बुधबार, भाद्र ३ गते २०८३

"प्रोभिजनिङका कारण बैंक घाटामा देखिएको हो, नाफामा लैजाने आधार छ"


आषाढ १, २०८३ सोमबार
"प्रोभिजनिङका कारण बैंक घाटामा देखिएको हो, नाफामा लैजाने आधार छ"

सहकारी बैंकमा रस्साकस्सीका बिचमा नयाँ सञ्चालक समिति चयन भयो तर बैंकमाथि राजनीतिक ट्याग पनि लाग्यो नि ?

रस्साकस्सी त भन्न मिल्दैन तर यसबिचमा बैंकको निर्वाचनलाई लिएर निक्कै चर्चापरिचर्चा भने भयो । त्यसकै बिचबाट नयाँ नेतृत्व चयन समेत भएको छ । राजनीति आफैमा खराब होइन । राजनीतिक दलहरु सधैं खराव हुन्छन् भन्ने पनि होइन । यसको फिलोसफी नै खराब पनि होइन तर यसको प्रयोग कहाँ गर्ने भन्ने महत्वपूर्ण हुन्छ । सबै खालको समस्याको समाधान दिने निकाय राजनीति हो । यसको ठिक तरिकाले उपयोग हुँदा राम्रो हुन्छ । कहिलेकाँही त्यसको उपस्थिति त्यति धेरै नहुने ठाउँमा हुँदा प्रश्न उठ्नु स्वाभाविक नै हो । सहकारी बैंकको निर्वाचनको सन्दर्भमा राजनीति दलबिच छलफल, गृहकार्य र सहकार्य भएकै हो । बैंकलाई गलत बाटोमा जानबाट रोक्न उहाँहरुले अभिभावकीय भूमिका निर्वाह मात्र गरेको भए राजनीति दलहरु यति धेरै आलोचित हुनुपर्दैन थियो । बैंकका राजनीतिक दलको भागबण्डा र पार्टीको पत्रचार जस्ता कुरा बाहिर आउनुले राम्रो संस्कार स्थापित भएन । वित्तीय कारोबार गर्ने संस्थामा यस्तो नभएको भए हुन्थ्यो । 

अहिलेको निर्वाचनले दलीय हस्तक्षेप हुनेरहेछ भन्ने नजिर स्थापित गर्यो नि ? यसलाई कसरी लिनुहुन्छ ?

सहकारी बैंकमा दलहरुको हस्तक्षेप रहेछ भन्न मिल्दैन होला । निर्वाचनको समयमा दलहरुले चासो राख्नु स्वभाविक नै हो । राष्ट्रिय दलहरुले हरेक क्षेत्रलाई नजिकबाट चासो राख्न सक्छन् । यद्यपि मतदान गर्ने भनेको बैंकमा आवद्ध सहकारी संघसंस्थाका प्रतिनिधिले हो । बैंकमा राजनीतिक दलको लेटर प्याडको आधारमा मतदान हुँदैन । राजनीतिक दलले निर्णय गरेको आधारमा मात्रै सदस्य संस्थाले मतदान गर्छन् भन्ने पनि छैन । चासो राख्नु ठिकै हो तर चासो अलि बढी देखियो । हस्तक्षेप नै भयो जस्तो मलाई लाग्दैन । 

बागमती प्रदेशको सञ्चालक र बैंकको अध्यक्ष छनोट गर्ने विषयमा राजनीतिक दलको ह्वीपलाई कसरी लिनुहुन्छ ?

निर्वाचनको प्रक्रियालाई दुई चरणमा हेर्नुपर्छ । राष्ट्र बैंक र सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन र बैंकको विनियम अनुसार सात प्रदेशबाट एक एक जना सञ्चालक छनोट भएर आउने व्यवस्था छ । त्यसको लागि निर्वाचन प्रक्रिया सुरु भयो र सातै प्रदेशमा उम्मेदवारी दर्ता भयो । सात प्रदेशमा उम्मेदवारी दर्ता पछि ६ प्रदेशमा सर्वसम्मत सञ्चालक छनोट भयो भने बागमती प्रदेशमा निर्वाचन गर्नुपर्ने परिस्थिति बन्यो । ६ वटा प्रदेशमा कुनै विवाद भएन । सहकारीकर्मीले पनि त्यसलाई सहज रुपमा स्वीकार गर्नुभयो । यो प्रदेशमा फलानो दलको उम्मेदवार छ, त्यस कारण अरुले उम्मेदवारी दिन पाईंदैन भनेर कुनै दलले भने पनि ह्वीप लाग्दैन ।

