गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले मातहतका सहकारी संस्थाहरूका लागि निर्देशनहरू जारी गरेकाे छ । निर्देशनमा आफ्नो वा मानो नछुट्टिएको एकाघर परिवारको मञ्जुरीनामा लिएर बाहेक संस्थाहरूले आफ्ना सदस्यहरूलाई तेस्रो पक्ष धितो राखी ऋण प्रवाह गर्ने कार्य नगर्न नगराउन भनिएकाे छ। सहकारी संघ, सहकारी बैंकबाट सदस्यको धितो राखी ऋण लिँदा संस्था/संघले सदस्यलाई प्रवाह गरिएको ऋण रकम बराबरको मात्र ऋण लिई सदस्यलाई प्रवाह गर्न गराउन समेत निर्देशनमा उल्लेख छ ।
त्यसैगरी सदस्यको तिर्नसक्ने क्षमता, व्यावसायिक योजना, ऋण लगानीको उद्देश्य र प्रयोजन, ऋणी सदस्यको परियोजनामा स्वःपूँजी लगानीको अवस्था समेतलाई ध्यानमा राखी ऋण लगानी गर्न भनिएकाे छ ।
यस्ता छन् निर्देशनः
१. सहकारी मूल्य, मान्यता, सिद्धान्त आत्मसात गर्दै प्रचलित सहकारी कानुनको परिपालना गरी सहकारी संस्थालाई उत्कृष्ट व्यावसायिक संगठनको रूपमा स्थापित र सञ्चालित गराउनुहुन अनुरोध छ।
२. साधारणसभा गर्दा गणपुरक संख्या पुरा गरी सदस्यको सक्रिय सहभागिता कायम गर्दै तोकिएको समय सीमाभित्रै साधारणसभा सम्पन्न गर्ने।
३. ऋण तथा बाँकी बक्यौता असुलीलाई थप प्रभावकारी बनाई आफ्ना सदस्यहरूको बचत रकम सुरक्षित गर्ने।
४. परिस्थितिजन्य कारणले समस्यामा परी ऋण नियमित गर्न नसकेका ऋणीहरूलाई ऋण चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी माग, आवश्यकता र औचित्यसमेतको आधारमा गतवर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरूको हकमा मात्र ऋणमा पाकेको १० प्रतिशत व्याज भुक्तानी गरेमा बाँकी साँवालाई १ वर्ष अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिने। यसरी ऋण पुनर्तालिकीकरण गर्नुपर्ने स्पष्ट आधारहरू सम्बन्धित ऋणीका फाइलमा संलग्न हुनुपर्ने। पुनर्तालिकीकरणपश्चात् ऋण नोक्सानी व्यवस्थावाट Write back हुने अवस्था आएमा Write back गरिए बराबरको रकम सञ्चित मुनाफा खाताबाट खर्च गरी छुट्टै खातामा लेखाङ्कन गर्नुपर्ने। यसरी लेखाङ्कन गरिएको रकमवाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न नपाइने साथै पुनर्तालिकीकरण गरेवापत ऋणी सदस्यबाट कुनै प्रकारको शुल्क हर्जना लिन नपाइने। पुनर्तालिकीकरण गरिएका ऋणको किस्ता लगातार छ महिनासम्म नियमित भएपश्चात् त्यस्ता कर्जाको ऋण नोक्सानी व्यवस्थावाट Write back गरिएको रकम मात्र छुट्टाई सञ्चित मुनाफा खातामा लेखाङ्कन गर्न सकिने ।
५. आ.व.२०८१/८२ को व्याज २०८२ साल साउन १५ गतेभित्र भुक्तानी प्राप्त भएमा आ.व.२०८१/८२ को आयको रूपमा गणना गर्न सकिने।
६. एउटै व्यक्ति/फर्म/कम्पनीबाट लगातार दुईबर्षभन्दा बढी नहुने गरी आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र सहकारी संघ संस्थाको लेखापरीक्षण सम्पन्न गरी सोको जानकारी अनिवार्यरूपमा कार्यालयमा समेत पेश गर्ने। यथार्थ हिसाबकिताबका आधारमा लेखापरीक्षण गराउने ।
७. सहकारी संघ संस्थाहरूले आफूलाई तोकिएको कार्यक्षेत्रभित्र रही आफ्ना सदस्यहरूसँग मात्र बचत तथा ऋणको कारोवार गर्ने। सहकारीको वास्तविक अवस्थाको सम्प्रेषण गरी सदस्यको विश्वास आर्जन गर्ने। संस्थामा नियमित बचतलाई प्रोत्साहन गर्ने।
८. सहकारी संघ संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका सदस्य, कर्मचारी तथा शेयर सदस्यहरूलाई सहकारी शिक्षा, तालिम तथा सूचना प्रदान गर्दै वित्तीय साक्षरतामा जोड दिने।
९. सहकारी संघ संस्थाले स्वीकृत विनियममा उल्लिखित शेयर पूँजीभन्दा बढी शेयर रकम सङ्कलन नगर्ने, एकै सदस्यलाई संस्थाको तत्काल कायम रहेको प्राथमिक पूँजीकोषको अधिकतम १५ प्रतिशत भन्दा बढी हुने गरी ऋण प्रवाह नगर्ने, त्यसरी ऋण प्रवाह गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने।
