बुधबार, भाद्र ३ गते २०८३

संघहरूका लागि निश्चित मापदण्ड बनाएर वित्तीय कारोबार गर्न दिनुपर्छः अध्यक्ष मल्ल

आषाढ १८, २०८२ बुधबार
संघहरूका लागि निश्चित मापदण्ड बनाएर वित्तीय कारोबार गर्न दिनुपर्छः अध्यक्ष मल्ल


तपाई राष्ट्रिय सहकारी महासंघको अध्यक्ष बन्दै गर्दा सहकारी क्षेत्र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको थियो, अहिलेको अवस्था के छ ?

म अध्यक्षमा निर्वाचित भएपछि अभियान र सदस्य बचाउन धेरै काम गरेका छौं जस्तो लाग्छ । वर्तमान सहकारी मन्त्री बलराम अधिकारीले सडकमा आन्दोलनरत सहकारी पीडितसँग वार्ता गरेर समस्या समाधानको लागि पहल गर्नुभयो । सरकारले सहकारी पीडितको बचत फिर्ता गर्नको लागि सहकारी अध्यादेश नै ल्यायो । विगतमा समस्याग्रस्त घोषणा भएका सहकारी संस्थालाई छुट्टाछ्ट्टै हेर्ने व्यवस्था थिएन । अहिले जति वटा संस्था समस्यामा परेका छन्, त्यति नै विज्ञ टोली बनाएर समस्या समाधान गर्दै जाने व्यवस्था अध्यादेशमार्फत् आएको छ । यसले गर्दा बचतकर्ताले समयमा बचत फिर्ता पाउने वातावरण बन्छ भन्ने मलाई लाग्छ । अहिले पनि धेरै सहकारी संस्थाका अध्यक्षहरु जेलमा हुनुहुन्छ, जेलमा राखेर मात्रै समस्या समाधान हुँदैन । अहिलेको अध्यादेशमार्फत् आएको प्रतिस्थापन ऐनमा सहकारी पीडित र सञ्चालकहरुबीच समझदारीमा काम गर्न सकिने व्यवस्था छ । म अध्यक्ष भएर आएसँगै सरकारसँग पोलिसी डाइलग गर्‍यौं । गत वर्षको बजेटमा पनि सहकारी पीडितलाई ५ लाखसम्मको बचत फिर्ता गर्ने कुरा आएको थियो तर त्यो हुन सकेन । यस बर्षको बजेटमा पनि सहकारीका बचतकर्तालाई बचत फिर्ता दिने कुरा आएको छ र त्यसका लागि सरकारले चक्रिय कोष खडा गर्ने भनेको छ । महासंघको पहलमा सदस्यहरुको हितको लागि सरकारको तर्फबाट केहि प्रक्रिया अगाडि बढेका छन् । 

मुलुक संघियतामा गएसँगै सहकारीलाई तीनै तहको सरकार मातहत लगियो र सहकारीको नियमन तथा अनुगमनको कार्य धेरै वटा निकायबाट हुन थाल्यो । अहिले ७६१ तहबाट सहकारीको नियमन तथा अनुगमन हुने गरेको छ । स्थानीय तहबाट सहकारी दर्ता भएपनि हामीले सहकारीलाई संघिय तहबाट मात्रै नियमन तथा अनुगमन गर्न भनिराखेका छौं । त्यसैगरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको लागि राष्ट्र बैंकले निर्देशन तथा मापदण्ड जारी गर्न सक्ने व्यवस्था भयो र सोही अनुरुप राष्ट्र बैंकले तत्कालिन गभर्नर महाप्रसाद अधिकारी हुँदै निर्देशन तथा मापदण्ड जारी गर्‍यो । यसले सहकारी क्षेत्रमा एउटा तरङ्ग नै ल्यायो । संघहरुले बचत ऋणको कारोबार गर्न नपाउने र संघहरुमा राखेको पैसालाई तरलतामा गणना गर्न नपाइने व्यवस्था मापदण्डले गर्‍यो ।

