नेफ्स्कून ३८औं स्थापना दिवससम्म आइपुग्दा जुन साख विगतमा थियो त्यो अहिले धरमराएको हो ?
धरमराएको भन्ने शब्दसँग म सहमत हुन सक्दिन् । पहिला हामीले नेफ्स्कूनलाई बुझ्नुपर्यो । यो बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रीय संघ हो । बचत ऋण सहकारी संघ संस्थाहरुसँगको सबै विषय नेफ्स्कूनको दायित्वभित्र पर्छ । विगत ३८ बर्षदेखि नेफ्स्कून, नेफ्स्कूनको रुपमा परिभाषित भएर आइरहँदा सैद्धान्तिक पक्ष एउटा छ भने व्यवहारिक पक्ष फरक छ । जुन जगमा हामीले नेफस्कूनलाई बसालेका छौं, त्यसका मटेरियल्सहरु धरमराउने खालको छैन । यो फेडरेशनलाई अक्षुण्ण राख्न जस्तासुकै कठिनाई र समस्याहरु आए पनि त्यसको सामना गर्न हामी तयार छौं । संघको स्थयित्व र दीर्घकालिन भिजन कायम गर्दै साकोस अभियानमा नेतृत्वदायी भूमिका निवार्ह गर्नु हाम्रो पहिलो जिम्मेवारी हो । त्यो भूमिका नेफ्स्कूनले निर्वाह गर्दै आएको छ । मसँगै २२ जना सञ्चालकहरु नेफ्स्कूनमा आएको १८ महिना बितेको छ । हाम्रो अहोरात्रको मेहनतले मिडिया र सिंगो अभियानले उठाएका प्रश्नहरुको जवाफ दिने ठाउँमा अहिले पुगेका छौं । जवाफको लागि जवाफ दिने मात्र नभई नेफ्स्कून आज पूर्णरुपमा सुरक्षित अवस्थामा पुगेको छ भन्न सक्छौं । जतिखेर जुनजुन प्रश्न उठेका थिए तर पछिल्लो पटक सहकारी मन्त्री, सम्बन्धित मन्त्रालयका सचिव र सहकारी विभागका रजिष्ट्रारले नै नेफ्स्कूनले गरेको सुधारको प्रसंशा गर्नु भएको छ । नियमनकारी निकाय भएकाले नेफ्स्कूनको बारेमा उहाँहरुले बोल्नु भएको सकारात्मक शब्द हाम्रो उपलब्धी हो ।
नेफ्स्कूनले भोलि ३८ औं स्थापना दिवस मनाउँदैछ । सो अवसरमा हामीले केहि हाम्रा मार्गचित्रहरु प्रस्तुत गर्छौं । हामीले गर्दै आएको वित्तीय कारोबारको अतिरिक्त नेफ्स्कूनको उदेश्य एवं फेडरेशनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्तलाई आत्मसात गर्दै नयाँ कार्यक्रमसहित सदस्य संस्थाहरुसँग सहकार्य गर्ने गरी तयार भएका छौैं । नेफ्स्कून धरमराएको छैन, बरु पूर्ण उद्देश्य प्राप्ति र अभियानको स्थायित्वको लागि अघि बढ्छ । हामीले वित्तीय सहकारी ऐनको वकालत गर्दै आएका छौं । वित्तीय सहकारी ऐनका सिद्धान्त र परिभाषालाई आत्मसात गर्दै आफुलाई सोही अनुसार रुपान्तरण गरेका छौं । अभियान अगाडि ऐन पछाडि भन्ने कुरा हामीले सुनेकै हो । नेफ्स्कूनले जुन गाइडलाइन बनाउँदै छ, त्यसले नै भोलिका दिनमा वित्तीय सहकारी ऐन स्थापित गर्नको लागि मार्गप्रशस्त गर्नेछ ।
तपाईले एउटा कार्यक्रममा बचत तथा ऋण सहकारी अभियानको पिलर हल्लिएको छ, त्यसको सामना गर्न संघहरु एक हुनुको विकल्प नभएको भन्नु भएको थियो नि ?
