आइतबार, कार्तिक ९ गते २०८३

सुयोग्य सहकारीको १८ औं साधारण सभा, नयाँ सञ्चालक समिति चयन


आश्विन ३, २०८२ शुक्रबार
सुयोग्य सहकारीको १८ औं साधारण सभा, नयाँ सञ्चालक समिति चयन


सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आगामी चार बर्षे कार्यकालको लागि सात जना सञ्चालक समिति र ३ जना लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । संस्थाको अध्यक्षमा  टेक बहादुर लिम्बु, उपाध्यक्षमा पम्फा न्यौपाने र सदस्यहरुमा तामलाल भुसाल,श्रीचन्द्र तण्डुकार,खुशमाया श्रेष्ठ, भगीमाया थाम्सुहाङ र देउ प्रसाद लिम्बु चयन भएका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा ओमकृष्ण श्रेष्ठ र सदस्यहरुमा रोशन खड्का र सोनी अधिकारी चयन भएका छन् ।

सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पम्फा न्यौपानेले केही सहकारी संस्था सहकारीको मर्म विपरित सञ्चालन भएका कारण यो क्षेत्रले निकै चुनौतीपूर्ण र तरलता अभावको सामना गर्नुपरेको बताइन् । उनले सुयोग्यले भने सहकारी मुल्य,मान्यता र सिद्धान्तका साथै वित्तीय अनुशासन पालना गरी अगाडि बढेकाले कुनै समस्या नआएको बताइन् । सहकारी क्षेत्रमा आएको विषम परिस्थितिमा पनि संस्थाप्रति सदस्यहरुको दरिलो साथ र व्यवस्थापन  समुहको अथक मेहनतले वित्तीय रुपमा संस्था बलियो भएर गएको जानकारी दिइन् । संस्थाले सदस्य सेवालाई पहिलो  प्राथमिकता राखेर अगाडि बढेको समेत सभा उनले उल्लेख गरिन् ।

संस्थाले ऋण लगानी र असुलीलाई विशेष सावधानीका साथ अगाडि बढाएको भन्दै आर्थिक मन्दीका कारण अपेक्षाकृत रुपमा ऋण लगानी गर्न नसकेको समेत उनल जानकारी दिइन् । संस्थाले सदस्यहरुलाई लक्षित गरी वित्तीय साक्षरता,लिडरशीप बुथ क्याम्प र बार्षिक योजना तथा बजेट निमार्ण तालिम आयोजना गरिएको अध्यक्ष न्यौपानेले सभामा उल्लेख गरिन् । संस्थाले सदस्य हित कार्यक्रम मार्फत् घातक रोग लागेमा उपचार खर्च, महिला सदस्य सुत्केरी हुँदा पौष्टिक आहार र सदस्यको मृत्यु भएमा श्रद्धाञ्जली व्यक्त गर्दै काजकिरिया खर्च उपलब्ध गराउँदै आएको छ । यस आर्थिक बर्षमा संस्थाले डिजिटल सेवा प्रयोग गने सदस्यहरुको सख्या बढाउन कक्षा सञ्चालन गर्ने,सदस्य शिक्षा, वित्तीय साक्षरतालाई निरन्तरता दिने,स्थानीय संघ संस्थाको सहकार्यमा सामुदायिक कार्य गर्ने र शेयर पुँजी वृद्धि गर्न सदस्यहरुलाई न्युनतम ५ हजारको शेयर खरिद गर्न प्रोत्साहन गर्ने नीति लिएको छ ।

लेखा सुपरीवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै समितिका संयोजक प्रकाश रेग्मीले समितिले दिएको सुझावहरु सञ्चालक समितिले क्रमश पालना गर्दै लगेको बताए । आर्थिक बर्ष २०८१÷८२ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी २ करोड ८७ लाख,६० हजार, बचत संकलन ३४ करोड ३ लाख ३३ हजार, ऋण लगानी २५ करोड ४ लाख ४९ हजार गरी ५३ लाख ८७ हजार मुनाफा आर्जन गरेको छ । गत बर्षको मुनाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव सभाले पारित गरेको छ । संस्थामा १ हजार ५७० सदस्य आवद्ध रहेका छन् भने कुल सम्पत्ति ४१ करोड ९२ लाख ४८ हजार पुगेको छ । संस्था जगेडा कोषमा २ करोड ४० लाख रकम रहेको छ । संस्थाले संरक्षित पुँजी फिर्ता कोषबाट समेत सदस्यहरुलाई बचत र ऋणको कारोबारको आधारमा फिर्ता दिने भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस आबमा कुल  सम्पत्तिमा २६ प्रतिशतले,बचत र ऋणमा २२ प्रतिशतले,जगेडा कोषमा १२ प्रतिशत र शेयरमा १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको बताए । आर्थिक मन्दीका कारण ऋणको मागमा आएको कमी र ऋण असुलीमा समस्या भएको कारण गत बर्षको तुलनामा संस्थाको नाफमा केही कमी आएको भए पनि यस आबमा ४९ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको उनले सभामा जानकारी दिए । संस्थाले नियमित बचत गर्ने सदस्यलाई कार्ड वितरण गर्ने र त्यसैको आधारमा सेवा सुविधा दिने भन्दै सबै सदस्यलाई नियमित बचत गर्न सिईओ कार्कीले आग्रह गरे । सभामा उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो भने सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।