आइतबार, कार्तिक ९ गते २०८३

३० प्रतिशत माथि बचत ऋणको कारोबार गर्ने सबै संस्था प्राधिकरणमा दर्ता हुुनुपर्छः अध्यक्ष शर्मा


श्रावण २०, २०८२ मंगलबार
३० प्रतिशत माथि बचत ऋणको कारोबार गर्ने सबै संस्था  प्राधिकरणमा दर्ता हुुनुपर्छः अध्यक्ष शर्मा

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले बचत तथा ऋणको मुख्य कारोबार गर्ने तीनै तहका सबै संस्थाहरु प्राधिकरणमा सूचिकृत वा दर्ता हुनुपर्ने बताएका छन् । उनले सहकारी ऐन २०७४ को दफा २ को ‘ज’ मा मुख्य कारोबारको विषय रहेको र ३० प्रतिशत भन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सबै संस्था प्राधिकरणमा दर्ता  हुनुपर्ने बताएका हुन् ।

उनले भने,‘३० प्रतिशत भन्दा बढी बचत ऋणको कारोबार गरिराखेका कृषि, बहुुउद्देश्यीय, दुग्ध, उपभोक्ता सबै प्रकृतिका संस्था प्राधिकरणमा दर्ता हुनुपर्छ। ‘सहकारी दर्ताका लागि सफट्वेयर निमार्ण कार्य अगाडि बढाएका छौं । सफ्टवेयर तयार भएपछि सातै प्रदेशमा दर्ताका लागि सन्देश प्रवाह गछौं ।’ राष्ट्रिय सहकारी बैंकले २३औं स्थापना दिवससको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्य कारोबारलाई फरक ढगले परिभाषित गर्ने हो भने ऐन संशोधन गर्न आवश्यक रहेको उनको भनाई छ । कस्ता र कुन प्रकृतिका संस्थालाईलाई प्राधिकरणले नियमन गर्ने भन्ने विषयमा अभियान र सरकारबीच छलफल गर्न आवश्यक रहेको समेत उनले बताए ।

सहकारी नियामकीय मापदण्डका केही विषयमा प्रश्न उठेको भन्दै अध्यक्ष शर्माले महासंघका बरिष्ठ उपाध्यक्षको संयोजकमा कार्यदल बनेको र कार्यदलले बुझाएको सुझावमा पनि छलफल गरेको जनाए । अभियानले उठाएका मागहरुलाई नियामकको आँखाबाट पनि हेर्न आवश्यक रहेको उनको भनाई छ । अभियान र नियामक दुवैको आँखाबाट हेरेर कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल अगाडि बढाएको उनले जनाए । अहिले बजारमा प्राधिकरण किन माग गरिएछ भन्ने कुरा बजारमा सुनिन थालेको भन्दै उनले प्राधिकरणले जारी गरेको मापदण्डका विषयमा पनि थुप्रै विषय उठेको जनाए । विगतमा सञ्चालन भए जसरी सहकारी क्षेत्र चल्न नसक्ने उनले  प्रष्ट पारे ।

सहकारी ऐनले तोकेको क्षेत्रधिकार भित्र रहेर प्राधिकरणले संस्थाहरुको नियमन गर्ने उनले प्रष्ट पारे । उनले थपे,‘ऐनले कल्पना गरे अनुसार काम भएन भने प्राधिकरणको औचित्य पुरा हुनेछैन। सहकारी संस्थालाई दण्ड वा कारवाही गरेर सुधार गर्ने हो भन्ने नबुझ्न आग्रह गर्दछु । यो क्षेत्रको प्रवर्धन र विकासको काम पनि गर्दै जाने हो ।’ ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन सहकारीले खेलेको भूमिकालाई बिर्सन नहुने अध्यक्ष शर्माले बताए । मुलुकमा रहेका ३२ हजार सहकारी मध्ये केही सहकारी संस्थाले गरेको गलत कार्यले यो क्षेत्रको बदनाम भएको  समेत उनले उल्लेख गरे । केही सहकारीका कारण यो क्षेत्रमा प्रकोप आएको भन्दै उनले राम्रो काम गरेका संस्थाहरुलाई समेत अप्ठ्यारो हुने प्रष्ट पारे । अहिलेको  समस्या समाधान गर्दै यो क्षेत्रलाई व्यवस्थित गर्न सबै पक्ष लाग्नुपर्नेमा उनको जोड छ ।