सहकारी क्षेत्रका लागि मापदण्डमा थुप्रै विषयवस्तु आएका छन् । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेको छ र राष्ट्र बैंकले जारी गरेको मापदण्डलाई जस्ताको तस्तै प्राधिकरणले जारी गर्यो । प्राधिकरणले जारी गरेको निर्देशनमा तरतला व्यवस्थापन सम्बन्धमा २ बर्षको समयसिमा दिएको छ भने राष्ट्र बैंकले जारी गरेको मापदण्डमा समय दिइएको थिइएन । मापदण्डले संघहरुमा राखेको पैसालाई तरलतामा गणना गर्न नपाइने भनेपछि बचत ऋणको केन्द्रीय संघ–नेफ्स्कून, प्रदेश बचत संघ र जिल्ला बचत संघहरुलाई अप्ठ्यारो परेकाले हामीले विभागिय मन्त्री, सचिव, गभर्नर र प्रधानमन्त्री समेतलाई भेट्यौं र अभियानलाई परेको समस्या समाधानको लागि पहल गरिदिन आग्रह गर्यौं । मापदण्डमा आएका मध्ये ६ वटा बुँदालाई संशोधन गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरायौं । मापदण्डले पारेको अप्ठ्याराहरु फुकाउन अहिलेको दौडधुप हो । 

प्राधिकरणले जारी गरेको मापदण्ड संशोधन हुनेमा तपाईहरु कतिको आशावादी हुनुहुन्छ ?

म अध्यक्ष भइसकेपछि धेरै पटक राष्ट्र बैंकका प्रतिनिधिहरुसँग छलफलमा बसेँ । उहाँहरुले बचत ऋणको कारोबार कुनै पनि संघहरुले गर्नुहुँदैन भनेर हरेक बैठकमा प्रस्तुत भएको देखिन्थ्यो । अहिले त्यो कुरा निर्देशन तथा मापदण्डमा आयो । अहिले सहकारी संस्थाहरु आफैं समस्यामा परेका छन् । सदस्यहरुको बचत फिर्तामा समस्या भएको छ, बजारमा गरेको ऋण लगानी उठ्न सकेको छैन । अभियान आफै थाङ्थिलो भइराखेको अवस्थामा संघहरुले वित्तीय कारोबार गर्न नपाउने कुराले झन अप्ठ्यारो पार्छ । संघहरुले मात्रै ९० अर्बको कारोबार गरिराखेको तथ्याङ्क छ । संघहरुले पनि संस्था मार्फत् सदस्यहरुमा लगानी गरेका हुन्छन् । उनीहरुले गरेको लगानी आजको भोलि नै उठ्ने सम्भावना हुँदैन ।  

तत्काललाई २ बर्षको समय दिइएको छ । २ बर्षमा पनि बजारमा गरेको लगानी फिर्ता आइनसक्ने भएकाले समय तोक्नु उचित नभएको संघहरुको भनाई छ । २ बर्षमा ऋण असुली नहुने भएकाले संस्थाहरुले तरलताको रुपमा राखेको बचत फिर्ता गर्न नसक्ने र यसले झन् समस्या थप्ने संघहरुले बताएका छन् । गरेको ऋण लगानी असुलीमा समय लाग्ने भएकाले यो समय पर्याप्त नभएको संघहरुको भनाई छ । राष्ट्र बैंकले संघहरुसँग छलफल नै नगरी मापदण्ड जारी गर्यो । सरकारले ल्याएको ऐनकानुनलाई सहकारी अभियानले सदैव लागु गर्दै आएको छ । बचत ऋण सहकारीलाई एकैपटक घाँटी न्याँक्ने भन्दा पनि पर्याप्त समय दिएर व्यवस्थापन गरेर जानुपर्छ । संघहरुले ७ बर्षसम्मको लागि संस्थाहरुमा लगानी गरेका छन् । विश्वमा आएको आर्थिक मन्दी र कोभिड १९ महामारीपछि अर्थतन्त्रमा आएको सुस्तताका कारण अर्थतन्त्र अझै चलायमान हुन सकेको छैन । जसले गर्दा संघ संस्थामा गैर बैकिङ सम्पत्ति बढेर गएको छ । संघहरुले गर्दै आएको अन्तर लगानी कारोबारलाई एक्कासी रोक्नु अन्याय हुन्छ । वित्तीय कारोबार गर्न नदिने हो भने पनि पर्याप्त समय दिएर वातावरण सहज बनाउनुपर्छ भन्ने अभियानको धारणा हो । 

