भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष डा.खगराज शर्मालाई सपथ गराएका छन् । उनले सपथ ग्रहण पछि नवनियुक्त अध्यक्ष शर्मालाई सहकारी क्षेत्रका बेथिति सुधार्ने गरी काम गर्न समेत निर्देशन दिएका छन् ।
विगत लामो समयदेखि सहकारी क्षेत्रका सरोकारवालाहरुले माग गदैं आएको सहकारी क्षेत्रलाई नियमन गर्ने दोस्रो तहको नियमक निकाय गठन भएकाले सहकारी क्षेत्रमा हाल देखिएका समस्याहरु समाधान हुने मन्त्री अधिकारीको विश्वास छ । उनले तीन तहकै सहकारीको नियमन, निर्देशन र निगरानी गर्ने काम प्राधिकरणको कार्यक्षेत्रभित्र रहेको उल्लेख गदैं समस्याग्रस्त सहकारीहरुको बचत फिर्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सो अवसरमा निर्देशन दिए ।
कर्जा असुली न्यायधिकरण, नियमन प्राधिकरणलगायतका हाल गठन भएका यस्ता संरचनाले सहकारीको मर्म र लक्षित उद्देश्य अनुसार काम गर्नुपर्ने उनको भनाई छ । मन्त्री अधिकारीले सपथग्रहण गराएसगैं अध्यक्ष डा. शर्माले सहकारी प्राधिकरणको कार्यभार सम्हालेका छन् ।
नेपालपत्र संवाददाता