आइतबार, कार्तिक ९ गते २०८३
#१०३औं_अन्तर्राष्ट्रिय_सहकारी_दिवस #अन्तर्राष्ट्रिय_सहकारी_वर्ष_२०२५

‘समावेशी र दिगो समाधानका संवाहक’ बन्न सक्छन् सहकारी


आषाढ २०, २०८२ शुक्रबार
‘समावेशी र दिगो समाधानका संवाहक’ बन्न सक्छन् सहकारी

 

हरेक वर्ष मनाईँदै आएको अन्तर्राष्ट्रिय सहकारी दिवस यो वर्ष पनि विश्वभर मनाईंदै छ। ‘सहकारीहरूः एक राम्रो विश्वको निर्माणका लागि समावेशी र दिगो समाधानका संवाहक’ भन्ने थिमका साथ जुलाइको पहिलो शनिबार १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो । सन् १८९५  मा अन्तर्राष्ट्रिय सहकारी महासंङ्घ स्थापना भएको हो ।

अन्तर्राष्ट्रिय सहकारी महासंङ्घ स्थापना भएपछि सन् पहिलोपटक १९२३ मा अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको थियो । सन् १९९५ मा  संयुक्त राष्ट्रसंघले सहकारी दिवसलाई अन्तर्राष्ट्रिय मान्यता दिएसँगै यसको गरिमा विश्वभर वृद्धि भयो । सन् २०१२ मा पहिलो पटक ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष’ घोषणा गरेकामा संयुक्त राष्ट्रसंघले २०२५ मा  दोस्रोपटक अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेका कारणले पनि यस वर्षको दिवस विशेष मानिएको छ । 

सन् २०२५ को सहकारी दिवसको नारा विश्वव्यापी चुनौतीहरूः जलवायु संकट, असमानता, आर्थिक असुरक्षा लैंगिक विभेद लगायत विश्वले भोगिरहेका समस्यासँग जुध्न सहकारीहरूको क्षमता वृद्धि गर्दै लैजानुपर्ने जस्ता विषयमा केन्द्रीत छ । यस वर्षको नाराले समावेशिता र दिगोपनालाइ विशेष रूपमा उठान गरेको छ । 

सहकारीले कसैलाइ भेदभाव गर्दैन, यो सबैका लागि खुला हुन्छ, सामाजिक–आर्थिक पृष्ठभूमि वा पुँजी लगानी क्षमताको अधारमा विभेद नगरी सबैलाइ समान अवसर प्रदान गर्छ भनिएकाे छ ।  त्यसैगरी सहकारीहरूले मुनाफामा मात्रै नभइ मानवजगतलाई नै केन्द्रमा राखेर ऊर्जा, कृषि, उत्पादनमा दिगो अभ्यासलाई प्रवर्धन गर्ने गर्छन् भन्ने मान्यता छ । यसलाइ थप उजागर गर्न आइसिएले यो वर्षको नारा तय गरेको छ । 

त्यसैगरी  सहकारीहरूले एसडीजी लक्ष्यहरू (स्वास्थ्य, लैङ्गिक समानता, रोजगारी, समुन्द्री जीवन र साझेदारी) सँग मिल्दो व्यवहारिक र मानवीय समाधान दिन्छन् र सहभागितामूलक र मूल्य–आधारित विकास मोडलले लोकतन्त्र, सहकार्य र एकतालाई बलियो बनाउँछन् भन्ने मान्यता रहेको छ ।

सहकारीहरूले जलवायु संकट, आर्थिक असमानता, र सामाजिक चुनौतीहरूसँग जुध्न जनकेंद्रित, दिगो र न्यायपूर्ण समाधान ल्याइरहेका छन्। यो दिवसले सहकारी आन्दोलनको सामूहिक शक्ति र योगदानलाई विश्वभर फैलाउने अवसर दिन्छ । सहकारीहरूले मानिस–केन्द्रित र प्रमाण–आधारित समाधान प्रदान गर्ने क्षमतामा जोड दिन्छ। यसले सामाजिक विकासका लागि दोस्रो विश्व सम्मेलन  र संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्चसँग पनि समन्वय गर्दछ, जसले स्वास्थ्य, लैंगिक समानता, मर्यादित रोजगारी, समुद्री जीवन र दीगो विकास लक्ष्यहरूको प्रगति मूल्यांकन गर्नेछ। सहकारीहरूले कृषि, वित्त, आवास, स्वास्थ्य, ऊर्जा, शिक्षालगायत विविध क्षेत्रमा सामाजिक न्याय, आर्थिक लोकतन्त्र र दिगोपनालाई प्रवर्धन गर्दै आएका छन्।

आईसीए महासचिव जेरोएन डग्लसका अनुसार, सहकारी मोडलले विश्वव्यापी रूपमा मूल्य–आधारित र प्रभावकारी समाधान प्रदान गरिरहेको छ र कोप डे–२०२५ त्यो सामूहिक शक्ति र प्रतिबद्धतालाई उजागर गर्ने अवसर भएको बताएका छन् । 

यस्तो छ सहकारीको तथ्यांक

हाल विश्वका १२ प्रतिशत भन्दा बढी मानिसहरू कुनै न कुनै सहकारी संस्था सदस्य रहेका छन् । यसको अर्थ संसारभर करिब ८ अर्ब मानिसहरूमध्ये १ अर्बभन्दा बढी मानिस बचत ऋण, कृषि, उपभोग, आवास, बीमा वा अन्य सहकारीसँग प्रत्यक्ष जोडिएका छन्। विश्वका ३ सय सबैभन्दा ठूला सहकारी वा म्युचुअल संस्थाहरूले २,४०९.४१ अर्ब अमेरिकी डलर बराबरको कारोबार गरेका छन् ।

यी ठूला सहकारीहरूले समाजलाई चाहिने सेवा, सामग्री, पूर्वाधार र रोजगारी प्रदान गरिरहेका छन्। सहकारीहरू सामाजिक संस्था मात्र होइनन्, ठूला आर्थिक शक्ति पनि हुन्। सहकारीहरूले विश्वभर २८ करोड मानिसलाई रोजगारी वा कामको अवसर दिएका छन्, जुन विश्वको कुल रोजगारीको १० प्रतिशत हुन आउँछ । 

अन्तर्राष्ट्रिय सहकारी दिवस केवल उत्सव मात्र होइन, यो सहकारीको शक्ति, दर्शन र सामाजिक प्रतिबद्धतालाई विश्वसामु उजागर गर्ने क्षणका रूपमा लिइने गरिन्छ।