संघहरुसँग छलफल नै नगरि यो मापदण्ड ल्याइएको हो ? 

राष्ट्र बैंकले एकैपटक मापदण्ड जारी गर्यो । बचत ऋणको कारोबार गर्ने संघहरुसँग छलफल गरेर मापदण्ड ल्याएको भए राम्रो हुन्थ्यो । मन्त्रालयका सचिव प्राधिकरणको अध्यक्ष भएकाले मन्त्रीज्यूले कसरी सहज बनाउन सकिन्छ भन्दा समय सीमा बढाउँ भन्नु भयो । तर अहिले त्यसले पनि सहज अवस्था सृजना भएको छैन । आर्थिक मन्दीका कारण ऋण असुलीमा समस्या भइराखेको छ । ऋण नउठ्ने तर बचत भने तत्काल फिर्ता चाहिने अवस्था भएका कारण समस्या उस्तै छ । नेफ्स्कूनबाट नै अहिले करोडौं बचत फिर्ता भइसकेको छ । बागमती प्रोस्कून र अन्य संघहरुको पनि त्यस्तै अवस्था छ । लगानी गरेको पैसा नउठ्ने तर बचत फिर्ता भने गइराख्दा संघहरु नै बन्द हुने अवस्था आउँछ । नेफ्स्कून र बागमती प्रोस्कून बन्द भयो रे भनेपछि यसले गलत सन्देश बजारमा जान्छ । जुनसुकै संघसंस्था बन्द भए पनि ती सबै अभियानकै अंग हुन् । यसले सहकारी अभियानलाई झन ठुलो क्षति पु¥याउँछ । 

हामीले प्रधानमन्त्रीलाई संघहरुले कारोबार गर्न नपाउने भन्ने दफालाई नै हटाउन माग गरेका छौं । तर संघहरुले प्रारम्भिक सहकारी संस्थाले जस्तै सहकारी ऐन र विनियमकै भरमा अर्बौंको कारोबार भने गर्नु हुँदैन । संघहरुले बचत ऋणको कारोबार गर्ने हो भने पनि राष्ट्र बैंकसँग अनुमति लिएर उसको नीति नियमका साथै मापदण्डहरु पालना गरेर गर्दा राम्रो हुन्छ । संघसंस्थाले वित्तीय अनुशासन र पारदर्शितामा रहेर कारोबार गर्नुपर्छ । संघहरुको लागि छुट्टै ऐन बनाएर भएपनि वित्तीय कारोबार गर्नदिनु उचित हुन्छ । प्रारम्भिक सहकारी संस्थाकै ऐनमा टेकेर संघहरुले अर्बौ कारोबार गर्नुहुँदैन । 

नेफ्स्कूनले ३२–३३ बर्षदेखि नै सदस्य संस्थासँग अन्तर लगानी कारोबार गर्दै आएको छ, यसअघि यो विषयमा राष्ट्र बैंकले किन चासो देखाएन ? 