अरुले पनि चाहेको भए उम्मेदवारी दिन सक्थे । जजसले उम्मेदवारी दिनु भयो, ६ वटामा प्रदेशमा सबैको समर्थन रह्यो । बागमती प्रदेशमा उम्मेदवारी दिन चाहने व्यक्तिलाई कुनै दलको कारणले मात्र रोक्न सक्ने स्थिति थिएन । उम्मेदवारी दिन सक्ने व्यवस्था अनुसार ५ जनाले उम्मेदवारी दिनुभयो । अन्तिममा दुई जनाको बिचमा मतदान नै गर्नुपर्यो । निर्णय गर्ने ठाउँमा मतदाता भएकाले राजनीतिक दलले यो वा त्यो व्यक्तिलाई मतदान गर्न भने पनि नमान्ने अवस्था थियो । मतदाताले छानेको र पार्टीले भनेको उम्मेदवार विजयी भएको पनि हुन सक्छ, नभएको पनि हुन सक्छ । सदस्य संस्थाका प्रतिनिधिले आफ्नो उम्मेदवारलाई मत हाले, त्यसलाई नै हस्तक्षेप भनेर भन्न भएन । त्यसपछि सात जनाबाट बैंकको अध्यक्ष छनोट गर्नुपर्ने भयो । सात जनाबाट यो नै व्यक्ति बैंकको अध्यक्ष हुनुपर्छ भनेर कुनै पनि दलले भनेको जस्तो मलाई लाग्दैन । एमालेले त भन्यो भन्ने चर्चा बजारमा छ नि भन्नु होला ? बैंकमा राजनीतिक हिसाबले एमाले विचारधारा राख्ने साथीहरु पनि सञ्चालकमा आउनु भयो होला । त्यस मध्ये बैंकको अध्यक्षको लागि कुन दलको को थियो भन्ने बिर्सिएर सात प्रदेशबाट बैंकका सञ्चालक भन्ने पहिचान बनेको छ । सात जनाबाट बैंकको अध्यक्षको उम्मेदवार बन्दा एमालेसँग वैचारिक निकटता हुने परितोष पौड्याल र मेरो उम्मेदवारी परेको हो ।

आस्थाको हिसाबले हेर्ने हो भने दुबै जना एउटै दलको विचारसँग नजिक थियौं । अरु दलसँग आवद्ध भएका सञ्चालकहरुले छुट्टै उम्मेदवारी दिनु भएन । तपाईंहरु मध्ये हामी एक जनालाई छान्छौं भन्नु भयो । सातै जना सञ्चालक मतदान गर्न स्वतन्त्र हुनुहुन्थ्यो । दलिय ह्वीप जारी भएको भए उहाँहरु मतदान गर्न स्वतन्त्र हुनुहुन्नथ्यो । दलको ह्वीप जारी भएको भए अर्कै परिणाम आउन सक्थ्यो । बैंक बाहिर राजनीतिक दलसँग जोडिए पनि बैंक चलाउन को उययुक्त हुनुहुन्छ, तपाईहरुले छान्नुस् भनेर भन्नुभयो । उपयुक्त पात्र छान्न भनेपछि सञ्चालकहरु मलाई मतदान गर्नुभयो । अध्यक्ष छनोटमा कुनै पार्टीको ह्वीप लागेन । बैंकबाट बाहिर रहँदा हामी कुनै न कुनै पार्टीमा जोडिएका हौंला । बैंकमा गएपछि हामीलाई दलको मान्छेको रुपमा हेर्नु भएन । प्रदेशबाट बैंकको सञ्चालक छनोट गरेर पठाउँदा योग्य व्यक्ति पठाइसक्नु भएको छ । बैंकमा आइसकेपछि हाम्रो विवेकले अध्यक्ष छनोट गर्न सकेनौं भन्ने हुँदैन । प्रदेशगत रुपमा आएका सात जना सञ्चालक मध्येबाट अध्यक्ष छान्नुपर्छ । 

दल भनेको अमूर्त कुरा हो । थुप्रै कुरा मिलेर दल बन्छ । आफ्नो जिम्मेवारीमा भएको आधारमा कहिले काँही निर्णय लिनुपर्ने हुन्छ । व्यक्तिको क्षमताको आधारमा कहिलेकाँही जिम्मेवारी दिँदा एक भन्दा बढी ठाउँको समेत दिनुपर्ने हुन्छ । कतिपय अवस्थामा आवश्यकता भन्दा बढी कसैलाई प्राथमिकतामा राखेको पनि हुन सक्छ । कतिपय अवस्थामा प्राथमिकता दिनुपर्ने ठाउँसम्म नजर नपरेको पनि हुनसक्छ । गलत नियतले निर्णय गरियो भन्ने मलाई लाग्दैन । आवश्यकता के छ, सहकारीकर्मीको भावना के छ भन्ने विषयमा निर्णय गर्नुपूर्व सूचना संकलन गर्नुपर्छ । सूचना संकलन गर्ने क्रममा कहीँकतै त्रुटी भयो की, त्यही सूचनाको आधारमा निर्णयकर्ताले निर्णय गर्ने हो । 

तपाईलाई बैंकको अध्यक्ष बनाउनुमा ठूला सहकारीको हात छ भनिन्छ नि ?

ठूला सहकारी संस्थाका साथीहरुले लक्ष्मी उप्रेती बैंकको अध्यक्ष बनोस् भन्नु उहाँहरुको अपराध होइन र मेरो पनि गल्ती होइन । अभियानको कुरा राख्ने क्रममा पहुुँच पनि पुग्ने भएकाले ठुला सहकारीका साथीहरुले मलाई अध्यक्ष बनाउनुपर्छ भन्नु भयो होला । तर सहकारी बैंकको नेतृत्वमा चयन भएर आएपछि हामीले साना र ठुला सहकारी संस्था भनेर विभेद गर्नुहुँदैन । ठुला सहकारीले ठुलो पुँजी लगानी गरेका छन्, त्यो पैसाको सुरक्षा खोजिएको पनि हुनसक्छ । फाइनान्सियल इन्ट्रेस्टको हिसाबले बैंकमा भएको लगानी सुरक्षित हुनुपर्छ भनेर ठुला सहकारीले अलि बढी चासो राखेको पनि हुनसक्छ । सुशासनयुक्त ढंगले सञ्चालन भएका सहकारीको चाहना बैंकको नेतृत्व सही ढंगले आउनुपर्छ भन्ने थियो । जुन संस्था आफै सुशासनमा थिएनन्, ती संस्था अहिले आफैं अप्ठ्यारोमा परेका छन् । ती संस्थाले बैंकको निर्वाचनमा त्यति चासो पनि राखेनन् । जुन संस्था सुशासनयुक्त र राम्रोसँग सञ्चालन भएका थिए । सहकारीको मुल्य, मान्यता र सिद्धान्तमा आधारित भएर सञ्चालन भइराखेका छन्, उनीहरुले बैंकको निर्वाचनलाई अलि चासोपूर्वक हेरे । नेतृत्व चयनमा केही बढी चासो राखे होलान् । अब ठुला वा साना सहकारी भन्ने कुरा हुँदैन । सहयोग गर्ने सम्पूर्ण सहकारीकर्मीलाई बैंकको अध्यक्षको हिसाबले धन्यवाद भन्न चाहन्छु । 

