विगतमा सहकारी संघ संस्थाहरुले कृत्रिम नाफा देखाएर सदस्यहरुलाई लाभांश वितरण गर्ने गरेपछि त्यसलाई रोक्न सहकारी विभागले कडा निर्देशन ल्याएको छ । विभागले हालै जारी गरेको १०२ बुँर्दे एकीकृत निर्देशन २०८२ ले लाभांश वितरणमा कडाई गरेको हो ।
सहकारी संघ संस्थाले लोन लष्ट प्रोभिजन नगरी कृत्रिम नाफा देखाएर लाभांश विरतण गरे संस्थाका सञ्चालक समिति र व्यवस्थापकबाट दामसाहीले असुल गरी जगेडा कोषमा जम्मा गरिने निर्देशनमा उल्लेख छ । सहकारी संघ संस्थाले प्रवाह गरेको ऋणलाई किस्ता÷ब्याज भुक्तानी अवधिका आधारमा सक्रिय ऋण र निष्क्रिय ऋणको रुपमा वर्गिकरण गरी ऋण नोक्सानी कोषको व्यवस्था गर्नुपर्ने छ । ३ महिनासम्म भाका ननाघेको वा भाका नाघी ३ महिना व्यतित नभएको र सदस्यहरुको बचतको सुरक्षणमा प्रवाह गरेको असल ऋणको लागि १ प्रतिशत,३ देखी ६ महिनासम्म भाका नाघेको कमसल ऋणको लागि २५ प्रतिशत,६ देखि १२ महिनासम्म भाका नाघेका शंकास्पद ऋणका लागि ५० प्रतिशत र १२ महिनाभन्दा बढी भाका नाघेको खराव ऋणको लागि १०० प्रतिशत ऋण हानी व्यवस्था (लोन लष्ट प्रोभिजन )को व्यवस्था गर्न विभागले भनेको छ । उल्लिखित व्यवस्था नगरी कृत्रिम रुपमा नाफा देखाई कुनै प्रकारको लाभांश वितरण गर्न नपाइने र वितरण गरेमा त्यस्तो रकम सञ्चालक समिति र व्यवस्थापकबाट असुल गरिने भएको छ ।
विगतमा कतिपय सहकारी संघ संस्थाहरुले लोन लष्ट प्रोभिजन नगरी लाभांश वितरण गरेको पाइएको छ । बजारमा अधिक सहकारी संस्था रहेका कारण अस्वस्र्थ प्रतिस्पर्धाका साथै एउटै व्यक्ति धेरै वटा संस्थामा सदस्य बन्ने परिपाटीका कारण सदस्यहरुलाई टिकाइ राख्न पनि संस्थाहरुले कृत्रिम नाफा देखाएर लाभांश विरतण गर्ने गरेको उदाहरण प्रशस्तै छन् । सहकारी ऐन २०७४ ले सहकारी संघ संस्थाहरुलाई १८ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था गरेको थियो । तर सरकारले केहि समय अगाडि प्रतिस्थापन विधेयक मार्फत् सहकारी ऐन संशोधन गरी सहकारी संघ संस्थाले १५ प्रतिशत मात्र लाभांश विरतण गर्नसक्ने कानुनी व्यवस्था गरेको छ । त्यसैगरी सहकारी संस्थाहरुले ३ लाख भन्दा बढीको ऋण लगानी गर्दा व्यक्तिगत सामुहिक धन जमानी वा धितो लिएर मात्र गर्नुपर्ने छ । सहकारी संस्थाहरुले ऋणको क्षेत्रगत वर्गीकरण गरी कुल ऋणको ५० प्रतिशत ऋण उत्पादन तथा आयमूलक क्षेत्रमा गर्नुपर्ने भएको छ ।
विगतमा जथाभावी ऋण लगानीका कारण समयमा असुली नहुँदा कतिपय सहकारी संस्था अहिले वित्तीय संकटबाट गुज्रिरहेका छन् । सहकारीले उत्पादनमूलक क्षेत्रलाई भन्दा पनि घर जग्गा, शेयर बजार र छिटो प्रतिफल दिने क्षेत्रमा लगानी गरेको कारण अहिलेको यो अवस्था आएको बताइन्छ । अर्कोतर्फ विश्व बजारमा आएको आर्थिक मन्दीका असर मुलुकको अर्थतन्त्रमा समेत पर्दा त्यसले ऋण असुलीमा थप समस्या सृजना गरेको छ । समस्या ऋणअ सुली नभएका कारण अधिकांश सहकारी संस्थाहरुको खराव कर्जा बढेर गएको छ । आर्थिक मन्दीले समयमा धितो विक्री नहुँदा संस्थाहरुको नाफामा समेत प्रभाव पारेको छ ।
नेपालपत्र संवाददाता