राष्ट्र बैंकले मापदण्ड जारी गर्दा संघहरुसँग एक पटक पनि नसोधेको कुरा सत्य हो । नेफ्स्कून राष्ट्रिय सहकारी महासंघ स्थापना हुनु भन्दा अघि जन्मेको संघ हो । संस्थाहरुले आफ्नो विनियममा बसेर वित्तीय कारोबार गर्ने हो । संस्था सञ्चालनको लागि १० वटा अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त छन् । तर त्यो भन्दा बाहिर गएर संस्था सञ्चालन गर्दा अहिले कतिपय संस्थाहरु वित्तीय संकटमा परे । समस्याग्रस्त व्यवस्थापन समितिको कार्यालयले दिएको प्रतिवेदन हेर्दा एकजना व्यक्तिलाई बिना धितो ९३ करोडसम्म ऋण लगानी गरेको भेटियो । संघहरुले वाणिज्य बैंकहरुमा खाता खोल्दा बचतमा ब्याज नै नपाएपछि अन्तर लगानी कारोबार गरेको अवस्था हो । नेफ्स्कूनभित्र जेजति विवादका विषय उठे सञ्चालक समिति र  व्यवस्थापन समयमा नै हल गरेर लैजानुपथ्र्यो । तर लेखा परीक्षण प्रतिवेदनमा अडिटरले साइननै नगर्नेसम्मको कुरा बाहिर आयो । सहकारी विभाग र राष्ट्र बैंकले संयुक्त रुपमा अनुगमन गरे । नेफ्स्कूनले सहकारीको ट्रयाकभन्दा बाहिर बसेर काम गरेको भन्ने विषय बाहिर आयो । धितो बिना करोडौं ऋण लगानी गरेको कुरा आयो । ऋण लगानी गरेका कतिपय संस्था आज वित्तीय रुपमा संकटमा परेका छन् । यसले गर्दा पनि राष्ट्र बैंकले संघहरुलाई वित्तीय कारोबारमा रोक लगाउने अवस्था बन्यो ।  

एउटा सहकारी संस्थाले बचत गरेको पैसा अर्को सहकारीलाई ऋणको रुपमा दिने हो । ऋण लिएका संस्थाले समयमा साँवा ब्याज चुक्ता गरेनन् भने अर्को संस्थालाई बचत फिर्ता गर्न समस्या पर्छ । अहिलेको मुख्य समस्या भनेको रोेटेशनको नै हो । एक ठाउँबाट अर्को ठाउँमा पैसाको फ्लो हुन सकेन । राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैंकको अधिनमा बसेर काम गरेको छ । तर बचत ऋण सहकारी संघहरु विनियमको भरमा सञ्चालन भइराखेका छन् । जसले गर्दा राष्ट्र बैंकले संघहरुलाई बचत ऋणको काम गर्न दिन नखोजेको देखिन्छ । म अध्यक्ष भएदेखि राष्ट्र बैंकका कर्मचारी बचत संघहरुप्रति  सकारात्मक भएको पाएको छैन । तर बचत संघहरुले लामो समयदेखि गर्दै आएको काम गर्नै नपाउने भन्ने हुँदैन । राष्ट्र बैंकको नीति नियम अनुसार सञ्चालन हुन्छौं भन्ने कुराको निश्चय गराएर दिएर संघहरु अगाडि बढ्नुुपर्यो । त्यसैगरी संघहरु मिलेर क्रेडिट बैंकको कन्सेप्टमा अगाडि बढ्न पनि सकिन्छ । मेरो गोरुको बाह्रै टक्का भन्नु भन्दा पनि फरक कोणबाट पनि बचत संघहरुका साथीहरुले सोच्नुपर्छ कि भन्ने मलाई लाग्छ । 

सहकारी अभियान कमजोर हुँदा राष्ट्र बैंक सहकारी भित्र छिर्यो भन्ने अरोप पनि लाग्ने गरेको छ नि ?

