आइतबार, आश्विन १८ गते २०८३

सहकारीका लागि सञ्चालनमा आयो कर्जा असुली न्यायाधिकरण, मन्त्री अधिकारीद्वारा कार्यालयको उद्घाटन


आषाढ २५, २०८२ बुधबार
सहकारीका लागि सञ्चालनमा आयो कर्जा असुली न्यायाधिकरण, मन्त्री अधिकारीद्वारा कार्यालयको उद्घाटन


 सहकारी क्षेत्रको लागि गठन गरिएको कर्जा असुली न्यायाधिकरण आजबाट सञ्चालनमा आएको छ । एक कार्यक्रमका बिच न्यायाधिकरणका अध्यक्ष र सदस्यहरुको सपथ ग्रहणसँगै कार्यालय समेत उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कर्जा असुली न्यायाधिकरणको कार्यालय उद्घाटन गरेका हुन् । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, बानेश्वरमा न्यायाधिकरणको कार्यालय स्थापना गरिएको छ । कार्यालयको उद्घाटन गर्दै मन्त्री अधिकारीले मन्त्रालय र सहकारी विभाग लगायत सबै निकायले न्यायाधिकरणलाई सहयोग गरी छिटो छरितो काम सम्पन्न गर्न सहयोग गर्न आग्रह गरे ।

उनले न्यायाधिकरण गठन भइसकेकाले छिट्टै कामको थालनी गर्ने विश्वास व्यक्त गरे । मन्त्री अधिकारीले अहिले गठन भएको न्यायाधिकरणले  सहकारी क्षेत्रको ऋण असुलीमा सहजीकरण गरी सदस्यको बचत फिर्ता पाउने वातावरण बन्ने समेत बताए । त्यसैगरी सोही मन्त्रालयका सचिव केदारनाथ शर्माले सहकारीहरुले भोगी रहेको ऋण असुलीको समस्यालाई मध्यनजर गरी न्यायाधिकरण गठन गरेको बताए । उनले न्यायाधिकरणसँग राािष्ट्रय सहकारी महासंघ, नेफ्स्कून, बागमती प्रोस्कून, जिल्ला तथा विषयगत संघहरुले आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरे ।

518288685_122130333842834916_8601537018228080559_n.jpg

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले न्यायाधिकरणको गठनसँगै सहकारी क्षेत्रले भोग्दै  आएको ऋण असुलीको  समस्या समाधन हुने बताइन् । उनले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्ने तर सहकारी संस्थाको ऋण तिर्नु पर्दैन भन्ने मानासिकता बढेर गएको अवस्था यसको गठनले  संघ संस्थाहरुलाई ठुलो राहत पुग्ने बताइन् । सदस्यले बचत फिर्ता माग्ने तर ऋणी सदस्यबाट समयमा  ऋण असुली नहुँदा राम्रोसँग सञ्चालन भइराखेका संस्थाहरुलाई समेत समस्या भइराखेको अवस्थामा सरकारले न्यायाधिकरण गठन गर्नु सकरात्मक भएको बताइन् । अध्यक्ष मल्लले आफुले विगत १६ बर्षदेखि महासंघमा रहेर सहकारीका लागि ऋण असुली न्यायाधिकरण, सहकारी प्राधिकरण, कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोषको गठनका लागि निरन्तर लविङ्ग गर्दै आएको  र अहिले आएर सरकारले त्यसको कार्यान्यन गरेकोमा खुशी व्यक्त गरिन् । उनले अभियानको तर्फबाट सरकारलाई ऐन नियम कार्यान्यनमा सहयोग गर्ने सो अवसरमा प्रतिवद्धता व्यक्त गरिन् ।

त्यसैगरी नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले अभियानले मागेका एकपछि अर्को संरचना गठन गर्नु राम्रो पक्ष भएको बताए । उनले न्याायाधिकरणको गठनले सहकारी क्षेत्रमा ऋण असुलीको विधमान समस्या समाधान गर्न टेवा  पुग्ने जनाए । सरकार र अभियान मिलेर यो क्षेत्रको समस्या समाधान गर्दै सदस्यको बचतको सुरक्षाको लागि काम गर्ने उनको भनाई छ । वित्तीय पारदर्शिता कायम गर्दै सदस्यहरुको आर्थिक सामाजिक उन्नतिको लागि सहकारीले काम गर्नु पर्ने अध्यक्ष ढकालले बताए । उनले न्यायाधिकरण मार्फत ऋण असुली गरी पीडितको बचत फिर्ता गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे ।

517023782_122130330770834916_5912641440635359067_n.jpg

नेपाल सरकारले असार १३ गते कर्जा असुली न्यायाधिकरण गठन गरेको थियो । न्यायाधिकरणको अध्यक्षमा कीर्तिबहादुर बस्नेत, सदस्यहरुमा वसन्त पराजुली र गोविन्द शर्मा गैरैलाई नियुक्त गरेको थियो । न्यायाधिकरणले सहकारी संस्थाको कर्जा असुली सम्बन्धी मुद्दाको सुरु कारबाही तथा किनारा गर्ने लगाउने छ । सहकारी संस्थाले आफुले असुलउपर गर्नुपर्ने रकम असुलउपर गर्न नसकेको खण्डमा असुलउपर गराई  पाउन न्याायाधिकरण समक्ष उजुरी दिनुपर्ने छ । सहकारी क्षेत्रको लागि यो पहिलो न्याायाधिकरण रहेको छ । 

518157762_122130334082834916_1337823029592389557_n.jpg