बुधबार, भाद्र ३ गते २०८३
—नेफ्स्कूनकाे ३८औं स्थापना दिवस—

“बचत ऋण सहकारी अभियानको मियो बनेर नेफ्स्कून अगाडि बढ्छ”

श्रावण ३०, २०८२ शुक्रबार
“बचत ऋण सहकारी अभियानको मियो बनेर नेफ्स्कून अगाडि बढ्छ”

नेफ्स्कून ३८औं स्थापना दिवससम्म आइपुग्दा जुन साख विगतमा थियो त्यो अहिले धरमराएको हो ?

धरमराएको भन्ने शब्दसँग म सहमत हुन सक्दिन् । पहिला हामीले नेफ्स्कूनलाई बुझ्नुपर्यो । यो बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रीय संघ हो । बचत ऋण सहकारी संघ संस्थाहरुसँगको सबै विषय नेफ्स्कूनको दायित्वभित्र पर्छ । विगत ३८ बर्षदेखि नेफ्स्कून, नेफ्स्कूनको रुपमा परिभाषित भएर आइरहँदा सैद्धान्तिक पक्ष एउटा छ भने व्यवहारिक पक्ष फरक छ । जुन जगमा हामीले नेफस्कूनलाई बसालेका छौं, त्यसका मटेरियल्सहरु धरमराउने खालको छैन । यो फेडरेशनलाई अक्षुण्ण राख्न जस्तासुकै कठिनाई र समस्याहरु आए पनि त्यसको सामना गर्न हामी तयार छौं । संघको स्थयित्व र दीर्घकालिन भिजन कायम गर्दै साकोस अभियानमा नेतृत्वदायी भूमिका निवार्ह गर्नु हाम्रो पहिलो जिम्मेवारी हो । त्यो भूमिका नेफ्स्कूनले निर्वाह गर्दै आएको छ । मसँगै २२ जना सञ्चालकहरु नेफ्स्कूनमा आएको १८ महिना बितेको छ । हाम्रो अहोरात्रको मेहनतले मिडिया र सिंगो अभियानले उठाएका प्रश्नहरुको जवाफ दिने ठाउँमा अहिले पुगेका छौं । जवाफको लागि जवाफ दिने मात्र नभई नेफ्स्कून आज पूर्णरुपमा सुरक्षित अवस्थामा पुगेको छ भन्न सक्छौं । जतिखेर जुनजुन प्रश्न उठेका थिए तर पछिल्लो पटक सहकारी मन्त्री, सम्बन्धित मन्त्रालयका सचिव र सहकारी विभागका रजिष्ट्रारले नै नेफ्स्कूनले गरेको सुधारको प्रसंशा गर्नु भएको छ । नियमनकारी निकाय भएकाले नेफ्स्कूनको बारेमा उहाँहरुले बोल्नु भएको सकारात्मक शब्द हाम्रो उपलब्धी हो । 

नेफ्स्कूनले भोलि ३८ औं स्थापना दिवस मनाउँदैछ । सो अवसरमा हामीले केहि हाम्रा मार्गचित्रहरु प्रस्तुत गर्छौं । हामीले गर्दै आएको वित्तीय कारोबारको अतिरिक्त नेफ्स्कूनको उदेश्य एवं फेडरेशनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्तलाई आत्मसात गर्दै नयाँ कार्यक्रमसहित सदस्य संस्थाहरुसँग सहकार्य गर्ने गरी तयार भएका छौैं । नेफ्स्कून धरमराएको छैन, बरु पूर्ण उद्देश्य प्राप्ति र अभियानको स्थायित्वको लागि अघि बढ्छ । हामीले वित्तीय सहकारी ऐनको वकालत गर्दै आएका छौं । वित्तीय सहकारी ऐनका सिद्धान्त र परिभाषालाई आत्मसात गर्दै आफुलाई सोही अनुसार रुपान्तरण गरेका छौं । अभियान अगाडि ऐन पछाडि भन्ने कुरा हामीले सुनेकै हो । नेफ्स्कूनले जुन गाइडलाइन बनाउँदै छ, त्यसले नै भोलिका दिनमा वित्तीय सहकारी ऐन स्थापित गर्नको लागि मार्गप्रशस्त गर्नेछ । 

तपाईले एउटा कार्यक्रममा बचत तथा ऋण सहकारी अभियानको पिलर हल्लिएको छ, त्यसको सामना गर्न संघहरु एक हुनुको विकल्प नभएको भन्नु भएको थियो नि ?