समग्र सहकारी अभियानको लविङ तथा एड्भोकेसी गर्ने भनेको सहकारी महासंघले हो । त्यो कुरामा महासंघ चुकेको छैन । निरन्तर लागि राखेको छ । यहाँ प्रारम्भिक सहकारी संस्थादेखि, जिल्ला, प्रदेश र केन्द्रीय सहकारी संघहरु छन्, संघ संस्थाको आ–आफ्नै विनियम छ । सहकारीको अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त छ भने सहकारी ऐन कानुन र नियमावली छ । आज सबैले वित्तीय अनुशासन, पारदर्शिता र नैतिकतामा बसेर संस्था चलाएको भए यो दिन आउँदैनथ्यो । सहकारीमा वित्तीय अनुशासन नभएको र  सहकारी भनेको गलत गर्ने ठाउँ रहेछ भन्ने कुरा महासंघले बनाएको हो र ? तर महासंघले संघसंस्थाले गरेको राम्रो तथा नराम्रो कामको जसअपजस लिइरहेको छ । सहकारी क्षेत्र हिजोको आज बिग्रिएको होइन्, ५÷६ बर्षदेखि बिग्रिदैँ आएको थियो । अभियानले विगतमा गरेका गल्तीका कारण अहिले मैले समस्या झेलिरहेकी छु । म अध्यक्ष भएर आएदेखि यो क्षेत्रलाई सुधार गर्दै व्यवस्थित बनाउन सरकारसँग हातेमालो गरिराखेको छु । संघसंस्थाले ऐननियम र आन्तरिक विनियम भन्दा बाहिर बसेर काम गर्दा अहिले समस्या भयो । जसको गलत सन्देश समाजमा फैलियो र सहकारी क्षेत्रलाई सञ्चालन गर्न नै समस्या भयो । महासंघ आफ्नो भूमिकामा काँही चुकेको छैन बरु संघसंस्थाहरुले आफ्नो भूमिका बिर्सेकाले यो परिस्थिति बन्यो । 

सहकारी नेतृत्वकै आडमा कतिपय संघसंस्थाले वित्तीय पारदर्शिता कायम गरेनन् भन्ने आरोप पनि छ नि ? 

यसमा केहि सत्यता होला । तर म त्यस्तो काममा लागेको छैन । सहकारी ऐन कानुन नआउँदासम्म लविङ गर्ने कुरा हुन्छ तर आइसकेपछि कानुन भन्दा कोही माथि हुँदैन र पालना गरेर जानुपर्छ । ऐन कानुनलाई टेकेर हामीले काम गर्नुपर्छ । ऐनले जे भनेको छ, हामीले त्यहि गर्नुपर्छ । नेताले के भने भन्दा पनि आफ्नो नैतिक जिम्मेवारी पनि त हुन्छ होला नि ? म सहकारीकर्मी हो भने देशको सहकारी ऐन नियम मान्नु मेरो कर्तव्य हो । कतिपय कुरा आफुमा पनि भरपर्छ । महासंघमा प्रारम्भिक सहकारी संस्था सदस्य बन्दैनन् र संघहरु मात्रै महासंघको सदस्य हुने हो । हामीले सरकारले ल्याएको ऐन नियमदेखि निर्देशन तथा मापदण्डलाई तल्लो निकायसम्म पु¥याउने काम गरेका छौं ।

सहकारीका समस्या समाधानको लागि तपाई दिन रात खटिराख्नु भएको छ, यो बिचमा के कस्ता उपलब्धी हासिल गर्नु भयो  ?

ओमदेवीले सहकारीमा गरेको योगदानको कुनै दिन कदर हुन्छ । महासंघमा ३३ प्रतिशत महिला राखौं भन्दा कतिजनाले यो संविधान सभा होइन भन्नुभयो । म अध्यक्ष भएर आउने बेलामा महासंघको विनियम संशोधन गरेर ३३ प्रतिशत अनिवार्य महिलाको सहभागिता गराएका छौं । जतिबेला म महासंघको सञ्चालक भएर आएको थिए, त्यति बेला महासंघमा महिलाको लागि एउटा पनि कोटा थिएन । मैले सहकारी अभियानमा लागेर भोगेका अनुभवलाई प्रकाशन गर्ने सोच बनाएको छु, त्यसपछि मैले सहकारी अभियानमा लागेर के के गरेको रहेछु भन्ने कुरा तपाईंहरुले थाहा पाउनुहुनेछ । कोही पदको लागि मात्र संघमहासंघको नेतृत्वमा आउने रहेछन् । तर मेरो बुझाईमा पद भनेको जिम्मेवारी हो । कतिपय साथीहरु म महासंघको उपाध्यक्ष, सञ्चालक छु भनेर समाजमा देखाउनको लागि मात्रै भए पनि पदमा आएको देखियो । महासंघमा मात्रै होइन अन्य संघहरुको पनि अवस्था त्यहि छ । तर नेतृत्वमा पुगिसकेपछि आफुले गरेको प्रतिवद्धता पुरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो । म महासंघको अध्यक्ष हुँ । कसैले साथ दियोस् या नदिओस्, म आफ्नो कर्तव्य पुरा गर्न दिनरात लागि परेको छु ।