मैले हल्लिएको छ भनेको होइन, तर बचत ऋण अभियानको पिलर पटक पटक फरक तरिकाले हल्लाउने प्रयास गरिएको थियो । हल्लाउने प्रयासलाई विफल बनाएर साकोस अभियानको फिलर अझ बलियो बनाएर जान एकजुट हुनुपर्छ भनेको हुँ । साकोस अभियानमा कहिल्यै नधरमराउने इन्स्टिचुयसनको रुपमा हामी नेफ्स्कूनलाई रुपान्तरण गर्दैछौं ।
तपाई नेफ्स्कूनको अध्यक्ष भएर आएपछि नेफ्स्कून भित्र र बाहिर थुप्रै प्रश्नहरु उठे, कसरी सामना गरिराख्नुभएकाे छ ?
मैले यसलाई नेफ्स्कूनको यी यी क्षेत्रमा समस्या छ, त्यसलाई व्यवस्थापन गर्न तपाई लाग्नुस् भन्ने सुझावका रुपमा बुझेको छु । नेफ्स्कूनमा ठुलो मात्रामा अर्थात ६ अर्ब बचत जोखिममा भएको भन्ने जस्ता अफवाह बाहिर आए । तर गत असारको क्लोजिङ गरिरहँदा अर्बको हाराहारीमा मात्रै भाखा नाघेको ऋण छ । त्यही अनुपातमा प्रोभिजन गर्न सक्ने मुनाफा हामीले आर्जन गरेका छौं । हिजो दिनमा मिरा इआरपीको विषयमा पनि फरक कुरा बाहिर आएको थियो । यो विषयमा थुप्रै टिकाटिप्पणी भए तर म अध्यक्ष भएर आएपछि संघले गरेको निर्णयलाई मैले लागू गरेर गएँ । त्यो लागू हुने भनेको प्रविधिले काम गर्न थाल्नुपर्छ, त्यो विषय मेरो प्राथमिकता हुन्छ भनेको थिएँ । अहिले ५ सय भन्दामाथि सहकारी संस्थाले हामीले बनाएको प्रविधि प्रयोग गर्न थालेका छन् । त्यसका केहि त्रुटि रहेछन् भने हामी क्रमशः सुधार गर्दै जान्छौं । यो अन्तिम होइन्, अप्ठ्याराहरु रहेछन् भने समाधानको बाटो खोजेर अगाडि बढ्न सकिन्छ ।
त्यसैगरी हामी माथि सुशासनको प्रश्न पटक पटक उठाइयो । सुशासन एक जनाले लागू गरेर मात्र पुरा हुने होइन । नेतृत्वमा रहेका सबै साथीहरुले सुशासनको पालना गर्नुपर्छ । सञ्चालक समितिको दोस्रो बैठकमा नै सहकारी ऐन २०७४, नियमावली २०७५ तथा सहकारी विभागले जारी गरेका मापदण्डहरु नेफ्स्कून अध्यक्ष सहित सिंगो सञ्चालक समितिले पालना गरेर जानुपर्छ । साथै संघका विभिन्न उप समितिका साथीहरुलाई पनि पालनाको लागि अनुरोध गर्यौं ।
हामी सुशासनको कार्यान्वयनमा प्रतिवद्ध भयौं भने हामीसँग आवद्ध संघ संस्थाहरुले पनि स्वतस्फूर्त रुपमा अनुशरण गरेर जान्छन् । त्यसैले हामी नमुना बनौं भनेर मैले भनेँ । नमुना बन्ने कुरा आफुबाट सुरु गरेको छु भन्ने मलाई लाग्छ । धेरै साथीहरुले त्यसलाई आत्मसात गर्नुभएको छ भन्ने मेरो बुझाई छ । जसजसले सुशासनलाई आत्मसात गर्नुभएको छैन, सबैलाई तत्काल आत्मसात गरेर जान आग्रह गर्दछु । जसले सुशासनलाई प्राथमिकताको विषय बनाउनु भएको छैन, उहाँहरु सहकारी क्षेत्रको नेतृत्व बन्न सक्नुुहुन्न । हामीले सहकारी अभियानमा नेतृत्व गरेका धेरै साथीहरु देखेका छौं । सबै साथीहरु पदमा हुँदा मात्र नेतृत्व हुने तर पदबाट बाहिर गएपछि अरु विषयलाई प्राथमिकतामा राख्ने हो भने मैले भन्नु केहि पनि छैन । उहाँहरु सहकारीकर्मी र नेतृत्वकर्मी हुनु सक्नुहुन्न । नेतृत्वकर्मी सधै सहकारीप्रति जवाफदेहि बनेर सहकारितालाई मुख्य मुद्दा बनाएर जानुपर्छ ।
