आइतबार, आश्विन १८ गते २०८३

नेपालमा पनि मनाइयो १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस


आषाढ २१, २०८२ शनिबार
नेपालमा पनि मनाइयो १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा  आज शनिबार १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । “सहकारीः सुन्दर विश्व निर्माणमा समावेशी र दिगो समाधानतर्फको यात्रा“ भन्ने नाराका साथ सहकारी दिवस मनाइएको हो ।

 राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सहकारी मन्त्री बलराम अधिकारी रहेका थिए । उनले प्रतिस्थापन विधेयक मार्फत ल्याइएको ऐनमा राष्ट्र बैंकले सहकारीको नियमन गर्ने कुरा आएको भन्दै अहिले राष्ट्र बैंकलाई दोष दिन नमिल्ने बताए । सहकारीले उदेश्य र नीति अनुसार काम गरे वा नगरेको भन्ने कुरामा आफै समिक्षा गर्न उनको आग्रह छ । सहकारीमा आएको बचतको स्रोत के हो भन्ने कुराको ख्याल गर्नु पर्ने भन्दै सदस्यले ल्याएको जति पनि बचतलाई स्वीकार गर्नु गलत हुने उनले बताए । मन्त्री अधिकारीले सहकारीले विना धितो एउटै सदस्यलाई करोडौं ऋण् लगानी गरेको भन्दै यो उदेश्य विपरित भएको जनाए । सहकारी क्षेत्रमा समस्या आउनुमा कमजोरी सबै पक्ष भएको भन्दै अब सच्चिने बेला आएको उनले बताए । अभियानकै मागमा सहकारी प्राधिकरण गठन भएको भन्दै उनले प्राधिकरणले काम गर्न सुरु नगर्दै खवदारी  हुन थालेको जनाए ।

विग्रिएको कुरालाई नियन्त्रणभित्र नल्याई सुधार नहुने भन्दै उनले स्वनियमनमा चल्ने संस्थाले पद्धतिलाई तोडेको जनाए । सहकारीलाई ठिक ठाउँमा ल्याउन केहि समय नियन्त्रण, त्यसपछि सन्तुलन र स्वतन्त्रता प्रदान गर्ने उनले प्रष्ट पारे । मन्त्री अधिकारीले सहकारीमैत्री ऐन संशोधनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै यसका लागि सहकार्य र एकताको आवश्यकता औंल्याए । सहकारी अर्थतन्त्रको मेरुदण्ड भएको र ग्रामिण जनताको नजिकको वित्तीय सेवा दिने निकाय नै सहकारी भएको उनको भनाई छ ।  नेकपा माओवादी केन्द्रका सहकारी विभाग प्रमुख लिलामणी पौडेलले सहकारी आन्दोलनमा संकट आएको बताए । उनले नवउदारवादी अर्थतन्त्रमा सहकारी नफष्टाउने भन्दै उनले सहकारी बचाउन,अर्थतन्त्रलाई बलियो बलाउन र गरिवी घटाउन देशभरका सहकारी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । सहकारीमा समस्या आउनुमा कमजोर नियामक,सहकारीका सञ्चालक र व्यवस्थापकका साथै ऋणी मुख्य भएको उनले बताए । सहकारीमा गरेको बचत डुब्न थालेपछि सरकारले समयमा नै हस्तक्षेप गरेको भए अहिलेको अवस्था नआउने उनको भनाई छ । राम्रो गर्नेलाई प्रोत्साहन, खराव गर्नेलाई कानुनी कारवाही र अप्ठ्यारामा परेकालाई रेस्क्यु गर्ने नीति सरकारले लिनुपर्ने उनको जोड छ । 

त्यसैगरी नेकपा एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारीले बचत ऋणको कारोबार गर्ने सहकारी माथि बक्रदृष्टि लगाएको बताए । उनले सहकारीमा बचतको सीमा लगाउनु गलत भएको भन्दै यसले सहकारीलाई नियन्त्रण गर्ने उल्लेख गरे । सहकारी मार्फत् उत्पादित कृषि तथा दुग्धजन्य वस्तुलाई विश्व बजारमा लैजान नीतिगत तथा कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा मन्त्रालयका सचिव केदारनाथ शर्मा, महासंघका सल्लाहकारहरू केशव बडाल, दिपकप्रकाश बाँस्कोटा, डा. उषा झा,नेफस्कूनका अध्यक्ष चन्द प्रसाद  ढकाल, हेफर इन्टरनेशनलका कन्ट्री डाइरेक्टर डा. तिर्थराज रेग्मीले मन्तव्य राखेका थिए ।

महासंघकी अध्यक्ष ओमदेवी मल्लले विविध कार्यक्रमका साथ विश्वभर  अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको बताइन् । उनले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीले खेलेको भूकिाको प्रशंसा गर्दै सयुक्त राष्ट्रसंघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी बर्ष घोषणा गरेको बताइन् । विश्वमा सहकारी मार्फत् उत्पादन र सेवाको क्षेत्रमा उल्लेख काम भएको भन्दै उनले नेपालमा भने ऐन बनाउने र कार्यान्वयनको लागि पहल गर्दैमा समय जाने बताइन् । सहकारी बैंक मार्फत सहकारीका लागि अनुदान र सहुलियत ऋण उपलब्ध गराउन उनले माग गरिन् । दिगो र समावेशी समाज निर्माणमा सहकारीले काम गर्न सक्ने भन्दै त्यसलाई उजागर गर्न यस बर्षको नारा तयार भएको अध्यक्ष मल्लको भनाई छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ र हेफर इन्टरनेशनलले तयार पारेको सहकारी सम्बन्धी अध्ययन रिपोर्ट सार्वजनिक गरिएको थियो । सहकारी क्षेत्रका महिला नेतृत्वकर्ताहरू निर्मला दंगाल, दिलमाया सारु र निलम विकले आफ्नो संघर्षका कथा प्रस्तुत गरेका थिए । सो अवसरमा  सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले मुख्य कार्यपत्र प्रस्तुत गरेका थिए ।