नेतृत्वमा आउने धेरै हुन्छन् तर सबैले काम गर्दैनन् । कुनै पनि संघ संस्थामा काम गर्ने भनेको ३–४ जनाले हो । महासंघमा म सहित ४ जना अध्यक्ष भइसकियो । सहकारीमा ऋण असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र, दोस्रो तहको नियामक निकाय माग गरेको आज होइन । हामीले सहकारी ऐन २०७४ आएदेखि नै यसको कार्यान्वयनको लागि आवाज उठाउँदै आएका थियौं ।  म अध्यक्ष भएर  आउँदा सहकारी मन्त्रालयका तत्कालिन सचिव गोकर्णमणि दुवाडी हुनुहुन्थ्यो, उहाँसँग सहकारीको विषयमा पोलिसी डाइलग गर्न अनुरोध गरेँ । सरकारको तर्फबाट के कति कमजोरी भयो र अभियानका तर्फबाट के कस्ता कमजोरी भए ? यो विषयमा छलफल गरेर निचोड निकाल्नुपर्छ भनेर अनुरोध गरेँ । मेरो कुरामा उहाँ सहमत हुनुभयो । मन्त्रालयको पैसामा सरकारले पहिलो पटक अभियानसँग नीति संवाद गर्यो । उक्त संवादबाट हामीले निकासको बाटो खोज्यौं ।

अभियान सुशासन र पारदर्शितामा आधारित भएर चल्ने र ऐन कानुन कार्यान्वयनमा सरकारले पहल गर्ने गरी निष्कर्ष निकालियो । सोही अनुरुप सरकारले ऋण असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र र सहकारी प्राधिकरण गठन जस्ता थुप्रै काम अघि बढाएकोछ । केहि मात्रामा भएपनि बजेट विनियोजन भएको छ । यो त्यसै भएको होइन । यसका लागि हामीले धेरै मेहनत गरेका छौं र सरकारलाई कन्भिन्स गर्यौ । मेरो कार्यकालमा अभियानको लागि थुप्रै उपलब्धी भएको छ । तर महासंघको जुनजुन पदमा बसेर जस जसले जुुन भूमिका खेल्नु पर्ने हो, त्यसमा कतिपयले नखेलेको यथार्थ हो । महासंघको ३ जना बाहेक अरु सञ्चालकहरु उपत्यका बाहिरका हुनुुहुन्छ । कतिजना केन्द्रीय संघको अध्यक्ष भएको कारण उहाँहरु आफ्नै संघमा पनि व्यस्त हुनुहुन्छ । बरिष्ठ उपाध्यक्ष कोशी प्रदेशबाट प्रतिनिधित्व गर्नुहुन्छ । जुन टिमस्पिरिटमा महासंघ जानुपर्ने हो त्यसमा काँहीकतै ग्याप पक्कै छ ।  

सहकारी अभियन्ताहरुमा राजनीतिक प्रभाव रहेकाले महासंघभित्र पनि शुद्धिकरणको विषय उठेको छ नि ?

अहिले केहि संघसंस्थामा सहकारीको खोल ओढेर केहि व्यक्तिले गलत काम गरे, जसले गर्दा अरु क्षेत्रले सहकारीलाई फटाईं गर्ने क्षेत्रको रुपमा टिप्पणी गर्ने गरेको पाइन्छ । हामी जो कोही कुनै न कुनै पार्टीसँग नजिक हुन्छौं । तर एमाले, माओवादी, काँग्रेस भएर महासंघमा आएका हैनौं । हामी सहकारी लिडर भएकाले अभियान बनाउन आएका हौं । अर्थतन्त्रको ३ मध्ये एउटा खम्बाको रुपमा  सहकारीलाई लिइएको छ । हामीले महासंघको नेतृत्व लिएपछि संविधानको मर्मलाई पुरा गर्न राजनीतिकर्मी भन्दा पनि एक तह माथि उठेर काम गर्नुपर्छ । सहकारी आर्थिक सामाजिक उत्थान गर्ने संस्था भएकाले यसकै माध्यमबाट समाजलाई रुपान्तरण गर्न हामीले भूमिका खेल्नु पर्ने हुन्छ । 

राजनीतिक आस्था हुनु स्वभाविक भएपनि यहाँ त सहकारी अभियानलाई माथि लैजाने भन्दा पनि राजनीतिक सिंढी चढ्न आए जस्तो मात्र देखिन्छ नि ?

सहकारीमा शुद्धिकरणको आवश्यकता छ । यसमा दुईमत छैन । यस अघि दोहोरो पदमा रहेका सञ्चालकहरुको हकमा पनि सहकारी विभागलाई पुस मसान्तसम्मको समय थप्नको लागि पत्रचार गरेकै हो । पुस मसान्तसम्म सबै संघसंस्थाले साधारण सभा सम्पन्न गरिसक्ने र नयाँ नेतृत्व चयन हुने भएकाले पुस मसान्तको समय माग गरेका हौं । अहिले प्रतिस्थापन ऐनमा २ बर्षको समय सीमा दिइएको छ । २०८३ असार मसान्तसम्म कानुनले नै दोहोरो पदमा रहन सक्ने व्यवस्था गरेको छ । मेरो बुझाइमा एउटै संस्थामा बसेर राम्रो नेतृत्व गर्दा पनि हुन्छ । एउटा संघमा आवद्ध भइयो भने पर्याप्त समय दिन सकिन्छ र परिणाम दिने हिसाबले काम गर्न भ्याइन्छ ।  कानुनले २ वर्ष समय दिएको भएपनि व्यक्तिको नैतिकताको कुरा महत्वपूर्ण हुन्छ । दोहोरो पद छाड्न चाहेमा महासंघले राजिनामा नदेउ भनेर कसैलाई भन्दैन । अर्को असारपछि पनि दोहोरो पदमा बस्नु भयो भने सर्कुलर जारी गरेर ऐन अनुसार पदमा बस्न अनुरोध गरिनेछ । 

सहकारी क्षेत्रलाई सुरक्षित र पारदर्शी रुपमा लैजान सरकार र अभियानको भूमिका के हुनसक्छ ?

अहिले संस्थाहरु धेरै पीडित छन् । सहकारीले गरेको ऋण असुली नहुँदा बचत फिर्तामा समस्या भइराखेको छ । सरकारले कर्जा असुली न्यायाधिकरण गठन गरेको छ । यसले संस्थाहरुलाई धेरै राहत पुग्ने मेरो विश्वास छ । कर्जा असुली न्यायाधिकरणले निवेदन परेको तीन महिना भित्र संस्थाहरुको हिसाब राफसाफ गर्नुपर्ने हुन्छ । 