विगतमा सहकारी बैंकले सीमित संस्थाको बिचमा मात्रै आफुलाई राख्यो भन्ने आरोप छ नि, त्यसलाई नयाँ सञ्चालक समितिले चिर्छ ?

बैंकको स्थापना २०६० सालमा भएको हो र म २०७० सालदेखि सहकारी बैंकमा जोडिएको छु । ७० देखि ७५ सालसम्म लेखा सुपरीवेक्षण समितिको सदस्यमा रहेर काम गरेँ । त्यसपछि ७५ देखि ७९ सम्म लेखा सुपरीवेक्षण समितिको संयोजकको भूमिका निर्वाह गरे । यसअघि पनि म लेखा समितिको संयोजक थिएँ । लेखा समितिमा हुँदा सहकारी संघसंस्थाको सक्रियता र सदस्य संस्थालाई बैंकले पु¥याएको योेगदानको विषयमा हामीले सबै कुरा हेर्न सक्ने अवस्था थिएन । कतिपय संस्था एक पटक सदस्य बन्ने रेकर्डमा देखिने र त्यसपछि क्रियाशील नहुने अवस्था पनि छ । क्रियाशील नभएका संस्थाहरुलाई क्रियाशील बनाउन बैंकले प्रयास गर्नुपर्छ भनेर हामीले विगतमा आवाज उठाएका थियौं । बैंकको काम विजनेश गर्ने हो र कतिपय अवस्थामा बैंकलाई तरलता अभाव पनि हुन्छ ।

त्यो बेला बैंक ठुला सहकारी संस्थासँग अलि बढी भर पर्यो होला । बैंकको काम थोक कर्जा लगानी गर्ने हो । त्यस्तो अवस्थामा ठुलो ऋण उपयोग गर्ने सक्ने संस्थालाई बैंकको कर्जा चलाइदिनु पर्यो भनेर अनुरोध गर्यो भने त्यसलाई पनि गलन मान्नु भएन । पुँजी र ब्यालेन्स सिटको हिसाबले संस्था साना ठुला हुने भए पनि सुशासनका हिसाबले सहकारी साना ठुला भन्ने हुँदैन । सानो पुँजी र कम सदस्यलाई बैंकले फरक व्यवहार गर्यो भने गलत हुन्छ तर बैंकमा त्यो भएको जस्तो लाग्दैन । संस्थाहरुको वित्तीय आवश्यकता पुरा गर्न सहयोग गर्दैनौं भनेर हामीले भनेको जस्तो लाग्दैन । साना ठुला सहकारीले ल्याएको पुँजीलाई बैंकले स्वीकार गर्छ । संस्थाहरुलाई अवश्यकता अनुसारको ऋण पनि प्रवाह गर्छौं । व्यवस्थापनलाई डिमान्ड बेस्ड प्रडक्टहरु डिजाइन गर्न पनि  भनेका थियौं । ठुला सहकारी संस्थालाई ठुलै ऋणको प्रडक्ट आवश्यक पर्छ । साना कारोबार भएका संस्थालाई त्यस्तै ऋणको प्रडक्ट आवश्यक पर्छ । त्यसका आधारमा बैंकले प्रडक्ट डिजाइन पनि गरेको छ ।

यसरी हेर्दा साना सहकारीलाई बैंकले वेवास्ता गर्यो की भन्ने लाग्न सक्छ । तर त्यो होइन । ठुला सहकारी संस्थाले पुँजी पनि ठुलै लगानी गर्छन् । जनशक्ति पनि सक्षम हुन्छन् र प्रविधि प्रयोगमा पनि अगाडि हुन्छन् । ऋण लिन चाहिने आवश्यक पर्ने डकुमेन्ट पनि पुरा गर्न सक्छन् । बैंकले ऋण लगानी गर्दा कसको पैसा हो भन्ने सोचेर मात्र लगानी गर्नुपर्छ । साना वा ठुला सहकारी जसलाई ऋण लगानी गरे पनि सुरक्षित लगानीमा बैंकले ध्यान दिनुपर्छ । बैंकमा आएको पैसा सहकारी संस्थाबाट आएको दायित्व हो । सदस्य संस्थाले मागेको समयमा त्यो पैसा फिर्ता गर्नुपर्छ । बैंकले लगानी गर्नुपूर्व सुरक्षालाई पहिलो सोच्नुपर्छ । इमोसनले मात्र बैंक चल्दैन । सुरक्षित रुपमा लगानी गर्न कानुनी प्रावधान पुरा गर्न बैंकले माथि भनेका सबै कुरा गर्नुपर्ने हुन्छ । जनशक्ति अभाव र अभिलेख व्यवस्थित नभएका सहकारीलाई चाहेर पनि ऋण लगानी गर्न नसकेको हुनसक्छ । प्रक्रिया पुरा गर्न नसकेका कारण बैंकले ऋण स्वीकृत गर्न नसक्दा साना संस्थाहरुलाई मर्का परेको हुनसक्छ । त्यसलाई पक्षपात गरेको भन्न मिल्दैन । कहीँकतै त्यस्तो भएको छ भने बैंकको तर्फबाट भन्दा पनि कुनै व्यक्तिको कारणले हुनसक्छ । त्यो विषयमा व्यक्ति पहिचान गरी छानबिन गर्नुपर्छ । 

साना सहकारीलाई वास्ता नगर्ने र मागेको समयमा पनि ऋण नदिने आरोप बैंकलाई लागेको छ नि ?

