आइतबार, कार्तिक ९ गते २०८३

स्थानीय प्रशासनको समन्वयमा सेवा सुचारु गर्न सहकारीहरुलाई काभ्रे संघको अनुरोध


भाद्र २७, २०८२ शुक्रबार
स्थानीय प्रशासनको समन्वयमा सेवा सुचारु गर्न सहकारीहरुलाई काभ्रे संघको अनुरोध


जिल्ला सहकारी संघ काभ्रेले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखी सेवा प्रवाह गर्न सहकारी संघ संस्थालाई आग्रह गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै जेनजीले गरेको आन्दोलन पश्चात निषेध्याज्ञा र कर्फयु जारी भएकाले त्यसको प्रभाव सहकारी संघ संस्था र सदस्यहरुलाई परेको भन्दै विषम परिस्थितिमा सवाधानीपूर्वक सेवा प्रवाह गर्न आग्रह गरेको हो ।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठले जारी गरेको विज्ञप्तिमा सहकारी संघ संस्थाहरु समुदायको साझा हित,आर्थिक तथा सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण आधार भएकाले यसको नियमित सञ्चालनमा निरन्तरता दिनु सबैको जिम्मेवारी रहेको भएता पनि हालको असहज  परिस्थिति र सहकारी क्षेत्रमा पर्ने जोखिमपूर्ण वातावरणलाई दृष्टिगत गर्दै सेवा प्रवाह गर्न आग्रह गरेका छन् । संस्थामा आवद्ध कर्मचारी र सदस्यहरुको बचतको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी सम्भव भएसम्म प्रविधिको माध्यमबाट सेवा प्रवाह गर्न उनले विज्ञप्ति मार्फत् संस्थाहरुलाई आव्हान गरेका छन् । प्रविधिको उपलब्ध नभए सुरक्षा निकाय र स्थानीय प्रशासनको समन्वयमा मात्र सेवा सुचारु गर्न जिल्लामा सञ्चालित सहकारी संघ संस्थाहरुलाई अपिल गरिएको छ । यस कठिनाईका वावजुद पनि काभ्रे जिल्लामा सञ्चालित सहकारी संघ संस्थाहरुले सदस्यको विश्वास,एकता र सहयोगको बलमा आफ्नो दायित्व निर्वाह गर्न सक्षम हुनेछ भन्नेमा संघले पूर्ण विश्वास राखेको छ ।

जिल्ला भित्रका सहकारी संघ संस्थाहरुको सेवा सुचारुमा कुनै समस्या वा कठिनाई भएमा संघलाई जानकारी तथा समन्वय गर्न लागि समेत अनुरोध गरिएको छ । अहिलेको प्रदर्शनले देखाएको सामाजिक चेतना,युवा सहभागीता र परिवर्तनप्रतिको आकांक्षा सकरात्मकरुपमा लिएको र प्रदर्शनपछि जेनजीहरुले उठाएको मागलाई सम्बोधन गर्न समेत संघले अपिल गरेको छ । शान्तीपूर्ण वार्ता र संवाद मार्फत समाधान खोज्न समेत संघले सबैसँग अपिल गरेको छ । 

1757654159_7795.jpg