नेफ्स्कून सुशासनप्रति प्रतिवद्ध छ र विभागले जारी गरेका सबै मापदण्डहरु पालना गर्दै आएको छ । हालै सहकारी प्राधिकरणले जारी गरेका मापदण्डहरु कार्यान्वयन गर्ने गरी कार्यक्रम बनाएका छौं । राष्ट्र बैंकले जारी गरेको केहि बुँदाहरु हामीले कार्यान्वयन गरेर जान सक्ने खालका छैनन् । त्यो विषयमा हामीले राष्ट्र बैंकलाई ध्यानाकर्षण गरायौं र त्यो विषय प्राधिकरणसँग नै समन्वय गरेर जान उहाँहरुले सुझाउनु भयो । प्राधिकरण बचत तथा ऋणको मुख्य कारोबार गर्ने संघसंस्थाको नियामक भएकाले तेतातर्फ नै फोकस हुन राष्ट्र बैंकको सुझाव थियो । हामी अहिले प्राधिकरणसँग नजिक भएर नमिलेका मुद्दामा छलफल गर्दै अगाडि बढेका छौं ।
कतिपय साथीहरुले नियामक निकायले जारी गर्ने हरेक कुरालाई नेफ्स्कूनले छिनभरमा नै स्वागत गर्यो भन्ने आरोप लगाउनुहुन्छ । तर हामीले छिनभरमा नै स्वागत गरेको होइन् । नेफ्स्कून र साकोस अभियानसँग मेल खाने विषयलाई स्वागत गर्यौं । जुन विषय नेफ्स्कूनसँग मेल खाने थिएन, त्यसलाई परिमार्जन गर्न बहस तथा पैरवी अगाडि बढायौं । सरकारले अध्यादेशमार्फत् ल्याएको ऐनमा बचतको सीमा तोकिएको थियो । त्यसलाई परिमार्जन गर्यौं । तरलता व्यवस्थापनको विषयमा हामीले यो सम्भव छैन भन्यौं । हामीले मन्त्रालय र विभागसँग लामो समय गरेको लबिङका कारण स्थिरिकरण कोष कार्यान्वयनमा आएको छ । संस्थाहरु पनि कर्जा सूचना केन्द्रमा जोडिन सक्ने गरी कानुन बनिसक्यो । कर्जा असुली न्यायाधिरणको कार्यालय स्थापना भइसक्यो । सदस्यहरुको सानो बचतको सुरक्षाको लागि बचत तथा कर्जा सुरक्षणमा जोडिने प्रक्रियामा छ । हामीले उठान गर्दै आएका विषय कार्यान्वयन वा पालना गर्ने जुनसुकै हुन् , ती सबैमा निरन्तर बहस पैरवी गर्दै आएका छौं ।
नेफ्स्कूनको आन्तरिक सुधारको विषयमा पनि थुप्रै काम गरेको छ । सदस्य संस्थाहरुसँग ऋण लगानी गर्दा राखेको धितोलाई व्यवस्थापन गर्न धेरै मेहनत गयौं । कतिपय संस्थाको सम्पत्तिलाई लिलाम गरी दाखिल खारेजीको प्रक्रियाबाट जानुपर्यो । संस्थाहरुले दिएको धितो सुरक्षित छ, जसरी संस्थाहरुले नेफस्कूनलाई विश्वास गरे हामीले पनि संस्थाहरुलाई विश्वास गर्यौं । संस्थाहरुले हामीलाई विश्वास गर्न छाडे भने हामीले पनि विश्वास गर्ने आधार रहँदैन । संस्था सञ्चालन गरी आफुले राखेको धितो फिर्ता लिएर जाने परिस्थिति बन्यो भने कानुनतः धितो फिर्ता गराउँछौं । हामीले सहुलियत दिने ठाउँमा सहुलियत दिएका छौं । तसर्थ यी सबै कामहरुले गर्दा साकोस अभियानमा हामी निर्धक्क साथ उभिएका छौं ।
