कतारस्थित अमेरीकी सैन्य अड्डामा इरानी मिसाइल हमला र त्यसयता रातभरिको तनावग्रस्त खाडी क्षेत्रले युद्ध विरामको सास फेरेको छ । १२ दिन दिनअघि इजरेलले इरानमा मिसाइल दागेपछि त्यस यता दिनहुँजसो दुवैदेशबीच मिसाइल आदानप्रदान हुँदै आएको थियो। दुवैतिर धन र जनको व्यापक क्षति पुगेको थियो भने पछिल्लो पटक अमेरीकी वमवर्षक विमानले इरानी आणविक भट्टीहरूमा लक्षित बमबारी गरेपछि भने युद्ध झनै चर्किएर गएको थियो।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारी अमिर शेख थानीलाई मध्यस्थता गरी दुवैपक्षलाई युद्धविराममा सहमत गराउन पहल गर्न भनेका थिए । इजरेलले आक्रमण शुरु गरेको र उसले हमला गर्न छाडे युद्धविरामका लागि इरान तयार रहेको इरानी विदेशमन्त्री अब्बास अघाइचीले जनाउँदै आएका छन्।
कायमै छ युद्धको सन्त्रास
केहि घण्टायता दुवै पक्षबीच मिसाइल प्रहारका गतिविधि नभएपनि वास्तवमै युद्धविराम भएकाे हाे कि हाेइन भन्ने द्विविधा कायमै रहेकाे छ । युद्धविरामको घोषणा भएको केहि घण्टा नबित्दै इजरायलले इरानले युद्धविरामको उल्लंघन गरी ब्यालिस्टिक मिसाइल प्रहार गरेको आरोप लगाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकारे पनि सो निर्णय लागु भएको केही घण्टामै इरानबाट दुईवटा मिसाइल प्रहार भएको इजरायली सेनाको दाबी छ। इजरायलको रक्षा मन्त्री इज्राएल काट्जले भने, इरानले युद्धविरामको गम्भीर उल्लंघन गरेको जनाउँदै इजरायली सेना तेहरानको मुटुमा कडा आक्रमण भोग्ने चेतावनी दिएका छन् ।
इरानले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै मिसाइल प्रहार नगरेको दाबी गरेको छ। तर आज विहान इजरायली शहर बेर्सेबामा खसेको मिसाइलका कारण ४ जनाको मृत्यु र एक दर्जनभन्दा बढी घाइते भएका छन्। इरानको राजधानी तेहरानमा पनि गएराति ठूला विस्फोटहरू भएको जनाइएको छ। युद्ध सुरु भएको १२ दिनयताकै सबैभन्दा भीषण रात भएको इरानी अधिकारीहरूले बताएका छन्।
ट्रम्पले घोषणा गरेको ‘विश्व शान्तिको नयाँ अध्याय’ कायमै रहला कि केहि समयमै चकनाचुर होला भन्ने विषय युद्धरत दुवै पक्षको धैर्यको परीक्षा बनेर रहेको छ ।
नेपालपत्र संवाददाता