मैले हल्लिएको छ भनेको होइन, तर बचत ऋण अभियानको पिलर पटक पटक फरक तरिकाले हल्लाउने प्रयास गरिएको थियो । हल्लाउने प्रयासलाई विफल बनाएर साकोस अभियानको फिलर अझ बलियो बनाएर जान एकजुट हुनुपर्छ भनेको हुँ । साकोस अभियानमा कहिल्यै नधरमराउने इन्स्टिचुयसनको रुपमा हामी नेफ्स्कूनलाई रुपान्तरण गर्दैछौं । 

तपाई नेफ्स्कूनको अध्यक्ष भएर आएपछि नेफ्स्कून भित्र र बाहिर थुप्रै प्रश्नहरु उठे, कसरी सामना गरिराख्नुभएकाे छ ?

मैले यसलाई नेफ्स्कूनको यी यी क्षेत्रमा समस्या छ, त्यसलाई व्यवस्थापन गर्न तपाई लाग्नुस् भन्ने सुझावका रुपमा बुझेको छु । नेफ्स्कूनमा ठुलो मात्रामा अर्थात ६ अर्ब बचत जोखिममा भएको भन्ने जस्ता अफवाह बाहिर आए । तर गत असारको क्लोजिङ गरिरहँदा अर्बको हाराहारीमा मात्रै भाखा नाघेको ऋण छ । त्यही अनुपातमा प्रोभिजन गर्न सक्ने मुनाफा हामीले आर्जन गरेका छौं । हिजो दिनमा मिरा इआरपीको विषयमा पनि फरक कुरा बाहिर आएको थियो । यो विषयमा थुप्रै टिकाटिप्पणी भए तर म अध्यक्ष भएर आएपछि संघले गरेको निर्णयलाई मैले लागू गरेर गएँ । त्यो लागू हुने भनेको प्रविधिले काम गर्न थाल्नुपर्छ, त्यो विषय मेरो प्राथमिकता हुन्छ भनेको थिएँ । अहिले ५ सय भन्दामाथि सहकारी संस्थाले हामीले बनाएको प्रविधि प्रयोग गर्न थालेका छन् । त्यसका केहि त्रुटि रहेछन् भने हामी क्रमशः सुधार गर्दै जान्छौं । यो अन्तिम होइन्, अप्ठ्याराहरु रहेछन् भने समाधानको बाटो खोजेर अगाडि बढ्न सकिन्छ ।  

त्यसैगरी हामी माथि सुशासनको प्रश्न पटक पटक  उठाइयो । सुशासन एक जनाले लागू गरेर मात्र पुरा हुने होइन । नेतृत्वमा रहेका सबै साथीहरुले सुशासनको पालना गर्नुपर्छ । सञ्चालक समितिको दोस्रो बैठकमा नै सहकारी ऐन २०७४, नियमावली २०७५  तथा सहकारी विभागले जारी गरेका मापदण्डहरु नेफ्स्कून अध्यक्ष सहित सिंगो सञ्चालक समितिले पालना गरेर जानुपर्छ । साथै संघका विभिन्न उप समितिका साथीहरुलाई पनि पालनाको लागि अनुरोध गर्यौं ।

