बुधबार, भाद्र ३ गते २०८३

माथि आराम गर्नेहरू तल मर्नेहरू


श्रावण १५, २०८२ बिहीबार
माथि आराम गर्नेहरू तल मर्नेहरू
इन्द्रनारायण सुबेदी
मान्छे बेच्न सकिन्छ मुख्य पदमा आफू पुगेका दिन
केही खर्च चुनावमा गर तिमी फिर्छन् सुनौला दिन
पाँचै वर्ष टिकोस् अकण्टक रही सङ्घीय त्यो संसद
मालामाल हुने छ उच्च तहको दायित्व बोक्ने पद ।१।
 
बाँचुन्जेल रहेर उच्च पदमा जो जो यहाँ मर्दछन्
पुस्ता सात गरेर दाइंँ तिनका सन्तान ती तर्दछन्
बन्छन् बन्न त संविधान अथवा कैयौँथरी कानुन
हुन् ती केवल दीनहीन जनता पेलेर धम्क्याउन ।२।
 
हुन्छन् कानुनमाथि उच्च तहका कुर्सी हुनेका पद
कात्रोभित्र लपेटिए पनि कुनै लाग्दैन सीमा हद
मुन्सी नोकर दास ऐँच वशमा राख्ने कला जान्दछ
यस्तै हो गणतन्त्र भन्छ जसले हुन् ती भला ठान्दछ ।३।
 
पाखा लाउँछ सत्य बोल्छ जसले मान्दैन बाङ्गा कुरा
देखाए पनि जेल हाल्छ उसका निर्वस्त्र नाङ्गा कुरा
भोगी ढोँग विलासमा सयलमा आराम गर्नेहरू
छन् माथि तल घोटिने कहरमा बाँचेर मर्नेहरू ।४।
===========================
शार्दूल विक्रीडितमा आजको कथन