सहकारी अभियानमा सुशासन नै मुख्य मुद्दा हो, सुशासनको पहिलो पालना नेतृत्वबाट हुनुपर्छ तर त्यसको पालनामा अभियान चुकेको देखिन्छ नि ?
नेफ्स्कूनले ३८ बर्षदेखि सुशासनलाई पहिलो प्राथमिकता बनाएको भए अहिले आएर सुशासनको लागि छलफल गर्नु पथ्र्यो र ? यो विषय लागु गर्न एकैपटक सम्भव रहेनछ । हामी कहाँ सुशासनसँग जोडिएका थुप्रै समस्याहरु थियो । यो विषयमा धेरै साथीसँग रातोपिरो पनि गर्नुपर्यो । हामी सुशासनको पिलर भएर उभिन सकेनौं भने संस्थागत रुपमा हामीलाई अरुले विश्वास गर्दैनन् । राज्य, कर्मचारीतन्त्र, अभियान र अन्य कुनै निकायले विश्वास गर्ने वातावरण बन्दैन ।
मुलुकभर बचत ऋण सहकारी संख्याको १२ हजार माथि भए पनि नेफ्स्कूनसँग आवद्ध भएका संस्था ४ हजारको हाराहारीमात्र अध्यावधिक छन् । संस्था चलायमान भई सदस्यलाई सेवा गर्न सक्ने संस्थालाई मेन स्ट्रिममा जोडेर लान तयारीमा गर्दछौं । जसले त्यो काम गर्न सक्दैनन्, ती संस्थाहरु स्थानीय तहमा छलफल गरी चलायमान संस्थाहरुसँग एकीकरण गरेर जानुपर्छ । सदस्यहरु सहकारीमार्फत् आर्थिक सामाजिक रुपान्तरण गर्न चाहन्छन् भने उनीहरुलाई अवसरबाट बञ्चित गर्नुहुँदैन । तर कुनै संस्था विविध कारणले बन्द भयो भने सदस्यका विभिन्न सम्भावनाका ढोकाहरु बन्द हुन्छन् । तसर्थ सहकारीलाई एकीकरणमार्फत् जोड्ने काम गर्दै आएका छौं । त्यसका साथै संस्थाहरुलाई पनि सक्रिय र निस्कृय संस्थाको रुपमा वर्गिकरण गरेका छौं । त्यसैगरी संस्थाहरुलाई मेन स्ट्रिम जोडेर जाने कार्यक्रम स्थापना दिवसको दिनमा सार्वजनिक गर्दैछौं ।
संघमा आवद्ध सबै संस्थामा नेफ्स्कूनका कर्मचारी संस्थामा नै पुगेर उनीहरुको समस्या बुझ्ने र समाधान गर्दै संस्थाहरुलाई चलायमान बनाउन सघाउँछौं । त्यसका लागि आवश्यक प्राविधिक तथा वित्तीय स्रोतको समेत हामी व्यवस्था मिलाउँछौं । आगामी बर्ष तपाईहरुले सबै संस्थाहरु माझ नेफ्स्कून पुग्यो त भनेर सोध्नु भयो भने मुस्किलले केहि संस्थामा पुगिएन भनौंला । हामीले गरेको कामको नतिजा तपाईंहरुले अपेक्षा गरे भन्दा बढी आउने गरी लागि पर्छौं ।
बचत तथा ऋण सहकारी अभियानमा नेफ्स्कूलाई मियो भन्दा पनि फरक पर्दैन, तर पछिल्ला समय आएका समाचार र गतिविधिका कारण नेफ्स्कूनप्रति संस्थाहरुको आकर्षण घटेको देखिन्छ नि ?
म नेफ्स्कूनको लेखा सुपरीवेक्षण समिति संयोजक, महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै आज अध्यक्ष छु । नेफ्स्कूनमा आवद्ध ४ हजार ३ सय संस्था मध्ये ३ हजार ८ सय संस्थाले गत असार मसान्तमा नविकरण गरेका छन् । विगतमा कहिल्यै ३ हजार संस्थाले सदस्यता नविकरण गरेको मलाई याद छैन । म निर्वाचित भएको वर्ष पनि २ हजार ८ सय संस्थाले मात्र नविकरण गरेका थिए । त्यतिखेर नेफ्स्कूनमा ४ हजार ७ सय संस्था आवद्ध थिए । नेफ्स्कूनसँग आवद्ध सबै संस्थाहरुलाई शतप्रतिशत अध्यावधिक गर्ने पोलिसी हामी कार्यान्वयन गर्दैछौं । तसर्थ संस्थाहरु नेफ्स्कूनप्रति आकर्षित छैनन् भनेर नबुझिदिन आग्रह गर्दछु । त्यसैगरी ६३ जिल्ला मध्ये ४७ जिल्लाका बचतऋणका संघसंस्थाले नेफ्स्कूनसँगको साझेदारीमा सम्झौता गरेका छन् । विगतमा १० भन्दा बढी जिल्लाले नेफ्स्कूनसँग साझेदारी गरेका थिएनन् ।
राष्ट्र बैंकले संघहरुमा राखेको तरलता गणना नहुने भनेर मापदण्ड जारी गर्यो । प्राधिकरणले २ बर्षको समय दिएर परिमार्जन गर्नु भन्दा अगाडिसम्म कोलाहलको अवस्था बन्यो । मापदण्ड जारी भएपछि पनि संस्थाहरुले नेफ्स्कूनसँग गर्ने वित्तीय कारोबार, राख्ने बचत र व्यवसायिक कार्यमा एक प्रतिशत पनि कमी आएको छैन । संघको ब्यालेन्स सिट डाउन भएको छ, यसलाई हामीले प्रगति र दुर्गतिको रुपमा हेरेका छैनौं । ३८ अर्बको ब्यालेन्स सिट भएको निकायबाट ८ अर्ब माथि लगानी भएको छैन, त्यसले के अर्थ राख्छ र ? अर्बौं पैसा फ्रिज राख्ने कुराले संघसंस्थालाई के फाइदा मिल्छ ? सदस्य संस्थाले ल्याएको जति पनि बचत नेफ्स्कूनले स्वीकार गर्छ तर बचत संकलनको लागि काउन्टर खोलेर पहिलो प्राथमिकता बनाएर भने हामी अब हिँड्दैनौं । हाम्रो पहिलो काम संघमा आवद्ध संस्थालाई व्यवसायिक बनाउने, सहकारीको मुल्य मान्यता र सिद्धान्तमा प्रतिवद्ध गराउने तथा समुदायको पहिलो रोजाइको पहिलो संस्था बनाउने हो । एमआईएस पद्धति र विभिन्न कार्यक्रमहरुमार्फत् संस्थाहरुलाई रुपान्तरण गर्ने, संस्थागत गर्ने र दिगो संस्था बनाउने तथा नजानेका कुरा सिकाउने विषय नै हाम्रो प्राथमिकता रहन्छ ।
राष्ट्र बैंक र सहकारी प्राधिकरणले जारी गरेको निर्देशन र मापदण्ड पछि नेफ्स्कूनले आफ्नो बाटो बदलेको हो ?
