बुधबार, भाद्र ३ गते २०८३

सहकारी क्षेत्रले सम्पत्ति शुद्धिकरणमा सुधार नगरे मुलुक ग्रे लिष्टबाट बाहिरिन मुश्किल


आषाढ १५, २०८२ आइतबार
सहकारी क्षेत्रले सम्पत्ति शुद्धिकरणमा सुधार नगरे मुलुक ग्रे लिष्टबाट बाहिरिन मुश्किल

 

काठमाण्डाै। मुलुक सम्पत्ति शुद्धिकरणसम्बन्धी ग्रे लिष्टमा पर्नुको एउटा कारण सहकारी क्षेत्र समेत रहेको छ । सहकारी क्षेत्रबाट हुने वित्तीय कारोबार पारदर्शी नभएको र संस्थाहरुले सदस्यले गर्ने कारोबारको नियमित रिपोर्टिङ सम्बन्धित निकायलाई नदिँदा त्यसको प्रभाव सम्पत्ति शुद्धिकरणमा परेको छ ।  मुलुकमा ३२ हजार सहकारी संस्था रहेपनि थोरै संस्थाले मात्रै सम्बन्धित निकायमा सम्पत्ति शुद्धिकरणको जानकारी पठाउने गरेका छन् । सम्पत्ति शुद्धिकरणका मुख्य चार क्षेत्र सहकारी, घरजग्गा कारोबार, क्यासिनो र सुनचाँदी व्यवसाय रहेका छन् । जसमध्ये सहकारी क्षेत्रलाई पनि सम्पत्ति शुद्धिकरणको एक प्रमुख क्षेत्रको रुपमा हेरिएको छ । प्रभावकारी नियमनको अभाव र कमजोर तथ्याङ्कीय प्रणालीको फाइदा उठाउँदै केहि सहकारीहरुले सम्पत्ति शुद्धिकरण गर्ने गरेको राष्ट्र बैंकको बुझाई छ । 

सहकारी क्षेत्रले सम्पत्ति शुद्धिकरणको विषयमा पर्याप्त काम कारवाही नगरेको नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धिकरण विभागका अभियान उपाध्यायले बताए । उनले मुलुक ग्रे लिष्टमा परेकाले समयमा नै त्यसबाट बाहिर आउन काम गर्नु पर्ने भन्दै सहकारी क्षेत्रले पनि सम्पत्ति शुद्धिकरणको विषयलाई विशेष रुपमा अगाडि बढाउन आवश्यक रहेको बताए । विकसित देशहरुमा जिडिपीको ५ प्रतिशतसम्म सम्पत्ति शुद्धिकरण हुने गरेको र नेपाल जस्तो विकासोउन्मुख राष्ट्रमा जिडिपीको १० प्रतिशतसम्म हुने गरेको अध्ययनले देखाएको उनको भनाई छ ।

सम्बन्ध कसुर नभई सम्पत्ति शुद्धिकरण हुँदैन भन्ने मान्यता रहको र सहकारी क्षेत्रमा ठगी बढेकाले सम्पत्ति शुद्धिकरण भइराखेको उनको बुझाई छ । नियमनकारी निकायले पर्याप्त मात्रामा अनुगमन गर्न नसक्दा यो क्षेत्रमा सम्पत्ति शुद्धिकरण बढेर गएको आशंका गरिएको छ । सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन २०६४ र सम्पत्ति शुद्धिकरण नियमावली २०८१ रहेको र त्यसैका आधारमा संस्थाहरुले बचतकर्ताको  व्यक्तिगत विवरण अपडेट गर्नुपर्ने हुन्छ । हालसम्म ८ सय वटा सहकारी संस्था सम्पत्ति शुद्धिकरण ईकाईमा आवद्ध रहेको भएपनि शंकास्पद कारोबार पहिचानमा भने उल्लेख्य उपलब्धी नभएको पाइएको छ । मुलुकमा विभिन्न प्रकृतिका सहकारी रहेको र बचत तथा ऋण र अन्य प्रकृतिका सहकारीलाई छुट्याएर भएपनि सम्पत्ति शुद्धिकरणको विषयलाई प्रभावकारी बनाउने योजना सरकारको छ । वित्तीय सहकारीले कुन आकारमा र कुन कुन समुदायलाई समेटेर वित्तीय कारोबार गरिराखेका छन्, त्यसकै आधारमा सम्पत्ति शुद्धिकरण भए नभएको यकिन गर्ने तयारी गरिएको छ ।

