शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी प्राधिकरणले जारी गरेको पछिल्लो निर्देशनले संघ संस्थालाई मार्ग प्रशस्त गरेको छ


आषाढ २६, २०८२ बिहीबार
सहकारी प्राधिकरणले  जारी गरेको पछिल्लो  निर्देशनले संघ संस्थालाई मार्ग प्रशस्त गरेको छ

संघीय सहकारी ऐन २०७४ को परिच्छेद १७ (क) को दफा १०३ (क) अनुसार स्थापीत राष्ट्रिय सहकारी नियमन प्राधिकरणले स्थापना पछिको छोटो अवधिमै मातहतका संघ संस्थाहरुलाई आ.ब. सकिन केही दिन बाँकी हुँदा निर्देशन जारी गर्नु भनेको आफ्नो काम, कर्तव्य र अधिकारलाई कार्यान्वयनमा लैजानु हो ।

यसले  आगामी दिनमा यस्ता आवश्यक निर्देशनहरु आवश्यक समयभित्रै आउने अपेक्षा गर्न सकिन्छ ।  यस्तो कार्यले सहकारी क्षेत्र पूर्ण सुव्यवस्थित भएर अगाडि बढ्छ, सहकारी संघ संस्थाहरुमा स्वनियमन थप प्रभावकारी ढंगबाट बृद्धि हुन्छ र आवद्ध शेयर सदस्यहरुको हितकै लागि मात्र अब सहकारी संघ संस्थाहरु स्थापना तथा दर्ता हुन्छन् । स्थापना तथा दर्ता भईसकेका सम्पूर्ण संघ संस्थाहरुमध्ये बाँकीले पनि आवद्ध शेयर सदस्यको हित केन्द्रीत हुन्छन् भन्ने लागेको छ । 

निर्देशनले शेयर सदस्य केन्द्रीत कारोवार गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्न, ऋण असुलीलाई प्रभावकारी बनाई नियमानुसार सदस्यसँग बचतको कारोवार गर्न, पहिला नियमित किस्ता तिर्ने असल ऋणी भई हाल किस्ता तिर्न केही असहज भएको भएमा निश्चित व्याज बुझाएमा एक बर्षको लागि पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था दिर्नेशनले गरेको छ ।यसरी पुनर्तालिकीकरण  गरिएको  ऋण एक तह माथिको ऋणमा वर्गीकरण गर्न, उक्त ऋणको ऋण सुरक्षण कोषलाई नियमानुसार आम्दानीमा गणना गर्न, यसरी आम्दानी बाँधीएको रकम शेयर लाभांश तथा बोनस बितरण नगर्न, आ.ब. २०८२/०८३ को श्रावण १५ सम्म आ.ब.२०८१/०८२ कै ब्याज आम्दानी भएमा आ.ब. २०८१/०८२ कै आम्दानी अभिलेख गर्न, बाह्य ऋण कुल सम्पत्तिको बढीमा ५ प्रतिशतसम्म मात्र लिन, लिलामबिक्री पछिको नोक्सानी व्यवस्थालाई पूँजी पर्याप्तताको गणनामा समावेस गर्न र थप कर्जा नोक्सानी व्यवस्था गर्न बाटो खोलीदिएको छ ।

निर्देशनमा आएका बुदाहरु के कस्ता छन् भनी ब्याख्या बिश्लेषण गर्नु भन्दा पनि गर्नसकिने भनी आएका बुदाहरुलाई संघ संस्थाको आवश्यकता छ भने कार्यान्वयन गर्ने र गर्नुपर्ने भनी आएका बुदाहरुलाई संघ संस्थाले अनिवार्य कार्यान्वयन गर्नुपर्नेछ । विगतमा सहकारी विभागले सहकारी क्षेत्रको लागि निर्देशन जारी गर्ने प्रथा बसालीदिएको हुँदा बर्तमान अवस्थामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई निर्देशन जारी गर्न मार्ग प्रशस्त  भएको देखिन्छ । आगामी दिनमा प्राधिकरणबाट सहकारी संघ संस्थाहरुलाई थप सुशासनमा सञ्चालन गर्नको लागि आवश्यक समयमा आवश्यकता अनुसार निर्देशनहरु आउँछ भन्ने कुरा आशा गर्न सकिन्छ ।

बर्तमान अवस्थामा सहकारी संघ संस्थाहरु जुन तरिकाले चलेका छन्, त्यसबाट प्राधिकरणको निर्देशन बमोजिम सञ्चालन हुनको लागि प्राधिकरणको आगामी निर्देशनहरुमा बिषय शिर्षक अनुसार उचित र आवश्यक समयावधि प्रदान गरेर निर्देशन आउनेछ भन्ने अपेक्षा सहकारी अभियानको  छ ।  प्राधिकरणले पनि सुधार गर्नेनै बाटो अवलम्बन गर्ने उद्देश्य लिएको हुनाले सोही बमोजिम आउनेमा सहकारी अभियान आशावादी छ  ।

ईश्वर न्यौपाने प्रमुख कार्यकारी अधिकृत, मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि.