आइतबार, कार्तिक ९ गते २०८३

प्राधिकरणद्वारा जारी मापदण्डले सहकारीमा जोखिम बढायो


आषाढ १७, २०८२ मंगलबार
प्राधिकरणद्वारा जारी मापदण्डले सहकारीमा जोखिम बढायो


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा सस्ंथागत उपसमितिको आयोजनामा र नेफ्स्कूनको साझेदारीमा एक दिने सहकारीमा जोखिम व्यवस्थापन तालिम  सम्पन्न भएको छ । तालिममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारीमा जोखिम धेरै भएकोले जोखिमलाई न्यूनीकरण गरेर कार्य गर्नुपर्ने बताए ।

उनले  राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरूको लागि जारी गरेको मापदण्ड सहकारीमा जोखिम घटाउन ल्याएको तर हाल तत्काल कार्यान्वयन गर्नुपर्दा उल्टो जोखिम बढाएको बताए । उनले हालको मापदण्ड अनुसार संस्थाले सदस्यको बचत संकलनको सिमाले बचत फिर्ताको चाप बढ्ने र लामो समयका लागि लगानी गरेको ऋणको सावाँ व्याज असुल उपर नहुँदा संस्थामा तरलता जोखिम बढाउने जनाए । सहकारीमा संचालक, लेखासमिति, कर्मचारी र सदस्यहरुबाट समेत जोखिम हुने भएकोले ती जोखिमलाई न्यूनिकरण गर्न संस्था सहकारीको सिद्धान्त अनुसार नीति, विधि र प्रविधिमा आधारित भएर संचालन गर्नुपर्ने उल्लेख गरे ।

संघका सचिव जगनाथ प्रजापतिले जोखिम हरेक क्षेत्रमा हुने कुरा राख्दैं जोखिम बहन गर्न सक्ने जोखिम मात्र लिनुपर्ने जनाए । सहकारीमा जोखिमलाई पहिचान गरी जोखिम न्युनिकरणका उपायहरु अबलम्बन गर्न सकोस् भनी तालिमको आयोजना गरेको उल्लेख गरे । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संचलानमा आन्तरिक र बाह्य जोखिम हुने भएकोले आन्तरिक जोखिमलाई संस्थाका संचालक र व्यवस्थापनले जोखिम न्युनिकरणका लागि भुमिका खेल्नुपर्ने बताए । उनले सहकारीमा चुनौतीपूर्ण ऐन नियम र मापदण्डले संस्था संचालनमा बाह्य जोखिमको बढाएको जिकिर गरे ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का तालिम अधिकृत उमेश कोईरालाले जोखिमको परिचय, जोखिमको प्रकार, सहकारीमा जोखिमबाट बच्ने उपाय विषयहरुमा प्रयोगात्मक ढंगबाट सहजिकरण गरेका थिए ।  तालिममा सहभागीहरुमध्येबाट चमेली कल्याणकारी साकोसका  व्यवस्थापक सुदर्शन चौलागाईले सहकारी संचालनका जोखिम न्यूनिरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।  सो तालिममा संघमा आवद्ध सदस्य संस्थाहरुबाट १९ जनाको उपस्थिति रहेको थियो ।