यसमा सैद्धान्तिक र व्यवहारिक दुबै पक्षलाई हेर्नुपर्छ । सहकारी बैंक सहकारी अभियानको छाता संघ मात्र होइन, यो विशुद्ध वित्तीय कारोबार गर्ने व्यवसायिक निकाय हो । व्यवसाय गर्दा बैंकले आफुसँग भएको पुँजीलाई ध्यानमा राख्नुपर्छ । सदस्यबाट प्राप्त भएको बचत, शेयर र विगतमा बैंकले कारोबार गर्दा सृजना भएको कोषहरु नै बैंकको पुँजी हो । त्यही पुँजीलाई बैंकले सदस्य संस्थाको माझमा परिचालन गर्ने हो । लगानी गर्ने क्रममा पुँजी असुरक्षित भयो भने भोलिका दिनमा बैंकले गर्ने व्यवसाय कमजोर हुन्छ । यो सैद्धान्तिक धरालतबाट बैंकले उन्मुक्ति पाउँदैन । बैंकले लगानी गर्दा सदस्यहरुको पुँजी असुरक्षित हुनुहुँदैन । त्यसका लागि जुन जुन प्रक्रिया अवलम्बन गर्नुपर्छ, त्यसबाट बैंक पछाडि हट्न सक्दैन । जसले आवश्यक कागजात पुरा गर्न सक्दैनन्, ती संस्थाहरुमा तरलता अभाव हुँदाहुँदै पनि बैंकले सहयोग गर्न नसकेको अवस्था हो । कतिपय संस्थाहरुलाई अप्ठ्यारो पर्दा सीमा भित्र बसेर समस्याबाट मुक्त गर्न संस्थाहरुलाई सहयोग गर्दै आएका छौं । हामीले दिएको पुँजीले संस्था बन्द हुँदैन र सञ्चालनमा आउनसक्छ भन्ने देखेको अवस्थामा वित्तीय सहयोग गरेका छौं । बैंकको व्यवसायिकता पनि कमजोर नहोस् र समस्यामा परेका संस्थाहरुलाई सहयोग पुगोस् भन्ने हो । तर यो भावनाले मात्र समस्यामा परेका सबै संस्थालाई बैकले सहयोग गर्न सक्दो रहेनछ । न्युनतम मापदण्ड पुरा नगरी बैंकले ऋण लगानी गर्न सक्दैन, समस्यामा परेका ती संस्थाहरुले न्युनतम मापदण्ड पनि पूरा गर्न नसकिएको देखियो । 

अहिले पनि बैंकले सीमित कारोबार मात्र गरिराखेको छ, पूर्ण बैकिङ्ग कारोबार गरेर सदस्य संस्थालाई कहिलेबाट सेवा दिन सक्छ ?

कतिपय कुरा आफ्नो पहुँचभित्र हुँदो रहेछ भने कतिपय आफ्नो पहुँच बाहिर हुँदो रहेछ । बैंक स्थापना भएदेखि नै सीमित बैकिङ्ग कारोबार गर्ने इजाजत प्राप्त गरेको हो । बैंकले पूर्ण बैकिङ्ग व्यवसाय गर्नको लागि अहिलेसम्म कानुनी व्यवस्था छैन । अर्कोतर्फ, राष्ट्र बैंकले पूर्ण बैकिङ्ग कारोबार गर्ने काम बाणिज्य बैंकहरुको हो । सहकारी विभागको दर्ता छोडेर कम्पनीमा दर्ता गरेर आउनुस्, पूर्ण बैंकिङ्ग गर्न अनुमति दिन्छौं भनेको छ । कम्पनीमा गएपछि अरु बैंक जसरी चलेका छन्, सहकारी बैंकले पूर्ण इजाजत पाउने गरी अहिलेसम्मको केन्द्रीय बैंकको नियामकीय व्यवस्था र निर्देशनहरु रहेका छन् । विभागमा दर्ता भएपनि राष्ट्र बैंकको रेगुलेशनमा बसेर सहकारी बैंकको सीमा बढाउन हामीले लबिइङ गरिराखेका छौं । सहकारी बैंकको क्षमताले धान्न नसक्ने इजाजतहरु नदिन तर धान्न  सक्ने दिन हामीले माग गर्दै आएका छौं । जुनजुन काम बैंकले गर्न सक्छ, क्रमशः दिँदै जान हामीले माग गरेका छौं । निर्वाचित भएर आएसँगै बोर्ड बैठकले निर्णय गरेर राष्ट्र बैंकबाट इजाजत लिएर पूर्ण बैकिङ्ग सञ्चालन गर्न हामीले सक्दैनौं । आगामी दिनमा लिमिटेशनका सीमाहरुलाई घटाउँदै बैंकको दायरा बढाउने हाम्रो लक्ष्य रहेको छ । यो विषयमा सञ्चालक समितिको बैठकमा सैद्धान्तिक रुपमा छलफल गर्छौं र व्यवसायिक प्रस्तावलाई राष्ट्र बैंकमा लिएर जान्छौं । 

सहकारी बैंकमा ठुला सहकारी संस्थाको ठुलो पुँजी लगानी भएको छ, बैंकले प्रतिफल दिन नसकेका कारण शेयर फिर्ताको लागि पनि संस्थाहरुले भनिराखेका छन् । यसलाई कसरी व्यवस्थापन गरेर जानुहुन्छ ?