हामी सुशासनको कार्यान्वयनमा प्रतिवद्ध भयौं भने हामीसँग आवद्ध संघ संस्थाहरुले पनि स्वतस्फूर्त रुपमा अनुशरण गरेर जान्छन् । त्यसैले हामी नमुना बनौं भनेर मैले भनेँ । नमुना बन्ने कुरा आफुबाट सुरु गरेको छु भन्ने मलाई लाग्छ । धेरै साथीहरुले त्यसलाई आत्मसात गर्नुभएको छ भन्ने मेरो बुझाई छ । जसजसले सुशासनलाई आत्मसात गर्नुभएको छैन, सबैलाई तत्काल आत्मसात गरेर जान आग्रह गर्दछु । जसले सुशासनलाई प्राथमिकताको विषय बनाउनु भएको छैन, उहाँहरु सहकारी क्षेत्रको नेतृत्व बन्न सक्नुुहुन्न । हामीले सहकारी अभियानमा नेतृत्व गरेका धेरै साथीहरु देखेका छौं । सबै साथीहरु पदमा हुँदा मात्र नेतृत्व हुने तर पदबाट बाहिर गएपछि अरु विषयलाई प्राथमिकतामा राख्ने हो भने मैले भन्नु केहि पनि छैन । उहाँहरु सहकारीकर्मी र नेतृत्वकर्मी हुनु सक्नुहुन्न । नेतृत्वकर्मी सधै सहकारीप्रति जवाफदेहि बनेर सहकारितालाई मुख्य मुद्दा बनाएर जानुपर्छ ।

नेफ्स्कून सुशासनप्रति प्रतिवद्ध छ र विभागले जारी गरेका सबै मापदण्डहरु पालना गर्दै आएको छ ।  हालै सहकारी प्राधिकरणले जारी गरेका मापदण्डहरु कार्यान्वयन गर्ने गरी कार्यक्रम बनाएका छौं । राष्ट्र बैंकले जारी गरेको केहि बुँदाहरु हामीले कार्यान्वयन गरेर जान सक्ने खालका छैनन् । त्यो विषयमा हामीले राष्ट्र बैंकलाई ध्यानाकर्षण गरायौं र त्यो विषय प्राधिकरणसँग नै समन्वय गरेर जान उहाँहरुले सुझाउनु भयो ।  प्राधिकरण बचत तथा ऋणको मुख्य कारोबार गर्ने संघसंस्थाको नियामक भएकाले तेतातर्फ नै फोकस हुन राष्ट्र बैंकको सुझाव थियो । हामी अहिले प्राधिकरणसँग नजिक भएर नमिलेका मुद्दामा छलफल गर्दै अगाडि बढेका छौं ।

कतिपय साथीहरुले नियामक निकायले जारी गर्ने हरेक कुरालाई नेफ्स्कूनले छिनभरमा नै स्वागत गर्यो भन्ने आरोप लगाउनुहुन्छ । तर हामीले छिनभरमा नै स्वागत गरेको होइन् । नेफ्स्कून र साकोस अभियानसँग मेल खाने विषयलाई स्वागत गर्यौं । जुन विषय नेफ्स्कूनसँग मेल खाने थिएन, त्यसलाई परिमार्जन गर्न बहस तथा पैरवी अगाडि बढायौं । सरकारले अध्यादेशमार्फत् ल्याएको ऐनमा बचतको सीमा तोकिएको थियो । त्यसलाई परिमार्जन गर्यौं । तरलता व्यवस्थापनको विषयमा हामीले यो सम्भव छैन भन्यौं । हामीले मन्त्रालय र विभागसँग लामो समय गरेको लबिङका कारण स्थिरिकरण कोष कार्यान्वयनमा आएको छ । संस्थाहरु पनि कर्जा सूचना केन्द्रमा जोडिन सक्ने गरी कानुन बनिसक्यो । कर्जा असुली न्यायाधिरणको कार्यालय स्थापना भइसक्यो । सदस्यहरुको सानो बचतको सुरक्षाको लागि बचत तथा कर्जा सुरक्षणमा जोडिने प्रक्रियामा छ । हामीले उठान गर्दै आएका विषय कार्यान्वयन वा पालना गर्ने जुनसुकै हुन् , ती सबैमा निरन्तर बहस पैरवी गर्दै आएका छौं । 

