आइतबार, कार्तिक ९ गते २०८३

सरकारसँग जोरी खोज्ने भन्दा पनि कनभिन्स गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष मल्ल


श्रावण १३, २०८२ मंगलबार
सरकारसँग जोरी खोज्ने भन्दा पनि कनभिन्स गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष मल्ल

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सरकारलाई दोष लाउने भन्दा पनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएकी छिन् । सरकारसँग जोरी खोज्ने भन्दा पनि कनभिन्स गरेर सहकारीमैत्री ऐन कानुन तथा संरचना ल्याउनु पर्ने उनको धारणा छ ।

बागमती प्रोस्कूनको ५ औं बार्षिकोत्वस तथा ६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उनलेसरकारलाई दोष लगाएर उसँग जोरी खोजेर कोही माथी नपुग्ने भन्दै उनले शाखा अधिकृतले चाहे भने ऐनलाई नै तलमाथि गर्न सक्ने बताइन् । अहिले सहकारी ऐनमा भएका केही व्यवस्थाहरु कार्यान्वयनमा आएको भन्दै उनले मन्त्रीसँग टियुनिङ मिलेका नै त्यो भएको  बताइन् । एकले अर्कालाई दोष लगाउने भन्दा पनि अभियान एकै ठाउँमा बसेर समस्या समाधानको लागि छलफल गर्न उनले आग्रह गरिन् ।  सहकारी ऐन नियममा टेकेर अभियान सञ्चालन हुँदाहुँदै पनि सरकारले हस्तक्षेप गरे खवदारी गर्न महासंघ सधै तयार रहेको उनको भनाई छ ।

संघ संस्थालाई सुशासनमा सञ्चालन गर्न आवश्यक रहेको भदै अध्यक्ष मल्लले महासंघले संघहरुमा गएर अनुगमन गर भनेर भनेको हो र भन्दै प्रश्न गरिन् । एक प्रतिशत सहकारीले गरेको गल्तीका कारण सरकार अभियानभित्र खोतल्न आएको उनको तर्क छ । सहकारीलाई स्वयतत्तामा मात्र छाड्न नहुने र  अनुगमनको दायरामा ल्याउनुपर्ने रहेछ भन्ने महशुश सरकारले नै गरेको उनको बुझाई छ । सरकारलाई कनभिन्स गरेकै कारण कर्जा असुली न्यायाधिकरण, सहकारी प्राधिकरण ,कर्जा सूचना केन्द्र जस्ता निकायहरु गठन भएको अध्यक्ष मल्लले बताइन् । एकले अर्कालाई दोषारोपण गर्ने भन्दा पनि हामी कहाँ चुक्यौ भनेर समिक्षा गर्न उनको आग्रह छ । 

समग्र सहकारी अभियानको नेतृत्व लिन महासंघ तयार रहेको उनले उल्लेख गरिन् । महासंघ सहकारी अभियानको नेतृत्व लिन सधै तयार बताउँदै उनले हरेक समस्याको समाधान एकद्धार प्रणालीबाट खोज्नुपर्ने बताइन् । उनले प्रश्न गरिन्‘ तपाईहरु एकद्धार प्रणालीबाट जानुभएको छ त ? सकेजति आफु गर्ने र नसकेपछि महासंघलाई गुहारने प्रवृति गलत हो । महासंघका वरिष्ठ उपाध्यक्षको संयोजकत्वमा सहकारी  प्राधिकरणद्वारा जारी निर्देशन तथा मापदण्ड संशोधनको लागि समिति गठन गरेको र राष्ट्र बैंक, मन्त्री, प्रधानमन्त्री तथा हरेक निकायका उच्च पदस्थलाई भेट्न आफु समेत गएको छु । महासंघले तपाईहरुलाई लिएर कहाँ गएको छैन् ? सबै कुरा लविङ गरेर मात्र आउछ भन्ने छैन । अहिलेको समस्यामा आउनुमा महासंघ दोषी होइन् ।’

‘हामीले संघसंस्थालाई सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गर्न सकेका छौै त भन्दै उनले थपिन,‘सहकारी ऐन नियममा बसेर संस्था सञ्चालन गरेको भए आजको अवस्था आउँर्दैन थियो । अभियानको तर्फबाट मम भन्न आवश्यक छ ।’  सहकारीको  विरुद्धमा अभियानभित्रबाट कसैले भूमिका खेलेको छ भने उसलाई समाजको अगाडि नग्याउन तयार हुनुपर्ने समेत सो अवसरमा उनले बताइन् । सहकारीमा एकता नहुँदा अभियान कमजोर भएर गएको उनले सुनाइन् । सहकारी कल्चरमा एकले अर्कालाई सम्मान गर्ने परिपाटी विश्वमा रहेको भन्दै अध्यक्ष मल्लले हामी कहाँ एकले अर्काको खुट्टा तान्ने प्रवृति  बढेर गएको  बताइन् ।  हालै  मात्र भारतको सहकारी भ्रमण गरेको जानकारी दिँदै उनले इफ्कोले उत्पादन गरेको मल विश्वको ७३ देशमा निर्यात हुने गरेको सुनाइन् । अमेरिका, अफ्रिका जस्ता देशमा भारतको प्रारम्भिक सहकारीले उत्पादन गरेको मल जाने गरेको र भारतमा पनि ठुलो हिंसा सहकारी रहेको उल्लेख गरिन् ।

भारत सरकारले सहकारीलाई निर्यातको अनुमति दिनुका साथै अर्गानिक र विउ उत्पादक सहकारीले राम्रो काम गरेको भन्दै नेपालमा पनि सहकारी मार्फत थुप्रै काम गर्न सकिने उनले जनाइन् । सहकारीलाई नियमन गर्न आवश्यक रहेको तर ७६१ तहबाट सहकारी अनुगमन गर्दा प्रभावकारी नहुने उनको तर्क छ । बचत ऋणको कारोबार गर्ने संघहरुलाई एकै चोटी घाटी न्याक्न नहुने र छलफल गरेर मात्र यो कुराको निर्णय गर्न उनको आग्रह छ । संघहरुले सहकारी ऐन २०४८ लाई टेकेर बचत ऋणको कारोबार गर्न थालेको भन्दै आजको भोली नै बचत ऋणको कारोबार गर्न पाउँदैनस् भन्नु अन्याय हुने उनको भनाई छ ।

संघहरुले गरेको कारोबारलाई सुरक्षित रुपले अवतरण गर्न वातावरण बनाउनुपर्ने भन्दै उनले संघहरुको लागि मात्रै छुट्टै मापदण्ड र निर्देशन बनाएर  भए पनि बचत ऋणको कारोबार गर्न दिन माग गरिन् । सहकारीहरु अनुशासन सञ्चालन भए अनुगमन गर्दा के समस्या आउँछ भन्दै उनले अनुगमनको विरोध गर्न नहुने जनाइन् । कानुन पालना गरेर संस्था सञ्चालन गरेको भए अनुगमनले  कुनै अप्ठ्यारो नपार्ने उनको भनाई छ ।