हामी दुईवटा नाउमा खुट्टा राखेर हिडिराखेका छौं । बैंकलाई सहकारी ऐनपनि लागु हुन्छ र राष्ट्र बैंक ऐन र निर्देशन पनि लागु हुन्छ । सहकारी ऐन २०७४ मा राष्ट्र बैंकले सहकारी बैंक सञ्चालन सम्बन्धि निर्देशन जारी गर्न सक्ने र त्यो निर्देशन ऐन सरह मान्यता हुने भन्ने छ । यो अवस्थामा  राष्ट्र बैंकको निर्देशन पनि हाम्रो लागि त्यतिकै बाध्यकारी छ । सहकारी बैंकमा राष्ट्र बैंकको निर्देशन किन ? यसले सहकारीको मुल्य, मान्यता र सिद्धान्त नै निलम्बन भयो नि भन्ने कुरा पनि आउँछन् । सैद्धान्तिक रुपमा ठिकै होला । हामीले सहकारी ऐनमा भएको व्यवस्था पनि पालना गर्नुपर्छ । सहकारी बैंकसँग सम्बन्धित रहेर राष्ट्र बैंकले निर्देशन दिन सक्ने व्यवस्था रहेकाले त्यो हाम्रो लागि कानुन सरह भयो । सहकारी ऐनको प्रावधान अनुसार सदस्य संस्थाहरुले शेयर फिर्ता माग्दा तोकेको प्रक्रिया पुरा गरी आर्थिक बर्ष समाप्त भएपछि हिसाब लेखाजोखा गरी नाफा कमाएको भए लाभांश समेत जोडेर र घाटा भएको रहेछ भने शेयर रकम घटाएर फिर्ता दिनुपर्ने कानुनी व्यवस्था छ । तर राष्ट्र बैंकले पुँजीकोष सम्बन्धि जुन व्यवस्था गरेको छ, त्यो व्यवस्था पुरा नहुँदासम्म शेयर फिर्ता गर्न पाईंदैन भनेको छ । विगत दुई बर्षदेखि नाफा गर्न नसकेको कारण हामीले लाभांश दिन सकेका छैनौं । यसले कतिपय सहकारी संस्थामा असन्तुष्टि पनि छ । हाम्रो पैसा आइडल बस्नु भन्दा शेयर फिर्ता पाए हुन्थ्यो भन्ने पनि होला ।

दुई बर्षदेखि सहकारी बैंक घाटामा छ भनिरहँदा कुन प्रकृतिको घाटा हो, यो मुख्य विषय हो । एउटा अपरेशनल लस हुन्छ भने अर्को प्रोभिजनल लस हुन्छ । अपरेशनल लस बैंक वित्तीय संस्थामा खतरनाक कुरा हो । उसले महिनाभरीमा जति कमाउँछ, उसको सञ्चालन खर्च त्यो भन्दा बढी छ । कर्मचारी, घर भाडा र कार्यालय सञ्चालन खर्चका साथै मसलन्द खर्च पर्छ । संस्थाले महिनाभरी ब्याज असुली गर्दा पनि त्यसले महिनाको खर्च धान्न सक्दैन भने त्यो सञ्चालन खर्च हुन्छ । यो रिकभर हुने ठाउँ हुँदैन । अहिले सहकारी बैंकको घाटा भनेको नकमाएर होइन, कमाएको पैसा प्रोभिजन गर्नु परेर हो । शिर्षक ट्रान्स्फर गरेको कारणले अहिले बैंकले लस बुक गर्नुपरेको छ । बैंकको यो लस रिकभर हुने सम्भावना हामीसँग बढी छ । किनभने हामीसँग भएको एनपिए घटाएर बैंकलाई नाफामा लैजान सकिन्छ । एनपिए र एनपिएललाई सुधार गरी अहिले प्रोभिजन गरेको पैसा मात्र ब्याक गर्न सकियो भने बैंक नाफामा जान सक्छ । त्यो हुँदा सदस्य संस्थाले मागेको बखत शेयर फिर्ता गर्न गाह्राे पर्दैन । सदस्य संस्थाहरुलाई बाध्यताले तपाई शेयर राखिराख्नुस् भनिराख्नु पनि पर्दैन । स्वेच्छाले संस्थाहरुले शेयर राख्न र झिक्न सक्छन् । कसैले म बैंकको सदस्य बन्दिन, शेयर फिर्ता लिन्छु भन्दा त्यो बाटो खुला हुन्छ । सहकारीको पहिलो सिद्धान्त ऐच्छिक तथा खुल्ला सदस्य भनेपछि त्यसलाई बाध्यकारी बनाउनु हुँदैन । तर अहिले राष्ट्र बैंकको नियामकिय व्यवस्था जुन छ, पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडिकेसी रेसियो) पुरा नगरी संस्थाहरुले शेयर फिर्ता गर्न नपाउने व्यवस्था गरेको छ । अहिले सदस्य संस्थाले शेयर फिर्ताको लागि दिएको निवदेन सरी भनेर राख्नुपरेको छ । 

संस्थाहरुको आशय शेयर फिर्ता भन्दा पनि लाभांश कहिलेदेखि पाइन्छ भन्ने हो कि ?