नेफ्स्कूनको आन्तरिक सुधारको विषयमा पनि थुप्रै काम गरेको छ । सदस्य संस्थाहरुसँग ऋण लगानी गर्दा राखेको धितोलाई व्यवस्थापन गर्न धेरै मेहनत गयौं । कतिपय संस्थाको सम्पत्तिलाई लिलाम गरी दाखिल खारेजीको प्रक्रियाबाट जानुपर्यो । संस्थाहरुले दिएको धितो सुरक्षित छ, जसरी संस्थाहरुले नेफस्कूनलाई विश्वास गरे हामीले पनि संस्थाहरुलाई विश्वास गर्यौं । संस्थाहरुले हामीलाई विश्वास गर्न छाडे भने हामीले पनि विश्वास गर्ने आधार रहँदैन । संस्था सञ्चालन गरी आफुले राखेको धितो फिर्ता लिएर जाने परिस्थिति बन्यो भने कानुनतः धितो फिर्ता गराउँछौं । हामीले सहुलियत दिने ठाउँमा सहुलियत दिएका छौं । तसर्थ यी सबै कामहरुले गर्दा साकोस अभियानमा हामी निर्धक्क साथ उभिएका छौं । 

सहकारी अभियानमा सुशासन नै मुख्य मुद्दा हो, सुशासनको पहिलो पालना नेतृत्वबाट हुनुपर्छ तर त्यसको पालनामा अभियान चुकेको देखिन्छ नि ? 

नेफ्स्कूनले ३८ बर्षदेखि सुशासनलाई पहिलो प्राथमिकता बनाएको भए अहिले आएर सुशासनको लागि छलफल गर्नु पथ्र्यो र ? यो विषय लागु गर्न एकैपटक सम्भव रहेनछ । हामी कहाँ सुशासनसँग जोडिएका थुप्रै समस्याहरु थियो । यो विषयमा धेरै साथीसँग रातोपिरो पनि गर्नुपर्यो । हामी सुशासनको पिलर भएर उभिन सकेनौं भने संस्थागत रुपमा हामीलाई अरुले विश्वास गर्दैनन् । राज्य, कर्मचारीतन्त्र, अभियान र अन्य कुनै निकायले विश्वास गर्ने वातावरण बन्दैन ।

मुलुकभर बचत ऋण सहकारी संख्याको १२ हजार माथि भए पनि नेफ्स्कूनसँग आवद्ध भएका संस्था ४ हजारको हाराहारीमात्र अध्यावधिक छन् । संस्था चलायमान भई सदस्यलाई सेवा गर्न सक्ने संस्थालाई मेन स्ट्रिममा जोडेर लान तयारीमा गर्दछौं । जसले त्यो काम गर्न सक्दैनन्, ती संस्थाहरु स्थानीय तहमा छलफल गरी चलायमान संस्थाहरुसँग एकीकरण गरेर जानुपर्छ । सदस्यहरु सहकारीमार्फत् आर्थिक सामाजिक रुपान्तरण गर्न चाहन्छन् भने उनीहरुलाई अवसरबाट बञ्चित गर्नुहुँदैन । तर कुनै संस्था विविध कारणले बन्द भयो भने सदस्यका विभिन्न सम्भावनाका ढोकाहरु बन्द हुन्छन् । तसर्थ सहकारीलाई एकीकरणमार्फत् जोड्ने काम गर्दै आएका छौं । त्यसका साथै संस्थाहरुलाई पनि सक्रिय र निस्कृय संस्थाको रुपमा वर्गिकरण गरेका छौं । त्यसैगरी संस्थाहरुलाई मेन स्ट्रिम जोडेर जाने कार्यक्रम स्थापना दिवसको दिनमा सार्वजनिक गर्दैछौं ।

