भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आ.व.२०८१।०८२ को वार्षिक समिक्षा सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा सहकारी क्षेत्रको वर्तमान अवस्थाको बारेमा समेत चर्चा भएको थियो । अध्यक्ष लाखाजुले सहकारीमा देखिएको विकृतीलाई नियन्त्रण गर्न नेपाल राष्ट बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी विभागले छुटाछुट्टै निर्देशन तथा मापदण्ड जारी गरेर मात्र नियमकीय दायित्व पूरा नहुने बताए ।
उनले नियमकीय निकायहरुले निर्देशन तथा मापदण्डमा एकरुपता ल्याई कार्यान्वयन तहमा ल्याउनु पर्नेमा जोड दिए । जारी निर्देशन तथा मापदण्डले अन्यौलता थप गर्ने भन्दा पनि स्पष्टता हुनुपर्नेमा त्यसो हुन नसक्दा सहकारी संस्थाहरु अन्यौलमा रहेको उनले बताए । निर्देशन तथा मापदण्डको व्याख्या गर्नुले सहकारीमा कार्यगत एकतामा समेत समस्या हुने भएकोले ऐनसंग भएका व्यवस्थालाई बढावा दिने गरी सहकारी मापदण्ड तथा निर्देशन जारी हुनुपर्नेमा उनको जोड छ । कार्यक्रममा स्वागत मन्तव्य दिदै संघका उपाध्यक्ष हरिकृष्ण बल्लले समीक्षा संघको मात्र गर्ने होइन संघको समिति, उपसमितिमा बसेर के योगदान गर्न सके सोको पनि समीक्षा गर्नुपर्ने बताए ।
संघका सचिव जगनाथ प्रजापतिले कार्यक्रम तथा तालिमको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघको उदेश्य प्राप्तीका लागि विभिन्न कार्यक्रम, गोष्ठी र तालिम गरेको जानकारी दिए । संघले बचत मात्र संकलन नगरी सहकारी अभियान अन्तर्गत बिभिन्न स्थानिय निकायसँग सहकार्य गरेको र अनुगमन तथा निरिक्षण कार्यलाई अगाडि बढाएको बताए । प्रविधिको युगमा संघले मोबाईल एप्सको विकास गरी सदस्य संस्थाहरुको रिपोटिङ र प्रशासनिक कार्यलाई टेवा पु¥याएको उनको भनाई छ ।
संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व. २०८१।०८२ मा असारमसान्तसम्ममा ३ अर्ब १९ करोडको वासलात बनाउन सफल भएको प्रतिवेदन पेश गरे । जुन गत वर्षको तुलनामा ९ प्रतिशतको कमी र अनुमानमा ८४ प्रतिशतले प्रगति हासिल भएको बताए । संघले यस बर्ष लेखा परिक्षण हुनुपूर्व ३ करोड १२ लाख बचत(नाफा) गर्न सकेको आय व्यय प्रतिवेदन समेत उनले प्रस्तुत गरेका थिए । संघका लेखा सुपरिक्षण संयोजक बालमुकुण्ड उपाध्यायले सहकारीमा बाहिरी प्रभाव धेरै भएकोले वित्तीय व्यवस्थापन गर्न सकस हुनुको साथै कानुनी बहस पैरवीमा निरन्तर लाग्नु पर्ने बताए ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संघले सदस्य र संघको हितमा ऐन, निर्देशन र मापदण्ड जारी गराउन, संशोधन गराउनमा खेलेको भुमिका विषयमा प्रस्तुतीकरण गर्दै ऐन कानुनसम्मत मापदण्ड तथा निर्देशनहरुको पालना गरी सहकारी संचालनमा नै सहकारीको दिगोपना रहेको बताए । उनले ऐनमा भएको व्यवस्थालाई संकुचित पार्ने गरी जारी निर्देशन र मापदण्ड समय अनुसार परिमार्जित हुने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा समिति, उपसमिति र कर्मचारी सहित ४० जनाको सहभागिता रहेको थियो ।
नेपालपत्र संवाददाता