पनौती, श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको आफ्नो २२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष इन्द्र प्रसाद हुमागाईको सभापतित्वमा सम्पन्न उक्त सभामा बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण शर्माको प्रमुख आथित्यता रहेको थियो । संस्थाका सचिव अकुर प्रसाद सापकोटाले कार्यक्रम संचालन गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिनाले संस्थाको वर्तमान अवस्था र प्रगति विवरण प्रस्तुत गरेका थिए ।
२४ वर्षअघि २५ जना युवाहरूको सामूहिक प्रयासबाट सुरु भएको यो सहकारी, २०५९ साल पौष २६ गते विधिवतरूपमा दर्ता भई आजसम्म आइपुग्दा एक सफल र अग्रणी संस्थाको रूपमा स्थापित भएको छ । संस्थाले अन्य १० वटा सहकारी संस्थाहरूलाई एकीकरण गरी काभ्रेपलाञ्चोक जिल्लाका ६ नगरपालिका र २ गाउँपालिकामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । गत असार मसान्तसम्म संस्थाको १ अर्ब १४ करोड ७३ लाख २१ हजार कुल पुँजी पुगेको छ भने १० करोड ७१ लाख २९ हजार शेयर पुँजी रहेको छ । त्यसैगरी बचत संकलन ९० करोड ९९ लाख २४ हजार र ऋण लगानी ९० करोड ९८ लाख ८५ हजार रहेको छ । संस्थामा १० हजार १६८ सदस्य आवद्ध रहेका छन् । संस्थाले ७७ लाख ९१ हजार राजश्वमा योगदान गरेको छ ।

आफ्नै भवनबाट प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको संस्थाले सदस्यहरूलाई निःशुल्क एस.एम.एस. र मोबाइल बैंकिङ सुविधा उपलब्ध गराएको छ । संस्थाले आर्थिक कारोबारका अतिरिक्त जन्मदेखि मृत्यु पर्यन्तु विभिन्न सामाजिक कार्यक्रमहरू जस्तैः सदस्य शिक्षा, सुत्केरी एम्बुलेन्स खर्च, स्वास्थ्य उपचार सहयोग, ज्येष्ठ सदस्य पोषण खर्च, रक्तदान, वृक्षारोपण तथा स्थानीय विकास निर्माणमा समेत सक्रिय सहभागिता जनाउँदै आएको छ ।संस्थाले आफ्ना सदस्यहरूको विश्वासका कारण सफलता प्राप्त गरेको र आगामी दिनमा अझै जिम्मेवार भई सदस्य हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
संस्थाका सल्लाहकार उपेन्द्र प्रसाद हुमागाईद्वारा संचालित बन्दसत्रले आ.व. २०८१/८२ का लागि सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ । साथै, आ.व. २०८२/८३ को वार्षिक कार्ययोजना तथा बजेट पारित, बाह्य लेखा परीक्षक नियुक्ति, विनियम संशोधन, संस्था एकीकरणलाई निरन्तरता दिने, शेयर लाभांश वितरण गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू सर्वसम्मतिले पारित गरेको छ । सदस्यहरूको उत्साहजनक सहभागितामा दुई चरणमा आयोजित साधारण सभा विभिन्न सेवा केन्द्रहरूमा क्षेत्रगतरूपमा सभाको आयोजना गरी सम्पन्न गरिएको थिगयो ।
कार्यक्रममा नेपाल बार एसोसिएसन काभ्रे शाखाका पूर्व अध्यक्ष एवं कानुनी सल्लाहकार रमेश प्रसाद हुमागाई, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायत विभिन्न सहकारी संघसंस्थाका प्रतिनिधि र समाजसेवीको उपस्थिति रहेको थियो ।
सम्मान तथा पुरस्कार
साधारण सभाको अवसरमा संस्थामा विभिन्न क्षेत्रबाट योगदान पुर् याएका सदस्य तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो । दिर्घकालीन बचत कर्ता ३९ जना ,पूर्व संचालक प्रदिप भण्डारी संचालक समिति सदस्य, अनितामाया तामाङ संचालक समिति सदस्य ,जेष्ठ सम्मान चित्र कुमारी आचार्य ,सामुदायिक विद्यालय बाट उत्कृष्ट एसईई सम्मान आयुष राउत र असल ऋण कारोबारी दिल कुमारी हुमागाईलाई सम्मान गरिएको थियो ।
यस वर्षको अधिक शेयर खरिद कर्ता आर्यन महत, दैनिक बचत कर्ता राजेन्द्र कुमार श्रेष्ठ ,आवधिक(मुद्धती ) बचत रवि कुमार खत्री ,साधारण बचत मैया घिसिङ ,नवदुर्गा विशेष बचत पंकज हुमागाई ,नियमित बचत प्रतिक्षा काफ्ले, जीवन साहारा बचत कर्ता अनिष धिताल,बाल बचत कर्ता विधी खड्का र उत्कृष्ट २०८१/८२ बरिष्ठ सहायक सरस्वती होमागाईलाई सम्मान गरिएको थियो ।
नेपालपत्र संवाददाता