आइतबार, कार्तिक ९ गते २०८३

समस्याग्रस्त पाँच सहकारी संस्थाका ऋणीले भदौभित्र ऋण तिरे ब्याज र हर्जना छुट पाउने


श्रावण ९, २०८२ शुक्रबार
समस्याग्रस्त पाँच सहकारी संस्थाका ऋणीले भदौभित्र ऋण तिरे ब्याज र हर्जना छुट पाउने


समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरुले तोकिएको समयमा ऋणको साँवा ब्याज भुक्तानी गरेकामा छुट पाउने भएका छन् । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सूचना जारी गर्दै  समस्याग्रस्त घोषणा भएका सहकारीका ऋणीहरुले आगामी भदौ ३१ गतेसम्म ऋणको साँवा ब्याज भुक्तानी गरेमा ब्याज र हर्जना छुट पाउने भएका हुन् ।

ती सहकारी संस्थाका ऋणी सदस्यहरुले संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा अघिल्लो दिनलाई आधार मानेर भाद्र मसान्तसम्म ऋणको साँवा ब्याज भुक्तानी गरेमा त्यसपछिको ब्याज र हर्जना नलाग्ने सूचनामा उल्लेख छ । भदौ मसान्तसम्म पनि ऋणको साँवा ब्याज भुक्तानी नगर्न आउने ऋणीहरुको हकमा साँवा, ब्याज र हर्जना रकम समेत गणना गरी ऋण असुली गर्ने कार्यालयले जनाएको छ । ऋणको साँवा ब्याज भुक्तानी गर्न चाहने सदस्यहरुले समितिको बैंक खातामा रकम जम्मा गर्न सक्नेछन् ।

हालसम्म बागमती प्रदेश कार्यक्षेत्र भएका ५ सहकारी संस्था समस्याग्रस्त घोषित भएका छन् । जसमध्ये सिभिल सहकारी २०८० भदौ २१ गते,दर्शन सहकारी २०८१ कातिक २१ गते र नेशनल नमोबुद्द, लालीगुँरास तथा सुमेरु सहकारी संस्था २०८१ पौष २८ गते समस्याग्रस्त घोषित भएका हुन् । ती सहकारी संस्थाका ऋणी सदस्यहरुलाई पटक पटक ऋण तिर्नको लागि सूचना तथा फोन मार्फत जानकारी गराउँदा समेत तिर्न नआएकाले यस पटक अन्तिम मौका दिएको र समयसीमा भित्र नतिरे कानुनी कारवाही समेत अगाडि बढाउने कार्यालयले जनाएको छ ।