त्यो पनि हुन सक्छ, संस्थाहरुले पनि सदस्यहरुबाट संकलन गरेको पैसा हो । सदस्यहरुले पनि संस्थासँग लाभांशको आशा गर्छन् । संस्थाहरुले लाभांश बाँडन भएको पैसाले कहाँ कहाँ कमाउछ भनेर खोज्नुपर्छ । सहकारी बैंकमा भएको पैसाले कमाइदिएन भने सदस्यहरुलाई कसरी लाभांश वितरण गर्ने भन्ने हुनसक्छ । जतिसक्दो छिट्टो बैंक लाभांश विरतण गर्ने ठाउँमा पुग्नुपर्छ, भएन भने त हाम्रो शेयर फिर्ता पनि लिनुपर्ने हुनसक्छ भन्ने आशय संघ संस्थाको रहेको छ । तर बैंकले सदस्यहलाई लाभांश दिनसकेको छैन । बैंकले  नाफा दिन सकेन भनेर संस्थाहरु आक्रोशित हुने भन्दा पनि संयमित भएर बुझिदिनु भएको छ । यसको अर्थ बैंक जतिसक्दो छिटो नाफा दिने ठाउँमा पुगोस् र सदस्यको पैसा बाँझो नबसोस् भन्ने हो । त्यसको लागि केही पूर्वधारहरु बनेका छन्, यस अघिको कार्यकालमा सकारात्मक संकेतहरु देखिएका छन् । त्यसलाई निरन्तरता दिँदै आगामी दिनमा सदस्यको पुँजीलाई बाँझो नराख्ने प्रतिवद्धता जनाउँछौं । धेरै प्रतिफल दिने भन्दा पनि पुँजीको ब्याजसम्म धान्ने गरी प्रतिफल दिने र त्यो भन्दा बढी सेवामा जोड दिने तयारी हाम्रो छ । बैंकले सदस्यहरुलाई दिने सेवा प्रभावकारी बनाउने र लाभांश नै सबै हो भन्ने कुरालाई कम गर्दै लैजाने नीति लिइनेछ । 

राष्ट्र बैंकले सीमित समयभित्र पुँजी पर्याप्त अनुपात पु¥याउन भनेको छ, पुँजी पर्याप्त पु¥याउने आधारहरु के के छन् ? 

त्यसका लागि प्रशस्त आधारहरु देखेका छौं । अघिल्लो बर्षसम्म ऋणात्मक रहेको पुँजी पर्याप्तता अनुपात बैशाख मसान्तसम्म आइपुग्दा ४ प्रतिशत माथि रहेको छ । २०८५ सम्म यसलाई ८ प्रतिशत पु¥याउनु पर्ने नियामकीय व्यवस्था छ । त्यो भन्दा अगाडि नै ८ प्रतिशत पु¥याउँछौैं भन्ने हो । हामीसँग भएको एनपिएलाई जति छिटो बिक्री गर्न सक्छौं, त्यति नै नगद बढ्छ । यसबाट प्रोभिजन गरेको सम्पत्तिमा शतप्रतिशत कम ब्याक हुन्छ । त्यसैगरी भाखा नाघेको ऋण छ, त्यसलाई गुणस्तर सुधार गर्न सकियो भने त्यो ऋणमा प्रोभिजन गरेको पैसा पनि फिर्ता हुन्छ । उठ्न बाँकी ब्याजलाई अर्निङ बढाउन सक्दा बैंकको प्रोफिट बढ्छ । यी सबै कारणले गर्दा बैंकको पुँजी पर्याप्तता अनुपात पुरा गर्ने ठाउँमा आइपुग्न सक्छौं । तर यसको लागि परिणाम आउने गरी काम गर्नुपर्छ । 

सहकारी बैंकले बचतमा ब्याज पनि शुन्यमा जस्तै पुर्याएको छ, शेयरको लाभांश पनि पाएका छैनन्, यसले गर्दा सदस्य संस्था मारमा परिराखेका छन्, यस्तो अवस्थामा कसरी तालमेल मिल्ला र ?

सहकारी बैंकलाई अलिअलि बेथा लागेको छ । यो बेथा सहकारी बैंकलाई मात्र नभएर समग्र मुलुकको अर्थतन्त्रलाई लागेको छ । यही सिष्टमभित्र बसेर काम गरिराखेको सहकारी बैंक पनि त्यसबाट अछुतो नहुुने कुरा भएन । विशेष गरी कोभिड १९ र त्यसपछि सृजना भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण अर्थतन्त्रमा मन्दी छायो । सहकारी बैंकको काम गर्ने क्षेत्र भनेकै कानुनले सीमितता दिएको आधारमा सदस्य संघसंस्था मात्र हुन् । विदेशतिर व्यक्तिगत कर्जा पनि लगानी गर्न पाउँछन् । नेपालमा भने सदस्य बनेका संघसंस्थासँग मात्र लगानी गर्न मिल्छ । संस्थाहरुले पनि आफ्ना सदस्यहरुलाई ऋण लगानी गर्न सक्ने सम्भावना रह्यो भने मात्र सहकारी बैंकबाट ऋण लैजान्छन् ।