हामीले पुँजीलाई केन्द्रीकृत गेरर नेफ्स्कूनको दिगोपना हेरेका छैनौं । नेफ्स्कूनको दिगोपना सदस्य संस्थाहरुको सस्टेनेविलिटी, सञ्चालन प्रकिया र संस्थाप्रति सदस्यहरुको विश्वास बढाउने काम गरेर मात्र हुन्छ । हामीसँग भएको पुँजीलाई सदस्यहरुलाई व्यवसायिक बनाउनको लागि लगानी गर्छौं । हामीले नै विडिएस कार्यक्रम सञ्चालन गरेका छौं । संस्थामा आवद्ध सदस्यहरुलाई उद्यमशील र व्यवसायी बनाउने गरी हाम्रो पुँजीलाई उत्पादन र वितरणसँग जोडिएको क्षेत्रमा मात्रै लगानी गर्छौं । काउन्टर राखेर पैसा ल्याएर त्यहि पैसालाई विक्री गरी मुनाफा आर्जन गर्ने प्राथमिकता हाम्रो छैन । तर हामीले बचत ऋणको कारोबार बन्द गरेको होइन । संस्थाहरुसँग गर्ने कारोबार अन्तर्राष्ट्रिय सिद्धान्त र विश्वका अन्य फेडरेशनहरुले गरिआएको व्यवसायको मोडल अनुकरण गरेर जान लागेका हौं । अन्तर्राष्ट्रिय रुपमा संघहरु मार्फत भएका अनुकरणीय कामहरुको अनुशरण हामी पनि गरेर जान्छौं । ताकि भोलिका दिनमा राज्यले कानुन बनाउँदा हामीले गरेका असल अभ्यास दृष्टान्तको रुपमा काम लाग्न सक्छन् । तसर्थ हामी अब संस्थाहरुबाट शेयर र बचतलाई अनुपात मिलाएर मात्र लिन्छौं । धेरै वटा बचतको प्रडक्ट हामी बनाउँदैनौं । ४ वटा भन्दा बढी बचत र ऋणको प्रकार हुँदैनन् । त्यहि सीमा भित्र रहेर संस्थाहरुको क्षमताको आधारमा बचत लिने र ऋण लगानी गर्ने गर्छौं । बचत लिने कुरा हाम्रो प्राथमिकता बन्दैन ।
अहिले सदस्यको बचत अपचलन नै प्रमुख समस्याको रुपमा देखापरेको छ । सदस्यको बचतलाई डुब्न नदिनको लागि सरकारले संरचनागत व्यवस्था गर्दै लगेको छ, यी संरचनाले सदस्यको समृद्धि र बचतको प्रत्याभूति दिन सक्छ ?
