श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक तिमल्सिना सर्वोत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०८२ बाट सम्मानित भएका छन् । जिल्ला सहकारी संघ काभ्रेको ४४ औं साधारण सभा तथा ५८ औ स्थापना दिवसको अवसरमा सिईओ तिमल्सिना जिल्लाभरकै कर्मचारी मध्ये सर्वोत्कृष्ट सहकारी सर्कचारी पुरस्कारबाट सम्मानित भएका हुन् ।
संघले सिईओ तिमल्सिनालाई दश हजार नगद सहित दोसल्ला र सम्मान पत्र प्रदान गरेको थियो । २०६१ सालमा श्री नवदुर्गा साकोसको कर्मचारीको रुपमा सहकारी क्षेत्रमा प्रवेश गरेका उनले यस क्षेत्र दुई दशक भन्दा लामो विताई सकेका छन् । व्यवस्थापनमा स्नाकोत्तर र कानुनमा स्नातकसम्मको अध्ययन गरेको तिमल्सिना बैंक तथा वित्तीय संस्थाको पहुँचबाट टाढा रहेका विपन्न र न्युन आय भएका वर्गको सहकारी मार्फत् आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सक्ने बताउँछन् ।
सहकारी मार्फत् सदस्य र मुलुकको आर्थिक रुपान्तरण सम्भव भएको भन्दै उनले यो सम्मानले यहि क्षेत्रमा लागि रहन थप हौसला र उर्जा मिलेको बताए । सम्मानको लागि जिल्ला संघ काभ्रेप्रति आभार व्यक्त गर्दै सहकारी मार्फत् सदस्य र समाजको रुपान्तरणमा लागि रहने प्रतिवद्धता उनको छ । उनले नेतृत्व गरेको श्री नवदुर्गा साकोसमा १० हजार माथि सदस्य छन् भने भदौ मसान्तसम्म १ अर्ब १६ करोड कुल सम्पत्ति पुगेको छ । संघका अध्यक्ष अमन श्रेष्ठ पोटेको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो । सभामा विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
नेपालपत्र संवाददाता