शनिबार, आश्विन १७ गते २०८३

सहारा नेपाल साकोसद्धारा कोरोना पिडित सदस्यलाई आर्थिक सहयोग

कार्तिक १७, २०७८ बुधबार
सहारा नेपाल साकोसद्धारा कोरोना पिडित सदस्यलाई आर्थिक सहयोग

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीबाट पिडित शेयर सदस्य तथा उनीहरुको परिवारलाई कोभिड उपचार सहयोग गरेको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कोभिड सहायता कार्यक्रममा वरिष्ठ चिकित्सक डा. शरद भट्टराई लगायतले उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।  संस्थाले सदस्यहरुलाई कोभिड सहायता कार्यक्रम अन्तर्गत परिवार राहत, कोभिड उपचार सहयोग तथा मेडिसिन सपोर्ट शीर्षकमा १ करोड ४७ लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले कठिन परिस्थितिमा पनि आफ्ना शेयर सदस्यहरु, कर्मचारी एवम् समुदायको हितका लागि मन फुकाएर सहयोग गर्नु संस्थाको दायित्व भएको बताए ।

संस्थाले कोभिड १९ संक्रमण भएर मृत्युवरण गरेका आफ्ना शेयर सदस्यको परिवारलाई सहाराको स्मरण भइरहोस् भन्ने उदेश्यले परिवार राहत प्रदान गरेको छ । कोभिडबाट दिवंगत भएका १४ जना सेयर सदस्यको परिवारलाई २७ लाख रुपैयाँ प्रदान गरेको छ । बिर्तामोडमा स्थानीय ५ वटा सेवा केन्द्रका ११ जनाको परिवारलाई २१ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

संस्थाले कोभिड संक्रमित भएर घरमै औषधी सेवन गरेर निको भएका सेयर सदस्यहरुलाई मेडिसिन सपोर्ट अन्तरगत प्रतिब्यक्ति ७ हजार रुपैयाँका दरले ९७८ जनालाई ६८ लाख ४६ हजार प्रदान गरिने जनाइएको छ । यसैगरी, कोभिड संक्रमण भई अस्पतालमा बसेर उपचार गराउने ३९ जना सेयर सदस्यहरुलाई कोभिड उपचार सहायता अन्तरगत ५२ लाख रुपैयाँ भुक्तानी गरिने जनाइएको छ ।

संस्थाका कार्यकारी प्रमुख गिरीले गतवर्ष सदस्यहरुले लिएको कर्जाको ब्याज छुटवापत ३ करोड ४५ लाख रुपैयाँ, कार्यक्षेत्र भित्रका ७० वटा पालिकालाई २५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म गरी ५६ लाख रुपैयाँ तथा कोरोना संक्रमित सदस्यको परिवारलाई पोषणभत्ता प्रदान गरिएको बताए ।