१०. सहकारी ऐन तथा नियमावलीले तोके बमोजिमका कोषहरूमा रकमको बाँडफाँड गरी उद्देश्यअनुरूप सोको उपयोग गर्ने।
११. आफ्नो वा मानो नछुट्टिएको एकाघर परिवारको मञ्जुरीनामा लिएर बाहेक संस्थाहरूले आफ्ना सदस्यहरूलाई तेस्रो पक्ष धितो राखी ऋण प्रवाह गर्ने कार्य नगर्ने, नगराउने। सहकारी संघ, सहकारी बैंकबाट सदस्यको धितो राखी ऋण लिँदा संस्था/संघले सदस्यलाई प्रवाह गरिएको ऋण रकम बराबरको मात्र ऋण लिई सदस्यलाई प्रवाह गर्ने, गराउने।
१२. सदस्यको तिर्नसक्ने क्षमता तथा धितोको वास्तविक अवस्थाको मूल्याङ्कन विश्लेषण गर्दै व्यावसायिक योजना, ऋण लगानीको उद्देश्य र प्रयोजन, ऋणी सदस्यको परियोजनामा स्वःपूँजी लगानीको अवस्था समेतलाई मध्यनजर गरी सदस्य बनेको ३ महिना व्यतित भएपछि मात्र ऋण लगानी गर्ने।
१३. सहकारी संघ संस्थाहरूको खराव ऋण कुल ऋणको ५ प्रतिशत भन्दा कम कायम गर्ने, ऋण लगानीमा असल ऋण (भाखा ननाघेको वा ३ महिनासम्म भाखा नाघेको) मा १ प्रतिशत, कमसल ऋण (३ महिना देखि ६ महिनासम्म भाखा नाघेको) मा २५ प्रतिशत, शंकास्पद ऋण (६ महिना देखि १२ महिनासम्म भाखा नाघेको) मा ५० प्रतिशत र १२ महिनाभन्दा बढी भाखा नाघेको ऋणमा १०० प्रतिशत ऋण हानी व्यवस्था (Loan Loss Provision) गरेर मात्र लाभांश कोषवाट लाभांश रकम वितरण गर्ने।
१४. बचत तथा ऋणको कारोवार गर्दा ऋणको सन्दर्भ व्याजदर १६ प्रतिशत भन्दा बढी नहुने गरी तथा बचत र ऋणको औसत व्याजदर बीचको अन्तर (स्प्रेड दर) ५ प्रतिशत भन्दा बढी नहुने गरी कारोबार गर्ने।
१५. संस्थाको तरलता कम्तीमा १५ प्रतिशत रहने गरी वर्तमान अवस्थाको समेत ख्याल गरी तरलता व्यवस्थापन गर्ने।
१६. ब्याज रकमलाई साँवामा जोडी पूँजीकृत नगर्ने। नगद कारोबारलाई निरुत्साहित गर्दै बैङ्किङ कारोवारमा जोड दिने।
१७. सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा कुनै व्यक्ति एकैसमयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुनसक्नेछ भन्ने व्यवस्था रहेकोले सोको पूर्ण परिपालना गर्ने गराउने। यदि कुनै व्यक्ति एकभन्दा बढी संस्थाको सञ्चालक रहेको भए एउटा संस्थाको मात्र कायम राखी अन्यको हकमा पद त्याग गर्ने। कतिपय सहकारी संघ संस्थामा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका राष्ट्रसेवक कागद्वारी, शिक्षक, प्राध्यापक, जनप्रतिनिधि, बैंक वित्तीय संस्थामा कार्यरत कर्मचारी सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिसमेतमा रहेको पाइएको हुँदा प्रचलित कानुन विपरित त्यस्ता पदमा नबस्ने ।
१८. संघ संस्थाको आम्दानी, खर्च तथा कारोबारका सम्पूर्ण विवरणहरु यथार्थ देखिने गरी सहकारीको एप्लिकेशन सफ्टवेयरमा रीतपूर्वक प्रविष्टि गर्ने। Back up को भरपर्दो व्यवस्था गर्ने।
१९. गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ६० बमोजिमका चौमासिक तथा वार्षिक लगायतका विवरणहरू तोकिएको समयमै कार्यालयमा पठाउने। आफ्नो संघ संस्थाका विवरणहरू अनिवार्यरूपमा COPOMIS प्रणालीमा प्रविष्ट गर्ने।
२०. केही सहकारीहरूमा चोरीका घटना घटेको पाइएको हुँदा नगद मौज्दात कम रहने व्यवस्था गर्ने, भल्टको अनिवार्य विमा गर्ने, बलियो, सजिलै फोड्न र लैजान नसकिने प्रकृतिको भल्टको प्रयोग गर्ने, नाइट भिजन सिसि क्यामेरा र सुरक्षा गार्ड राख्ने लगायतका उचित सुरक्षा व्यवस्था मिलाउने।
२१. हालसम्म अद्यावधिक नभएका सहकारी संघ संस्थाहरूले तुरुन्त यस कार्यालयमा सम्पर्क गरी अद्यावधिक गर्ने।
नेपालपत्र संवाददाता