पाल्पाको रामपुरमा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले साना व्यवसायीहरुको लागि तीन दिने लघु व्यवसाय खेल तालिम आयोजना गरेको छ । सहकारीमा आवद्ध साना व्यवसायीहरुको लागि वित्तीय व्यवस्थापन, सीप तथा प्राविधिक सहयोग पुर्याउने उदेश्यले तालिमको आयोजना गरेको हो।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । तालिमको सुरु गर्दै नगर प्रमुख थापाले आर्थिक समृद्धिका लागि व्यवसाय महत्वपूर्ण रहेको बताए । कुनै पनि व्यवसाय सही व्यवस्थापन गर्न सके मात्र सफलता प्राप्त हुने बताउँदै उनले तालिम बाट प्राप्त सिपको सहि सदुपयोग गरी अघि बढ्न समेत आग्रह गरे ।
रामपुर नगरपालिकाले नगरबासीलाई व्यवसाय प्रति आकर्षित गर्न युवा स्वरोजगार कार्यक्रम मार्फत व्याज अनुदान प्रदान गर्दै आएको बताए । साना उद्यमीलाई लक्ष्यित गरी नगरपालिकाले दुई वर्षका लागि ३० लाख सम्म व्याज अनुदान वितरण गर्दै आएको जानकारी दिए । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले व्यवसाय सञ्चालन गर्दै आएका शेयर सदस्यहरुलाई आर्थिक रुपमा सक्षम र सफल बनाउनका लागि आवश्यक सिप प्रदान गर्न तालिम सञ्चालन गरिएको बताए ।
कार्यक्रममा नेफ्स्कुनका वरिष्ठ अधिकृत भरत न्यौपानेले तालिमको उद्देश्य र सञ्चालन प्रक्रियाको बारेमा जानकारी गराएका थिए । तालिमको सहजिकरण नेफ्स्कुनका वरिष्ठ अधिकृत न्यौपाने र प्रशिक्षण अधिकृत उमेश कोइरालाले गरेका थिए । तालिममा सहकारीमा आवद्ध ३० जना सदस्यहरुको सहभागीता रहेको व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।
संस्थाले प्रकाशित गरेको यस आर्थिक बर्षको साउन मसान्तसम्मको वित्तीय विवरण अनुसार शेयर पुँजी १५ करोड ८८ लाख,बचत संकलन १ अर्ब २५ करोड ५२ लाख, जगेडा कोष १४ करोड २६ लाख, अन्य कोष ४ करोड २० लाख ६१ हजार र कुल संस्थागत पुँजी १५ करोड ४४ लाख रहेको छ । ११ हजार ४ सय सदस्य आवद्ध रहेको संस्थामा ३ हजार १ सय माथि सदस्यहरुले १ अर्ब १३ करोड ३४ लाख ऋण लिएका छन् । संस्थाको कुल सम्पत्ति १ अर्ब ७३ करोड ६५ लाख पुगेको छ ।

नेपालपत्र संवाददाता