सहकारी क्षेत्रमा सम्पत्ति शुद्धिकरणका लागि मिडियम हाइरिक्स देखिएको र सम्बन्धित संस्थाहरुले यसमा आफ्नो भूमिका बढाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । सहकारी क्षेत्रमा सजिलै सम्पत्ति शुद्धिकरण हुन सक्ने भएकाले वित्तीय कारोबार गर्ने संस्थाहरु त्यसतर्फ बढी चनाखो हुनुपर्ने भएको छ । सदस्यबाट शंकास्पद कारोबार भएनभएको बारेमा संस्थाले जानकारी लिने र शंका लागेमा सम्बन्धित निकायमा जानकारी दिन उनले आग्रह गरे । सबै सहकारीले भन्दा पनि वित्तीय रुपमा ठुला कारोबार गर्ने संस्थाले सम्पत्ति शुद्धिकरणलाई विशेष रुपमा ख्याल गर्न उनको सुझाव छ । सदस्यहरुले ठुलो रकम कहाँबाट ल्याए र कहाँ लगे भन्ने जस्ता कुरा ख्याल गर्नुपर्ने भन्दै यसले सम्पत्ति शुद्धिकरणलाई पारदर्शी बनाउने उनले जनाए ।  सहकारीका नियामक निकाय ७५३ स्थानीय, ७ प्रदेश र एक संघ रहेकाले पनि विवरण प्राप्त गर्न कठिन रहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारणका लागि भूमि र सहकारीका निर्देशिका बनाएरै अघि बढ्न लागेको जानकारी दिए । 

 

के छ विभागले जारी गरेको सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशनमा 

सदस्य विवरण(केवाइएम) अद्यावधिक गर्नुपर्ने:

  • सदस्यहरूको पहिचान, ठेगाना, पेसा, आर्थिक स्रोत आदि विवरण अनिवार्य रूपमा संकलन गर्नुपर्छ।
  • सदस्यको आर्थिक गतिविधि (जस्तै: जम्मा/निकासी) को आधारमा जोखिम मूल्याङ्कन गर्नुपर्छ।

सदस्यहरूको जोखिम वर्गीकरण:

  • सदस्यहरूलाई न्यून, मध्यम र उच्च जोखिममा रहेका भनि वर्गीकरण गर्नुपर्ने।
  • उच्च जोखिम भएका सदस्यहरूको निगरानी कडा बनाउनु पर्ने।

शंकास्पद कारोबारको रिपोर्टिङ

  • कुनै पनि शंकास्पद कारोबार भएको ठहरिएमा, त्यो कारोबारको विवरण सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा तुरुन्तै पठाउने ।

गोएएमएल प्रणालीमा रिपोर्टिङ:

  • सहकारी संस्थाहरूले अब आफ्ना शंकास्पद वा ठूला कारोबारहरू गोएएमएल प्रणाली मार्फत अनलाइन रिपोर्ट गर्नुपर्नेछ।

भौगोलिक, व्यवसायिक र सेवा पहुँच विश्लेषण:

  • सहकारीले कारोबार गर्ने स्थान, व्यवसायिक सेवा र सदस्यको सामाजिक स्थिति समेत समेटेर सम्पत्ति शुद्धिकरण मूल्याङ्कन गर्नुपर्छ।

नियमित प्रशिक्षण र चेतना:

  • सम्पत्ति शुद्धिकरणसम्बन्धी प्रशिक्षण सहकारी कर्मचारीहरू र व्यवस्थापनलाई अनिवार्य गरिएको छ।

अनुगमनको लागि अभिलेख राख्नुपर्ने:

  • कम्तीमा ५ वर्षसम्म सबै कारोबार र ग्राहक सम्बन्धी कागजातहरू राख्नुपर्नेछ, अनुगमनको लागि।