शुक्रबार, कार्तिक ७ गते २०८३
#सहकारी प्राधिकरण #अध्यक्ष

सहकारी प्राधिकरणले पायो नयाँ अध्यक्ष, डा.शर्मा नियुक्त


आषाढ ३१, २०८२ मंगलबार
सहकारी प्राधिकरणले पायो नयाँ अध्यक्ष, डा.शर्मा  नियुक्त

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त भएका छन्। हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा डा. शर्मालाई नियुक्त गरेको हो। शर्मा तत्कालिन सहकारी विकास बोर्डका सदस्य सचिव थिए ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्षका लागि अर्जुनप्रसाद पोखरेल, नारायण पौडेल र डा.खगराज शर्माको नाम सिफारिस गरेको थियो । ३ जना मध्येबाट मन्त्रिपरिषद्को बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो । २०८१ पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मार्फत मुलुकमा संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थानको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको थियो। प्राधिकरण मार्फत् मुलुकभर रहेका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन तथा अनुगमन गरी यो क्षेत्रलाई व्यवथित बनाउने लक्ष्य सरकारको छ ।

विगतमा स्वःनियमनको भरमा मात्र सहकारी संस्थाहरु सञ्चालन हुँदा लाखौं सदस्यको अर्बौ बचत अपचलन भएको छ । सहकारीको बचतलाई सुरक्षित रुपमा परिचालन गरी सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सघाउनु सहकारीको उदेश्य हो । तर विगतमा गलत नियत भएका व्यक्तिहरुले सहकारीको बचतलाई आफु अनुकुल परिचालन गर्दा यो क्षेत्रप्रति  आम सदस्यको विश्वास गुमेको अवस्थामा प्राधिकरण मार्फत् नियमनलाई अगाडि बढाई यो क्षेत्रको विश्वास आर्जन हुने विश्वास गरिएको छ ।