आइतबार, कार्तिक ९ गते २०८३

बागमती प्रोस्कूनद्वारा श्री बज्रवाराही साकोस एकीकरण विधामा सम्मानित


श्रावण १४, २०८२ बुधबार
बागमती प्रोस्कूनद्वारा  श्री बज्रवाराही साकोस एकीकरण विधामा सम्मानित

मकवानपुरको थाहा नगरपालिका वडा न. ६ मा रहेको श्री बज्रवाराही  बचत तथा ऋण सहकारी संस्था सम्मानित हुने भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ(बागमती प्रोस्कून) ले ६ औं स्थापना दिवसको अवसरमा उक्त संस्थालाई सम्मानित गर्ने घोषणा गरेको हो । प्रोस्कूनले १४ वटा विधामा व्यक्ति तथा संस्थालाई सम्मान  र  पुरस्कार प्रदान गर्ने घोषणा गरेको हाे ।

जसमध्ये सहकारी संस्था एकीकरणतर्फ बज्रवाराहीलाई सम्मानित गर्ने भएको हो । उक्त संस्थाले थाहा न.पा. १० मा रहेको उत्पीडित बचत तथा ऋण सहकारी संस्थालाई एकीकरण गरेको थियो । प्रोस्कूनले घोषणा गरेको पुरस्कार तथा सम्मान आगामी साधारण सभामा प्रदान गरिने छ ।  गत असार मसान्तसम्म संस्थामा २ हजार ३८५ सदस्य आवद्ध रहेका छन् । त्यसैगरी संस्थाले १८  करोड बचत संकलन गरी २२ करोड ५० लाख ऋण लगानी गरेको छ । संस्थाको शेयर पुँजी २ करोड ९ लाख, जगेडा कोष १ करोड ६० लाख,अन्य कोष ८७ लाख र संस्थागत पुँजी १ करोड ७३ लाख रहेको छ ।  संस्थाको त्यस अबधिमा २७ करोड कुल सम्पत्ति पुगेको छ । संस्थाले मुख्य कार्यालय सहित विसिंखेल सदस्य सेवा केन्द्रबाट समेत सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

संस्थाका व्यवस्थापक रञ्जित अर्यालले  सुरुमा  सञ्चालक समितिबाट जनही पाँच हजार र  १९ जना संस्थापक सदस्यबाट २ हजारको दरले गरी कुल ८३ हजार रकमबाट संस्था सुरु गरेकोे बताए ।  संस्था सुरु गर्दा बज्रबाराहीमा वित्तीय कारोबार गर्ने कुनै पनि वित्तीय संस्था नभएको भन्दै उनले  बचत ऋणको कारोबार गर्ने समुदायको पहिलो संस्था  भएको उल्लेख गरे । संस्थाले सदस्यहरुलाई सहज रुपमा सेवा प्रदान गर्न मोबाइल बैकिङ्ग सञ्चालनमा ल्याएको र त्यस मार्फत बचत राख्न र झिक्न सकिने उनले जानकारी दिए । संस्थाले सदस्यहरुमा बचत गर्ने वानीको विकास गर्नुका साथै उद्यमशीलता विकासमा समेत सहयोग गर्दै आएको छ । थाहा नगरपालिका कृषि र पशुपालनका लागि पकेट क्षेत्र भएकाले संस्थामा आवद्ध सदस्यहरुले कृषि कर्म मार्फत् राम्रो आम्दानी गर्न सकेका छन् ।