काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद गरेको भन्दै थप २५ प्रतिशत कर लगाउने कार्यकारी आदेश जारी गरेसँगै भारत–अमेरिका व्यापार सम्बन्ध तनावपूर्ण बिन्दुमा पुगेको छ। यस निर्णयसँगै भारतीय वस्तुहरूमाथि अमेरिकामा लाग्ने कुल भन्सार शुल्क ५० प्रतिशत सम्म पुग्ने भएको छ।
ट्रम्प प्रशासनको भनाइ अनुसार यो नयाँ कर २१ दिनपछि लागू हुनेछ र त्यसपछि उपभोगका लागि आयात हुने वा गोदामबाट निकालिने सबै भारतीय वस्तुमा नयाँ कर दर लागु हुनेछ।
यो घोषणा ट्रम्पका विशेष दूत स्टिभ विट्कोफले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि आएको हो। युक्रेन युद्धबारे रुसलाई दिएको समयसीमा सकिनै लाग्दा गरिएको यो निर्णयलाई भूराजनीतिक दबाबको उपायको रूपमा हेरिएको छ।
भारतको प्रतिक्रियाः “अनुचित र दोहोरो मापदण्ड”
अमेरिकी कदमको कडा प्रतिवाद गर्दै भारतको विदेश मन्त्रालयले यसलाई ‘अनुचित र तर्कहीन’ भनेको छ। भारतले अमेरिकालाई उसले पनि रुससँग युरेनियम, मल, रसायन, र प्यालेडियमजस्ता वस्तु आयात गरिरहेको सम्झना दिलाएकाे छ।
भारतको वक्तव्यमा भनिएकाे छ "अमेरिका र युरोप आफैँले रुससँग व्यापार गरिरहेका छन्, तर भारतलाई मात्र निशाना बनाउनु दोहोरो मापदण्ड हो ।" भारतले थप स्पष्ट पारेको छ कि ऊ तेल नाफाका लागि होइन, आफ्ना जनताको ऊर्जा सुरक्षाका लागि खरिद गर्दै आएको हो।
राष्ट्रपति ट्रम्पले भारतले रुसबाट तेल किनेको र त्यसलाई तेस्रो देशलाई बेचेर नाफा कमाएको आरोप लगाएका छन्। यद्यपि उनले अमेरिकी व्यापार पनि रुससँग भइरहेछ भन्नेबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । “मलाई त्यसबारे केही थाहा छैन। मैले पत्ता लगाउनु पर्छ,” ट्रम्पले पत्रकारसँग भनेका थिए।
यो कर वृद्धिलाई धेरैले भूराजनीतिक दबाब र व्यापारिक रणनीति हुन सक्ने भनेका छन्। भारत, जसले रुससँग आफ्नो ऊर्जा सम्बन्ध कायम राख्दै आएको छ, अहिले पश्चिमी राष्ट्रहरूको निशानामा परेको छ। तर भारतको भनाइमा, ऊ आफ्ना रणनीतिक स्वार्थमा अडिग रहनेछ।
नेपालपत्र संवाददाता