जसले संस्थाको नेतृत्व गरेको छ, उसले संस्थालाई कसरी सञ्चालन गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । हिजो हामीले असुलीलाई प्राथमिकताको विषय बनायौं । कर्जा असुली न्यायाधिकरण गठन भइसक्यो । ऋण असुलीमा अप्ठ्यारा भएका विषयहरु अब त्यसमार्फत् अगाडि बढाउन सकिन्छ । हिजोका दिनमा कानुनी संरचना बनाएर जानुपर्छ भन्दा त्यसलाई इन्कार गर्ने परम्परा थियो, पछिल्लो पटक हामीले त्यसलाई तोडेका छौं । संस्थाहरुले लगेको ऋणको भुक्तानीका लागि समय व्यवस्थापन गर्न सकिन्छ, कर्जाको मोडालिटीलाई केहि परिमार्जन गरेर जान सकिन्छ तर कर्जाको साँवा ब्याज नतिर्ने कुरामा कुनै सम्झौता हुँदैन । न्यायाधिकरणले त्यहि कुरामा हामीलाई सहजीकरण गर्छ । हिजो हामीले बचत ऋण सहकारीको लागि दोहोरो सदस्य हुनुहुँदैन भन्यौं । त्यो विषयको व्यवस्थापन गर्ने गरी कर्जा सूचना केन्द्रमा सहकारी जोडिन सक्ने अवस्था बनेको छ । अब एकजना व्यक्ति धेरै वटा सहकारीको सदस्य बनेर थुप्रै संस्थाबाट ऋण लिने कुरालाई त्यसले निषेध गर्छ । स्थिरिकरण कोषको सदस्य भएको र त्यसलाई निरन्तरता गरेर जाने संस्थाहरुको लागि तरलता व्यवस्थापन गर्नेदेखि संस्थामा आइपर्ने भवितव्यलाई समेत व्यवस्थापन गरेर जाने गरी हाम्रो कार्यविधि परिमार्जन गरिसकेका छौं । संस्थागत सुशासनमा रहेर सदस्यसँग वित्तीय कारोबार गर्छु भन्ने संस्थाका लागि हिजो भन्दा आज सहज वातावरण बन्दै गएको छ । र यसले सदस्यहरको बचतको सुरक्षाको प्रत्याभूति स्थापित गर्छ ।
नेफ्स्कूनले ३८ औं स्थापना दिवसमार्फत् सदस्य संस्थाहरुलाई दिनखाेज्नु भएकाे सन्देश के हो ?
हामीले राम्रो गर्यौं भनिरहँदा त्यतिले मात्र पुगेको छैन । अझै राम्रो गर्न निरन्तर लागिपर्छौं । हामीले २ अर्ब माथि भाखा नाघेको ऋण असुल गर्न बाँकी छ । दाखिल खारेज गरेर ल्याएको २ अर्ब ५० करोड सम्पत्तिलाई संस्थागत रुपमा विक्री गरी नगदमा परिणत गर्नुपर्ने छ । हामीले ल्याएको नयाँ कार्यक्रम सबै संघ संस्थामा पु¥याउनु छ । संघहरुले घरदैलोमा नै आएर सेवा दिन थाल्यो भन्ने महशुस संस्थाहरुलाई गराउनु छ । बचत ऋणको मुख्य कारोबार गर्ने संस्थाहरुको हामीले जिम्मा लिन्छौं भनेका छौं । त्यसका लागि नेफ्स्कूनले पनि आफ्नो मापदण्ड बनाउँछ । जुन जुन संस्था नेफ्स्कूनले बनाएको मापदण्डभित्र रुपान्तरित भएर आउँछन ती संस्थाको मात्र नेफ्स्कूनले जिम्मा लिन्छ । ५ सय भन्दा बढी संस्था नेफ्स्कूनका स्तरिकरण कार्यक्रममा आवद्ध भएर व्यवसायिक रुपमा नै अगाडि बढेका छन् । यस आर्थिक बर्षभरिमा त्यो संख्या एक हजार पुर्याउने लक्ष्य छ । संघमा आवद्ध सबै संस्थालाई अनुगमन गरी हाम्रो दायित्व पुरा गर्ने तथा संस्थाहरुलाई सक्षम बनाउने काममा लाग्छौं । सदस्य संस्थासँग जोडिएर सहकारी अभियानलाई संस्थागत गर्दै बलियो बनाउन लागि पर्छौं । सहकारीगँग सम्बन्धित सबै निकायसँग सहकार्य गरेर जाने वातावरण हामी बनाउँछौं ।