संघमा आवद्ध सबै संस्थामा नेफ्स्कूनका कर्मचारी संस्थामा नै पुगेर उनीहरुको समस्या बुझ्ने र समाधान गर्दै संस्थाहरुलाई चलायमान बनाउन सघाउँछौं । त्यसका लागि आवश्यक प्राविधिक तथा वित्तीय स्रोतको समेत हामी व्यवस्था मिलाउँछौं । आगामी बर्ष तपाईहरुले सबै संस्थाहरु माझ नेफ्स्कून पुग्यो त भनेर सोध्नु भयो भने मुस्किलले केहि संस्थामा पुगिएन भनौंला । हामीले गरेको कामको नतिजा तपाईंहरुले अपेक्षा गरे भन्दा बढी आउने गरी लागि पर्छौं । 

बचत तथा ऋण सहकारी अभियानमा नेफ्स्कूलाई मियो भन्दा पनि फरक पर्दैन, तर पछिल्ला समय  आएका समाचार र गतिविधिका कारण नेफ्स्कूनप्रति संस्थाहरुको आकर्षण घटेको देखिन्छ नि ? 

म नेफ्स्कूनको लेखा सुपरीवेक्षण समिति संयोजक, महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै आज अध्यक्ष छु । नेफ्स्कूनमा आवद्ध ४ हजार ३ सय संस्था मध्ये ३ हजार ८ सय संस्थाले गत असार मसान्तमा नविकरण गरेका छन् । विगतमा कहिल्यै ३ हजार संस्थाले सदस्यता नविकरण गरेको मलाई याद छैन । म निर्वाचित भएको वर्ष पनि २ हजार ८ सय संस्थाले मात्र नविकरण गरेका थिए । त्यतिखेर नेफ्स्कूनमा ४ हजार ७ सय संस्था आवद्ध थिए । नेफ्स्कूनसँग आवद्ध सबै संस्थाहरुलाई शतप्रतिशत अध्यावधिक गर्ने पोलिसी हामी कार्यान्वयन गर्दैछौं । तसर्थ संस्थाहरु नेफ्स्कूनप्रति आकर्षित छैनन् भनेर नबुझिदिन आग्रह गर्दछु । त्यसैगरी ६३ जिल्ला मध्ये ४७ जिल्लाका बचतऋणका संघसंस्थाले नेफ्स्कूनसँगको साझेदारीमा सम्झौता गरेका छन् । विगतमा १० भन्दा बढी जिल्लाले नेफ्स्कूनसँग साझेदारी गरेका थिएनन् ।

राष्ट्र बैंकले संघहरुमा राखेको तरलता गणना नहुने भनेर मापदण्ड जारी गर्यो । प्राधिकरणले २ बर्षको समय दिएर परिमार्जन गर्नु भन्दा अगाडिसम्म कोलाहलको अवस्था बन्यो । मापदण्ड जारी भएपछि पनि संस्थाहरुले नेफ्स्कूनसँग गर्ने वित्तीय कारोबार, राख्ने बचत र व्यवसायिक कार्यमा एक प्रतिशत पनि कमी आएको छैन । संघको ब्यालेन्स सिट डाउन भएको छ, यसलाई हामीले प्रगति र दुर्गतिको रुपमा हेरेका छैनौं । ३८ अर्बको ब्यालेन्स सिट भएको निकायबाट ८ अर्ब माथि लगानी भएको छैन, त्यसले के अर्थ राख्छ र ? अर्बौं पैसा फ्रिज राख्ने कुराले संघसंस्थालाई के फाइदा मिल्छ ? सदस्य संस्थाले ल्याएको जति पनि बचत नेफ्स्कूनले स्वीकार गर्छ तर बचत संकलनको लागि काउन्टर खोलेर पहिलो प्राथमिकता बनाएर भने हामी अब हिँड्दैनौं । हाम्रो पहिलो काम संघमा आवद्ध संस्थालाई व्यवसायिक बनाउने, सहकारीको मुल्य मान्यता र सिद्धान्तमा प्रतिवद्ध गराउने तथा समुदायको पहिलो रोजाइको पहिलो संस्था बनाउने हो । एमआईएस पद्धति र विभिन्न कार्यक्रमहरुमार्फत् संस्थाहरुलाई रुपान्तरण गर्ने, संस्थागत गर्ने र दिगो संस्था बनाउने तथा नजानेका कुरा सिकाउने विषय नै हाम्रो प्राथमिकता रहन्छ ।

