदस्यहरुले नियमको पालना गरि नियमित बचत गर्ने कार्यलाई अगाडि बढाउन उनले आव्ह्वान गरे । माँ बगलामुखी सहकारी सधैं सहकारीको मूल्य, मान्यता र सिद्धान्त रहेर मात्र कार्य गर्ने उनले बताए । उक्त संस्थाको गतिविधिबारे प्रकाश पार्दै उनले ‘सदस्यहरुको आर्थिक उन्नति गर्ने अभिप्रायले स्थापना भएको यो संस्थामा कुल शेयर ३ करोड ९७ लाख जगेडा तथा अन्य कोष ३ करोड ७७ लाख ३९ हजार सहित कुल सम्पत्ति ४२ करोड २१ लाख ६५ हजार पुगेको बताए ।
माँ बगलमुखी सहकारीको साधारण सभाकै अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । जसमा २० जना सदस्यहरुले रक्चदान गरेका थिए । उक्त कार्यक्रममा व्यवस्थापन फाईट फर लाईफ नेपालबाट गरिएको थियो ।

साधारण सभा कै अवसरमा त्यस संस्थाका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबार गरेको महिला समुह र संस्थाकी सह लेखा सहायक स्वस्तिका महर्जनलाई उत्कृष्ट कर्मचारी सम्मान गरिएको थियो । साधारण सभामा संस्थाका सदस्यहरुका छोराछोरीमध्ये २०८१ सालको एसईई मा उत्कृष्ट जीपीएसाथ उत्तीर्ण भएका पुरस्कार सहित सम्मान गरिएको थियो भने सदस्य मध्ये स्नातकोत्तर गरेका धनश्याम न्यौपाने र सविन तण्डुकारलाई पनि विशेष सम्मान गरिएको थियो ।
नेपालपत्र संवाददाता