राष्ट्रिय सहकारी महासंघकी पूर्व महाप्रबन्धक चित्रा कुमारी सुब्बा थाम्सुहाङले भत्ता बुझ्नको लागि मात्र नभई संस्थाको नीति, कार्यक्रम तथा बजेट माथि छलफल गरी पारित गर्न साधारण सभामा जानुपर्ने बताएकी छिन् । सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको प्रमुख सल्लाहकार समेत रहेकी थाम्सुहाङले १८औं साधारण सभामा बोल्दै साधारण सभा सदस्यहरुको सभा भएकाले त्यस अवधिभर सक्रिय सहभागिता जनाएर आफ्ना राय सुझाव प्रदान गर्न आग्रह गरिन् ।
उनले संविधानले नै अर्थतन्त्रको तीन मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको भन्दै मुलुकको दुरदराजमा समेत सहकारी विस्तार भई आर्थिक सामाजिक रुपान्तरणको काम हुँदै आएको बताइन् । सुयोग्यमा किन आवद्ध भएको र संस्थामा आवद्ध भएपछि आफ्नो आर्थिक तथा सामाजिक रुपान्तरण भयो कि भएन भन्ने मुल्याङकन आफै गर्न समेत सदस्यहरुलाई उनले आग्रह गरिन । सहकारीमा स सानो रकम बचतको रुपमा जम्मा गरी आवश्यकता पर्दा संस्थाबाट ऋण लिई उद्यम व्यवसाय मार्फत् जीवनस्तर बदल्न सकिने उनले बताइन् । संस्थाबाट सदस्यले सहज रुपमा चाहे अनुसारको सेवा पाएको छ कि छैन भन्ने कुराको मनन गर्न र आवश्यक सुझाव दिन उनले आग्रह गरिन् । संस्थााले नीति तथा कार्यविधि बनाएर सेवा प्रवाह गदै आएको जानकारी दिँँदै उनले सदस्यको विश्वासले संस्थाको वित्तीय कारोबार बढेर गएको बताइन् । उनले सदस्यहरुले संस्थाबाट पाएको सेवा कस्तो छ भनेर बुझनको लागि सामाजिक लेखापरीक्षण समेत गरेको बताइन् ।
सदस्यहरुले गरेको कारोबारका आधारमा संस्थाले बचत ऋणको साथै विभिन्न सुविधाहरु दिँदै आएको जानकारी दिँदै आगामी दिनमा अझ सक्रिय भएर कारोबार गर्न आग्रह गरिन् । आवश्यक पर्दा संस्थाबाट ऋण लिन र ऋण लिनको लागि अन्य वित्तीय संस्थामा नजान समेत सदस्यहरुलाई उनले सुझाइन् । केहि सदस्यहरुमा संस्थाको ऋण नतिरे पनि हुने भने मनोभाव रहेको भन्दै उनले समस्या भए संस्थामा आएर जानकारी गराउन समेत आग्रह गरिन् । सहकारीमा सञ्चालकहरु जवाफदेही बन्नुपर्ने भन्दै थाम्सुहाङले स्वच्छ छवि र इमानदार व्यक्ति मात्र सहकारीको सञ्चालक बन्न सक्ने उल्लेख गरिन् ।
पछिल्लो समय केहि सहकारी संस्थामा आएको वित्तीय संकटका कारण सरकारले नियामकिय प्रबन्धमा कडाई गर्दै लगेको उनले बताइन् । अर्थतन्त्र सुस्त भएको समयमा पनि संस्थाले प्रगति गर्न सक्नुमा सदस्यको योगदान मुख्य रहेको उनको भनाई छ । संस्थाले प्रविधि प्रयोगलाई समेत अगाडि ल्याएको भन्दै उनले सदस्यहरुलाई त्यसको अधिकतम प्रयोग गर्न आग्रह गरिन् । संस्थाले बित्तीय साक्षरताका साथै प्रविधि प्रयोग सम्बन्धी तालिम समेत सञ्चालन गर्ने भएकाले सदस्यहरुलाई सहभागी हुन उनले भनिन् ।
नेपालपत्र संवाददाता