अहिले प्रारम्भिक सहकारी संस्थामा नै पुँजी थुप्रिएको छ । सदस्यहरुले नयाँ व्यवसाय गर्नको लागि ऋण चाहिरहेका छैनन् । न त भइरहेका सदस्यहरुले आफ्नो व्यवपार व्यवसाय विस्तार गर्न अथवा निरन्तर सञ्चालन गर्नेगरी ऋण लिन चाहन्छन् । सबै क्षेत्रमा जोखिम रहेकाले ऋण लिएका सदस्यहरु पनि सकेसम्म कर्जा घटाउने पक्षमा छन् । पछि चाहियो भने लिउँला भनेर ऋण लिएका सदस्यहरुले पनि ऋण चुक्ता गरिराखेका छन् । संस्थामा पैसा आएपछि संस्थाहरुले सहकारी बैंकको ऋण चुक्ता गरिहाल्छन् र चाहियो भने पछि लैजाउँला भन्छन् । यो अप्ठ्यारो बैंकलाई पनि परेको छ । नेशनल फ्रेमवर्कमा नै जबसम्म सुधार हुँदैन, त्यस बेलासम्म बैंकले मात्र सुधार गर्छु भनेर केही अर्थ छैन । संसारभरी क्राइसिस आउँछ र रिकभरीको लागि समय लाग्छ   यस पटक अलि बढी समय लाग्यो । दुई तीन बर्षमा सुधार हुनुपथ्र्यो तर यो पटक झन्डै ६ बर्ष हुन लाग्यो । अझै एक दुई बर्षलाई संकेत त्यति राम्रो देखिँदैन । अप्ठ्यारो परिस्थितिका बाबजुद पनि बैंक अगाडि जान सक्ने आधारहरु तयार भएका छन् । त्यो आधारलाई टेकेर बाँकी रहेको संरचनालाई बिग्रिन नदिइ अगाडि बढ्छौं र सदस्यहरुलाई कुनै न कुनै हिसाबले न्याय दिन सक्छौं भन्ने आत्मविश्वास छ । 

सहकारी बैंक र नेफ्स्कूनबिच कार्यगत एकता हुँदैछ, खास कुरा के हो ?

नेफ्स्कूनले आफना सदस्य संस्थाहरुको बिचमा थोक कर्जाको काम गर्दै आएको छ ।  नेफ्स्कून व्यवसायिक रुपमा नै स्थापना भएको संस्था हो । त्यसको अलवा केन्द्रीय, प्रदेश र जिल्ला तहमा पनि विभिन्न प्रकृतिका संघहरु रहेका छन् । अहिले ती संघहरुले नियमति रुपमा मासिक बचत संकलनसँगै बैकिङ्ग कारोबार गरिराखेका छन् । यो विषय ठिक कि बेठिक भनेर बहस चलिराखेको छ । त्यसको पक्ष र विपक्षमा केही तर्कहरु पनि छन् । सबै संघहरु सस्टेन हुन आम्दानी हुने केहि काम गर्नुपर्छ भनेर विगतमा आफ्ना सदस्य संस्थाहरुसँग क्रेडिट बिजनेश गर्दै आएका थिए । क्रेडिट बिजनेश गर्दा बिचको स्प्रेड दरले संघहरुलाई केही आम्दानी हुन्छ र त्यो स्रोतबाट संघ सञ्चालन हुन सक्छ भन्ने कोणबाट थोक कर्जा लगानी भएको देखिन्छ ।

यो भनेको प्रोफेसनल काम हो र त्यसका लागि प्रोफेसनल कर्मचारी, ज्ञान, सीप र प्रविधि आवश्यक पर्छ । फेडरेशन सञ्चालन गर्न त्यहि अनुसारको कर्मचारी हुन्छन् । सुरुमा  वित्तीय विश्लेषण गर्ने गरी दक्ष कर्मचारीको आवश्यकता महशुस गरिएको हुँदैन । लेन्डिङको कारोबार गदै जाँदा ५ लाखबाट सुरु भएर १०–२० लाखदेखि १ करोडसम्म गर्नुपर्ला । एउटा बाणिज्य बैंकले १० लाख ऋण लगानी गर्न कति धेरै कोणबाट विश्लेषण गरेको हुन्छ । तर संघमा भने जोखिम विश्लेषण गर्न सक्ने गरी विङ्स र टुल्सहरु नपुग्लान् । जसले गर्दा भएका कर्जा लगानीहरु जोखिममा पर्ने हो कि भन्ने जस्ता कुरा आएपछि अहिले संघहरुले बचत तथा ऋणको कारोबार गर्न नपाउने व्यवस्था छ । वित्तीय कारोबार गर्ने भनेको सहकारी बैंकले हो र बैंकले वित्तीय कारोबार गर्नुपर्छ । अन्य निकायले क्षेत्रगत व्यवसाय गर्नुपर्छ भन्ने कुरा आएको छ । नेफ्स्कून लगायतका केन्द्रीय संघहरुले आफ्ना सदस्य संस्थाको क्षमता विकासका लागि तालिम प्रशिक्षण गर्नुपर्छ । वित्तीय कारोबारको जिम्मा बैंकले लिनुपर्छ भन्ने गरी कानूनी व्यवस्था भएको छ ।

