राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. खगराज शर्मालाई एक कार्यक्रमबीच शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।
महासंघकी अध्यक्ष ओमदेवी मल्लले डा. शर्मालाई सफल कार्यकालको शुभकामना दिँदै, सहकारी अभियानको मूल भावना, मूल्य–मान्यता र सिद्धान्तहरूलाई आत्मसात गर्दै नियमन प्रणालीलाई प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिन् । मल्लले प्राधिकरणका अध्यक्ष डा. शर्माबाट सहकारी क्षेत्रमा देखा परिरहेका विविध चुनौतीहरूको समाधानमा मार्गदर्शन र नेतृत्व प्रदान हुने विश्वास व्यक्त गरिन् ।
सो क्रममा डा. शर्माले सहकारी अभियानसँग समन्वय र संवादमा आधारित भएर राय–सुझाव लिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।उनले सहकारी संस्थाहरूमा शुशासन कायम गर्न अनसाइट (स्थलगत) तथा अफसाइट –अनलाईन प्राप्त प्रतिवेदनमार्फत) नियमन प्रणालीलाई सुदृढ गर्दै प्राधिकरणको काम प्रभावकारी बनाइने जानकारी दिए । उनले भने ‘नियमन मित्रवत् तर प्रभावकारी हुन्छ । संस्थाहरूलाई चल्न सक्ने वातावरण दिनुका साथै उत्तरदायी बनाउने हाम्रो मूल उद्देश्य हुनेछ ।’
बधाई तथा शुभकामना कार्यक्रममा महासंघका उपाध्यक्ष डिवी बस्नेत, सञ्चालक सदस्यहरू कोशीचन्द्र बराल, हरिहरनाथ योगी, सुमन नेपाल र महासंघका कायम मुकायम महाप्रबन्धक गोपीकृष्ण भण्डारीलगायत कर्मचारीहरुको उपस्थिति थियो । सरकारले हाल सहकारी क्षेत्रमा देखा परिरहेका संरचनागत समस्या, पारदर्शिताको कमी, तथा संस्थागत कमजोरीहरूको दीर्घकालीन समाधानका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना गरेको हो ।
नेपालपत्र संवाददाता