नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी ऐन २०७४ पालनामा कहाँ चुकियो भनेर अभियानले समिक्षा गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सहकारी अभियानले ऐनको परिपालना कति गर्न सक्र्यौ भन्ने मुख्य प्रश्न अहिलेको रहेको बताए ।
उनले सहकारी ऐन २०४८ लाई विस्थापित गरी नयाँ सहकारी ऐन ल्याइएको भए पनि त्यसको पालनामा अभियान कहाँ चुक्यो भनेर हेर्ने बेला आएको उनको भनाई छ । अध्यक्ष ढकालले भने,‘ हामीले आत्मसाथ गर्नुपर्छ, सहकारी ऐन, २०७४ को पालनामा कहाँ चुक्यौं ? यसको प्रभाव आज हामीले के भोगिरहेका छौं ? ऐन पालनामा कोहीकतै चुकेका कारण यो क्षेत्रले आजको समस्या भोग्नु परेको हो ।’ ऐनको पालना अभियानले गर्नुपर्ने भन्दै उनले त्यसले अप्ठ्यारो पार्यो भने न्याय खोज्न सम्बन्धित निकाय जाने बताए । सहकारी ऐन २०७४ राम्रो भए पनि त्यसलाई हाम्रो ऐन बनाएर जाने कुरामा हामी कहाँ कहाँ चुक्यौ, ति विषयलाई आत्मसात गरेर बढ्नुपर्नेमा उनको जोड छ । हामीलाई जिम्मेवारीमा पठाउनेहरुको आत्मसम्मानमा आँच आउने काम गरेर अपमान गर्ने छुट कानुनले नदिएरहको र कानुनको उलंघन गरियो भनेर आफूलाई बहादुरी ठान्ने मात्र हुने उनको तर्क छ ।
आफु पद्धतिमा बसेर अरुलाई पनि पद्धतिमा हिँड्न सिकाएनौ भने व्यवहारमा परिणाम ल्याउन नसकिने उनको भनाई छ । नेतृत्वमा रहेकाहरुले अभियानलाई सुद्धढ बनाउन के गर्ने भन्ने प्रतिवद्धता अहिलेको आवश्यकता रहेको उनले जनाए । उनले थपे,‘ सधै सबै नेतृत्वमा रहँदैन,नेतृत्वमा रहेको बेला अभियानको दिगोपनाको लागि काम गर्ने हो । हामीले नेतृत्वमा रहेर काम गर्दा अरुले हेरिराखेका हुन्छन् । हामीले गरेको नेतृत्व कस्तो छ , समाजले हाम्रो नेतृत्वलाई स्वीकार गरेको छ कि छैन भन्ने विषय महत्वपूर्ण हुन आउछ । पदमा रहँदा हामीले त्यसको न्याय हुने गरी काम गर्नुपर्छ । ’
सहकारी प्राधिकरण गठन भएपछि त्यसको राम्रो पक्षको बारेमा अभियानले प्रचार गर्न नसकेको भन्दै अध्यक्ष ढकालले प्राधिकरण सहकारी संस्थाको संरक्षणको लागि आएको बताए । प्राधिकरणको गठन, ऋण असुली न्यायाधिकरणको स्थापना र अन्य निकाय बन्ने क्रममा रहेको भन्दै उनले ऐन पालना गरेर जानुको विकल्प नभएको प्रष्ट पारे । सहकारी दिवस मनाइ रहँदा सहकारी अभियानको प्रवर्द्धन र विकासमा केही प्रतिबद्धताहरु पनि व्यक्त गरेर जानुपर्ने उनको भनाई छ ।
नेपालपत्र संवाददाता