राष्ट्र बैंक र सहकारी प्राधिकरणले जारी गरेको निर्देशन र मापदण्ड पछि नेफ्स्कूनले आफ्नो बाटो बदलेको हो ?

हामीले पुँजीलाई केन्द्रीकृत गेरर नेफ्स्कूनको दिगोपना हेरेका छैनौं । नेफ्स्कूनको दिगोपना सदस्य संस्थाहरुको सस्टेनेविलिटी, सञ्चालन प्रकिया र संस्थाप्रति सदस्यहरुको विश्वास बढाउने काम गरेर मात्र हुन्छ । हामीसँग भएको पुँजीलाई सदस्यहरुलाई व्यवसायिक बनाउनको लागि लगानी गर्छौं । हामीले नै विडिएस कार्यक्रम सञ्चालन गरेका छौं । संस्थामा आवद्ध सदस्यहरुलाई उद्यमशील र व्यवसायी बनाउने गरी हाम्रो पुँजीलाई उत्पादन र वितरणसँग जोडिएको क्षेत्रमा मात्रै लगानी गर्छौं । काउन्टर राखेर पैसा ल्याएर त्यहि पैसालाई विक्री गरी मुनाफा आर्जन गर्ने प्राथमिकता हाम्रो छैन । तर हामीले बचत ऋणको कारोबार बन्द गरेको होइन । संस्थाहरुसँग गर्ने कारोबार अन्तर्राष्ट्रिय सिद्धान्त र विश्वका अन्य फेडरेशनहरुले गरिआएको व्यवसायको मोडल अनुकरण गरेर जान लागेका हौं । अन्तर्राष्ट्रिय रुपमा संघहरु मार्फत भएका अनुकरणीय कामहरुको अनुशरण हामी पनि गरेर जान्छौं । ताकि भोलिका दिनमा राज्यले कानुन बनाउँदा हामीले गरेका असल अभ्यास दृष्टान्तको रुपमा काम लाग्न सक्छन् । तसर्थ हामी अब संस्थाहरुबाट शेयर र बचतलाई अनुपात मिलाएर मात्र लिन्छौं । धेरै वटा बचतको प्रडक्ट हामी बनाउँदैनौं । ४ वटा भन्दा बढी बचत र ऋणको प्रकार हुँदैनन् । त्यहि सीमा भित्र रहेर संस्थाहरुको क्षमताको आधारमा बचत लिने र ऋण लगानी गर्ने गर्छौं । बचत लिने कुरा हाम्रो प्राथमिकता बन्दैन । 

अहिले सदस्यको बचत अपचलन नै प्रमुख समस्याको रुपमा देखापरेको छ । सदस्यको बचतलाई डुब्न नदिनको लागि सरकारले संरचनागत व्यवस्था गर्दै लगेको छ, यी संरचनाले सदस्यको समृद्धि र बचतको प्रत्याभूति दिन सक्छ ?

जसले संस्थाको नेतृत्व गरेको छ, उसले संस्थालाई कसरी सञ्चालन गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । हिजो हामीले असुलीलाई प्राथमिकताको विषय बनायौं । कर्जा असुली न्यायाधिकरण गठन भइसक्यो । ऋण असुलीमा अप्ठ्यारा भएका विषयहरु अब त्यसमार्फत् अगाडि बढाउन सकिन्छ । हिजोका दिनमा कानुनी संरचना बनाएर जानुपर्छ भन्दा त्यसलाई इन्कार गर्ने परम्परा थियो, पछिल्लो पटक हामीले त्यसलाई तोडेका छौं । संस्थाहरुले लगेको ऋणको भुक्तानीका लागि समय व्यवस्थापन गर्न सकिन्छ, कर्जाको मोडालिटीलाई केहि परिमार्जन गरेर जान सकिन्छ तर कर्जाको साँवा ब्याज नतिर्ने कुरामा कुनै सम्झौता हुँदैन । न्यायाधिकरणले त्यहि कुरामा हामीलाई सहजीकरण गर्छ । हिजो हामीले बचत ऋण सहकारीको लागि दोहोरो सदस्य हुनुहुँदैन भन्यौं । त्यो विषयको व्यवस्थापन गर्ने गरी कर्जा सूचना केन्द्रमा सहकारी जोडिन सक्ने अवस्था बनेको छ । अब एकजना व्यक्ति धेरै वटा सहकारीको सदस्य बनेर थुप्रै संस्थाबाट ऋण लिने कुरालाई त्यसले निषेध गर्छ । स्थिरिकरण कोषको सदस्य भएको र त्यसलाई निरन्तरता गरेर जाने संस्थाहरुको लागि तरलता व्यवस्थापन गर्नेदेखि संस्थामा आइपर्ने भवितव्यलाई समेत व्यवस्थापन गरेर जाने गरी हाम्रो कार्यविधि परिमार्जन गरिसकेका छौं । संस्थागत सुशासनमा रहेर सदस्यसँग वित्तीय कारोबार गर्छु भन्ने संस्थाका लागि हिजो भन्दा आज सहज वातावरण बन्दै गएको छ । र यसले सदस्यहरको बचतको सुरक्षाको प्रत्याभूति स्थापित गर्छ । 

नेफ्स्कूनले ३८ औं स्थापना दिवसमार्फत् सदस्य संस्थाहरुलाई दिनखाेज्नु भएकाे सन्देश के हो ?

हामीले राम्रो गर्यौं भनिरहँदा त्यतिले मात्र पुगेको छैन । अझै राम्रो गर्न निरन्तर लागिपर्छौं । हामीले २ अर्ब माथि भाखा नाघेको ऋण असुल गर्न बाँकी छ । दाखिल खारेज गरेर ल्याएको २ अर्ब ५० करोड सम्पत्तिलाई संस्थागत रुपमा विक्री गरी नगदमा परिणत गर्नुपर्ने छ । हामीले ल्याएको नयाँ कार्यक्रम सबै संघ संस्थामा पु¥याउनु छ । संघहरुले घरदैलोमा नै आएर सेवा दिन थाल्यो भन्ने महशुस संस्थाहरुलाई गराउनु छ । बचत ऋणको मुख्य कारोबार गर्ने संस्थाहरुको हामीले जिम्मा लिन्छौं भनेका छौं । त्यसका लागि नेफ्स्कूनले पनि आफ्नो मापदण्ड बनाउँछ । जुन जुन संस्था नेफ्स्कूनले बनाएको मापदण्डभित्र रुपान्तरित भएर आउँछन ती संस्थाको मात्र नेफ्स्कूनले जिम्मा लिन्छ । ५ सय भन्दा बढी संस्था नेफ्स्कूनका स्तरिकरण कार्यक्रममा आवद्ध भएर व्यवसायिक रुपमा नै अगाडि बढेका छन् । यस आर्थिक बर्षभरिमा त्यो संख्या एक हजार पुर्याउने लक्ष्य छ । संघमा आवद्ध सबै संस्थालाई अनुगमन गरी हाम्रो दायित्व पुरा गर्ने तथा संस्थाहरुलाई सक्षम बनाउने काममा लाग्छौं । सदस्य संस्थासँग जोडिएर सहकारी अभियानलाई संस्थागत गर्दै बलियो बनाउन लागि पर्छौं । सहकारीगँग सम्बन्धित सबै निकायसँग सहकार्य गरेर जाने वातावरण हामी बनाउँछौं ।