तिलोत्तमा- १५, कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको २० औं साधारण सभा सम्पन्न भएको छ । संस्थाले सदस्यहरुको सहजताको लागि सेवा केन्द्र स्तरिय साधारण सभा गरेको हो । संस्थाको १० वटा सेवा केन्द्र र सबै सेवा केन्द्रमा एकै पटक साधारण सभा सम्पन्न गरेको जनाएको छ ।
एकै दिन १० वटै फरक फरक सहकारी जस्तै गरि उही नीति, प्रक्रिया, व्यवस्थापनमा एकरुपताको साथ उल्लासपूर्ण सदस्य सहभागिताका साथ सम्पन्न भएको संस्थाका अध्यक्ष गिरीप्रसाद पुनले बताए । ३१ जनाले सय सय रुपैयाँ उठाएर बाग्लुङ सामुदायिक संस्थाबाट शुरु भई २०६२ पौष १ गते जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको रुपमा दर्ता भएको थियो । हालसम्म जनउत्थान साकोस, पहुँच महिला साकोस, गौमुखि साकोस, बुद्ध बहुउद्देश्यीय सहकारी, पटाकसार साकोस, सुदृढ साकोस र सगोल महिला साकोस एकीकरण भएको छ ।
२० वर्षको यात्रामा जनउत्थानमा ३९ हजार २ सय ३७ सदस्यहरुबाट करिब ४ अर्ब ४४ करोड पुँजी संकलन गर्न सफल भएको अध्यक्ष पुनले सचामा जानकारी दिए । साधारण सभाले पारित गरेको १० प्रतिशत शेयर लाभांश र १ करोड ५९ लाख रुपैयाँ संरक्षित पुँजीकोष नियमानुसार ऋण तथा बचतको कारोबारको आधारमा सबै सदस्यको खाता जम्मा समेत भैसकेको संस्थाका व्यवस्थापक रणबहादुर थापाले बताए । हर्जाना तिरेका ऋणी सदस्यहरुलाई कारोबारको आधारमा पाउने संरक्षित पुँजी फिर्ता कोषको रकम प्राप्त नगरेको उनको भनाई छ । सदस्यहरुले संरक्षित पुँजीकोष बचत तथा ऋण कारोबारको आधारमा अधिकतम् ३० हजारसम्म पाएको उनले बताए ।

नेपालपत्र संवाददाता