सोमबार, आश्विन २६ गते २०८३

प्रयास साकोसको १५औँ साधारणसभा सम्पन्न, उत्कृष्ट सेवाकेन्द्र र सदस्य सम्मानित


आश्विन २५, २०८३ आइतबार
प्रयास साकोसको १५औँ साधारणसभा सम्पन्न, उत्कृष्ट सेवाकेन्द्र र सदस्य सम्मानित

 

चितवन । प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष प्रशान्त गिरीको अध्यक्षता तथा भरतपुर महानगरपालिकाका नगरप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए।

सभामा संस्थाका सचिव सुरेशकुमार श्रेष्ठ र कोषाध्यक्ष कमल घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा सल्लाहकार समिति संयोजक प्रकाश रावल, भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतो, वडा नं. २५ का वडाध्यक्ष छविलाल सापकोटा, संस्थापक अध्यक्ष देवचन्द्र कार्की, पूर्वअध्यक्ष हरिचन्द्र पन्तलगायतको उपस्थिति थियो।

सभामा सहभागी अतिथिहरूले सहकारीले सदस्यको आर्थिक समृद्धिमा पुर्‍याउन सक्ने योगदान, संस्थाको प्रगति तथा सहकारी क्षेत्रको भूमिकाबारे धारणा राखेका थिए। उनीहरूले सहकारी संस्थाहरू सदस्यकेन्द्रित, पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए।

साधारणसभाका अवसरमा संस्थाको कार्यसम्पादन तथा सेवा प्रवाहमा योगदान पुर्‍याउने सेवाकेन्द्र र कर्मचारीसँगै उत्कृष्ट बचत तथा कारोबार गर्ने सदस्यलाई सम्मान गरिएको थियो। नारायणगढ सेवाकेन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र पुरस्कार प्रदान गरिएको थियो।

त्यस्तै, नारायणगढ सेवाकेन्द्रका शाखा प्रबन्धक घनश्याम पराजुली र बिजनेस प्रमोटर निर्मला ढकाललाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो। असल बचतकर्ता, असल कारोबार गर्ने सदस्य, असल ऋणी सदस्य तथा उत्कृष्ट बाल बचतकर्तालाई पनि सम्मान गरिएको संस्थाले जनाएको छ।एसइइ तथा बिएलइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने बाल बचतकर्तालाई समेत साधारणसभामा सम्मान गरिएको थियो।

सभाले संस्थाले हालसम्म हासिल गरेका उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा संस्थालाई थप सुदृढ, व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। साधारणसभाले संस्थाको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सदस्यको बचत, कारोबार र आर्थिक आवश्यकतालाई केन्द्रमा राखेर सहकारीको गतिविधि अघि बढाउने विषयलाई प्राथमिकता दिएको जनाएको छ।

prayas saccos 2.jpg