आइतबार, कार्तिक ९ गते २०८३

गलत गर्ने संस्थाको बारेमा नियामकलाई जानकारी दिन संघहरुलाई रजिष्ट्रार ढुङ्गानाको निर्देशन


आषाढ १०, २०८२ मंगलबार
गलत गर्ने संस्थाको बारेमा नियामकलाई  जानकारी दिन संघहरुलाई रजिष्ट्रार ढुङ्गानाको निर्देशन

सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले सहकारी महासंघ र केन्द्रीय संघहरुलाई आफ्नो भूमिका बढाउन निर्देशन दिएका छन् । विभागको आयोजनामा भएको राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय संघहरु, सरोकारवाला निकायसँग सहकारी सम्बन्धी समसामयिक विषयक अन्तरक्रिया कार्यक्रमको समापनमा बोल्दै उनले संघहरुले भूमिका बढाउन आवश्यक रहेको बताएका हुन् । आफ्ना सदस्य संस्थाहरुलाई सघन रुपमा ‘वाच’ गर्न निर्देशन दिँदै उनले सहकारी मार्फत् भएका राम्रा कामको प्रचार गर्न र नराम्रा गतिविधिलाई रोक्न संघहरुको भूमिका महत्वपूर्ण हुने जनाए ।

कुनैपनि संस्थाले गलत कार्य गरेका भए त्यसको जानकारी नियमनकारी निकायमा दिन समेत उनले आग्रह गरे । संघ तथा महासंघले सहकारी क्षेत्रको सुदृढिकरणको लागि नीतिगत वकालत, सचेतना र संस्थाहरुको क्षमता विकासको काम गर्नुपर्ने उनको भनाई छ । केन्द्रीय संघहरुमा प्रारम्भिक संस्था सदस्य बन्ने र ऐनले समेत संघहरुलाई संस्थाहरुको विकास र प्रवर्धनका साथै नियमन गर्न सक्ने समेतको अधिकार दिएकाले संघहरुको भूमिका बढाउन आवश्यक रहेको उनको धारणा छ । उनले भने,‘ऐनले सबै केन्द्रीय संघहरुलाई आफ्ना संस्थाको अनुगमन तथा नियमन गर्ने अधिकार दिएको छ । संस्थाहरु मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन भएका छन् छैनन्, त्यसको अनुगमन गरी  संस्थाहरुको अवस्थाको वारेमा नियमनकारी निकायलाई जानकारी दिनेसम्मको अधिकार ऐनले दिएको छ । त्यसकारण  संघ दर्ता गर्ने र चुप लागरे बस्ने नभई आफ्नो भूमिका बढाउनुस् ।’ संघ महासंघ मार्फत तालिम, शिक्षाका साथै नियमन तथा अनुगमनको काम अगाडि बढाउन रजिष्ट्रार ढुङ्गानाले आग्रह गरे । संघहरुसँग विभागले समन्वयकारी भूमिका खेल्दै आएको र आगामी दिनमा पनि सोही अनुसार अगाडि बढ्ने उनको भनाई छ ।

उनले ऐनमा ५ प्रकृतिको संघको परिकल्पना गरेको भएपनि  आवश्यकता भन्दा बढी संघहरु दर्ता भएको समेत जनाए । सहकारी ऐन नियमले परिकल्पना गरेको निकायबीच छलफल तथा अनुभव साटसाट गरी आगामी दिन सहकारी क्षेत्रलाई व्यवस्थित गरेर लैजान यो कार्यक्रम आयोजना गरिएको उनले बताए । सहकारी महासंघ, बैंक र केन्द्रीय संघहरु विभागमा दर्ता भएको र सहकारी ऐनले प्रारम्भिक संस्थादेखि संघ महासंघको समेत परिकल्पना गरेको भन्दै उनले मुलुक संघियतामा गएपछि सहकारीको नियमक निकाय धेरै भएको जनाए । स्थानीय, प्रदेश र संघीय सरकारको नियमन क्षेत्रमा सहकारी गएको र तीन तहले सहकारीको अनुगमन गर्दा प्रभावकारी नभएको उनको  बुझाई छ । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक सहित १४ वटा केन्द्रीय संघहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कर्जा सूचना केन्द्र, निक्षेप तथा कर्जा सुरक्षण कोष,नेपाल राष्ट्र बैंक र विभागबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।