कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजीमा ५.७८ प्रतिशतले कमी आएको छ । पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएका समस्याको कारणले सहकारी क्षेत्रप्रति लगानीकर्ताहरुको विश्वास समेत गुम्दै जानुलाई लिन सकिन्छ ।
नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्धवार्षिक प्रतिवेदन अनुसार संस्थाहरुको पुँजी घटेको हो । राष्ट्र बैंकको नमुना छनोटमा परेका सहकारीहरुको तथ्याङ्कले पुँजी घटेको देखाएको हो । अघिल्लो अवधिमा यस्तो पुँजी १४.२४ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म सहकारी संस्थाहरुको कुल बचत १६.३२ प्रतिशतले वृद्धि भएकोमा आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म १८.८१ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल ऋण प्रवाहमा ०.९९ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ । त्यसैगरी, समीक्षा अवधिमा सदस्य संख्या ९.५० प्रतिशतले वृद्धि भएको छ । त्यस अवधिमा सहकारी संस्थाले सिर्जना गरेको रोजगारीमा ५.७९ प्रतिशतले वृद्धि भएको छ ।
नेपालपत्र संवाददाता