अध्यादेशमार्फत् ल्याइएको ऐनले संघहरुलाई ३ बर्षको समय दिएको छ । संघहरुले बचत ऋणको कारोबार अहिलेदेखि नै घटाउँदै त लैजालान् तर तीन बर्षभित्र कर्जा असुली भइसकेन भने संघहरुको हालत के हुन्छ । यसका लागि केही समाधान निकाल्नुपर्छ । त्यस हिसाबले बचत तथा ऋणको सम्पूर्ण कर्जा कारोबारलाई एकै ठाउँमा केन्द्रित गर्ने गरी सहकारी बैंकलाई जिम्मेवार बनाउने गरी सहकार्य गरौ भन्न खोजेको हो । बैंकको जनशक्ति सक्षम छन्, त्यही अनुसारको प्रविधि रहेको छ । त्यस कारण यो कामको अगुवाई सहकारी बैंकले गर्नुपर्छ र यसले अभियानलाई बिग्रनबाट जोगाउँछ भन्ने हो । विषयगत संघहरुले आफ्नो क्षमता अनुसारको काम गरुन् भन्ने हो । कसले के गर्ने भन्दा पनि कामको बाँडफाँड गर्न खोजिएको हो । यो विषयमा सहकारी बैंक र नेफ्स्कूनबिच विभिन्न चरणमा छलफल भयो । कानूनी व्यवस्थालाई पनि परिपालना गरौं र अहिलेको परस्थितिलाई पनि सहज ढंगले सेफल्यान्डिङ गरौं भन्ने उदेश्यका साथ सहकार्य गर्न खोजिएको हो ।

सहकारी बैंक बैकिङ्ग कारोबारमा लाग्ने र केन्द्रीय संघले आआफ्नो उद्देश्यमा काम गर्ने निकायको रुपमा लैजाउँ र सहकार्य गरौं भनेर हामीले संवाद सुरु गरेका हौं । यसमा हामीले के के विषयमा सहकार्य गर्न सक्छौं भनेर छलफल गरिराखेका छौं । वित्तीय कारोबार मर्ज भन्ने हुँदैन । सिफ्टिङ हुनसक्छ । अहिले नै धेरै कुरा भन्न सान्दर्भिक नहोला । संघहरुको बचत र कर्जा व्यवस्थापनको विषय के हुन्ने भन्ने छ । विभिन्न संघहरुले गर्दै आएको कारोबारलाई सहकारी बैंकमा जोड्नुपर्ने परिस्थिति आयो भने संघहरुले गरेको बचत र ऋणलाई बैंकमा सिफ्ट गर्नुपर्ने हुनसक्छ र त्यसको व्यवस्थापन बैंकले गर्नुपर्छ । यो काम प्रक्रिया निर्धारण गरेर प्रक्रिया अन्तर्गत जान्छ । छुट्टा छुट्टै आफ्नो पहिचान बोकेर बसेका दुई निकायबिच मर्ज हुन सक्दैन । एउटै ऐन अतर्गत दर्ता भएको भए पनि दुई निकायको भूमिका फरक भएकाले मर्जको सम्भावना छैन । विश्लेषण गरेर संघहरुको कारोबार भने सिफ्ट र मर्ज दुवै हुन सक्छ । आगामी दिनमा सम्बन्धित क्षेत्रको विज्ञको सरसल्लाह लिन्छौं । सम्बन्धित क्षेत्रका विज्ञले गरेको विश्लेषण र त्यसबाट आउन सक्ने परिणामलाई आधार बनाएर अघि बढ्छौं । संघहरुको कारोबारलाई सेफ ल्याण्डिङ्को नाममा बैंकलाई कमजोर हुन दिनुहुँदैन । दुबैको इन्ट्रेस्टलाई विन–विन हुने गरी काम गर्नुपर्छ । 

बैंकको आगामी योजना के छ ?

सहकारी बैंक विगतको भन्दा नयाँ संरचनामा आएको छ । विगतमा बैंकले अभियानको पनि काम गर्नुपर्छ र नेतृत्वदायी संरचना ठुलो चाहिन्छ भन्ने हिसाबले १५ सदस्यीय सञ्चालक समिति रहेको थियो । यसले बैंकको नेतृत्वको पहुँच केन्द्रदेखि प्रदेश र प्रदेशदेखि तल्लो तहसम्म पुग्थ्यो । अहिले राष्ट्र बैंक र सहकारी प्राधिकरणको निर्देशनअनुसार संरचना खुम्च्याएर निर्वाचित संख्या ७ र विषय विज्ञबाट आउने २ गरी ९ जनाामा सीमित गरेका छौं । विगतमा पनि सहकारी बैंकको अध्यक्ष कार्यकारी भूमिका रहने व्यवस्था थिएन । सञ्चालक समितिले पोलिसी निर्माण गरिदिने र कार्यान्वयन गर्ने काम व्यवस्थापनकै थियो । तर धेरै ठाउँमा बैंकको सञ्चालक समितिको टिमद्वारा सहजीकरण हुन सक्थ्यो । आज त्यो संख्या सानो भएका कारण बैंकले पोलिसी बनाउने कुरामा नै ध्यान दिन्छ र काम गर्दा आएका समस्या समाधान सघाउँछ । बैंकको व्यवसायिक सम्भाव्यताका क्षेत्रहरु के हुन सक्छन् भन्नेमा विषय विज्ञको रायको आधारमा फ्यूचर प्लान बनाउने काम हुन्छ । म्यानेजमेन्टलाई प्रोफेसनल काम गर्ने गरी वातावरण बनाउने र काममा उहाँहरुलाई बढी जिम्मेवारी बनाउनुपर्छ । त्यसको आन्तरिक अनुगमन गर्ने गरी लेखा सुपरीवेक्षण समिति छ । सञ्चालक समितिले अभिभावकीय भूमिका निर्वाह गर्छ । व्यवस्थापनलाई प्रोफेसनल बनाइ काममा सञ्चालक समितिको हस्तक्षेप नहुने वातावरण बनाएर अगाडि बढ्छौं । हाम्रो कार्यकालमा बनेको आधारलाई थप बलियो बनाएर सुशासनमा आधारित अब्बल  र दिगो रुपमा जान सक्ने सहकारी बैंक बनाउँछौं ।