महासंघले सहकारी सुशासनलाई पहिलो एजेन्डा बनाएको छ । जुन उदेश्यको संघ हो, त्यो उदेश्यका संस्थाहरुलाई अनिवार्य रुपमा सदस्य बनाई राम्रो र नराम्रो कामको जवाफदेहिता सम्बन्धित संघले लिनुपर्छ । ऐनकानुन सबै संघ संस्थालाई पालना गराउने कुरामा महासंघले पहल गर्छ । जापान, भारत, चीन लगायतका राष्ट्रले सहकारीकर्मीलाई सिक्नको लागि नयाँ कोटा पठाइराखेका छन् । यसबाट सहकारीको अन्तर्राष्ट्रिय अभ्यासको ज्ञान हासिल गर्ने अवसर सहकारीकर्मीले प्राप्त गर्छन् । सहकारी समेतको कारणले गर्दा मुलुक ग्रे लिष्टमा परेको कुरा उठिराखेको छ । संस्थाहरुले १० लाख भन्दा बढीको कारोबारको जानकारी सम्बन्धित निकायमा पठाउनको लागि कर्मचारी व्यवस्था गरेर जान मेरो आग्रह छ ।

सहकारीको बोर्डमा एकरुपता ल्याउन हामीले पहल गर्दैछौं । कर्जा सूचना केन्द्रले काम नगरेसम्म सहकारीमा यकिन तथ्याङ्क आउँदैन । कसले कति वटा संस्थाबाट ऋण लिएको छ भनेर थाहा हुँदैन । त्यसको कार्यान्वयन गराउन हामी लागिरहेका छौं । बचत तथा कर्जा सुरक्षण कोष गठन गर्ने कुरा ऐनमा छ । सदस्यले सहकारीमा बचत गरेको ५ लाखसम्मको रकम बीमा गर्ने भनिएको छ । त्यसलाई पनि अगाडि बढाउन सरकारलाई भनिराखेका छौं । ५ लाखसम्मको बीमा भयो भने बचतकर्तामा सहकारीप्रति विश्वास पैदा हुन्छ। महासंघले सुशासनको पाटोमा काम गर्छ भने सरकारले ऐन कानुनमा भएको व्यवस्थालाई संरचनागत रुपमा लागु गर्नुपर्छ । 

सहकारी प्राधिकरणले बचत ऋण सहकारीलाई व्यवस्थित गर्न सक्ला ? 

सात सय एकसठ्ठी तहले सहकारीको अनुगमन गर्दै आएको छ । सहकारीको कसले र कुन निकायले नियमन तथा अनुगमन गर्ने भनेर स्पष्ट हुनुपर्छ । राष्ट्र बैंकले नियमन गर्ने हो भने पनि राष्ट्र बैंकले मात्र गर्नुपर्यो । होइन भने प्राधिरकणको जन्म भइसकेकाले सबै सहकारी संस्थाको नियमन त्यहाँबाटै गर्नुपर्छ । १० वटा निकायबाट सहकारीको अनुगमन हुनुहुँदैन । यसले कहीँ न कहीँ स्वार्थ निम्त्याउँछ । प्राधिकरणले नियमनको काम गर्नुपर्छ । राष्ट्र बैंकले हस्तक्षेप गर्नुहुँदैन । 

प्राधिकरणमा अभियानले चाहेको अध्यक्ष कस्तो हो ?

सहकारी प्राधिकरण प्रशासनिक निकाय हो । राजनीति बुझेको तर प्रशासन हाँक्न सक्ने व्यक्ति प्राधिकरणको अध्यक्ष बन्दा अभियानलाई राम्रो हुन्छ । प्राधिकरणको नियुक्ति राजनीति भन्दा माथि उठेर हुँदा राम्रो हुन्छ । राष्ट्र बैंक र सहकारी मन्त्रालयका प्रतिनिधि पनि प्राधिकरणको सञ्चालकमा हुनुहुन्छ । त्यहाँ मनोपली त नहोला । अध्यक्षले जे निर्णय गर्छन्, त्यसैमा सहमत हुन्छ जस्तो मलाई लाग्दैन । तर अध्यक्षमा आउने व्यक्ति राजनीतिबाट टाढाको भए भने सही निर्णय दिन सक्छन् । यो मेरो चाहना मात्र हो । अभियानलाई बचाउन सक्ने र अहिले यो क्षेत्रमा देखिएको विकृतिलाई नियन्त्रण गर्दै सुशासनको बाटोमा लैजान सक्ने व्यक्ति आवश्यक छ ।