काठमाडौँ, । अमेरिकी सेनाले इरानमा आक्रमणपछि इरानले इजरायलमाथि व्यापक क्षेप्यास्त्र प्रहार गरेको छ। आइतबार इजरायली सैन्य अधिकारीले मुलुक इरानी क्षेप्यास्त्रबाट आक्रान्त भएको जनाउँदै प्रतिरक्षा प्रणाली सक्रिय गरेपछि तेलअविव र जेरुशलेममा ठूलो आवाजसहित विस्फोट भएको जनाएका छन् ।
आक्रमणसँगै देशभरि साइरन बजाइएपछि उद्धार सेवाहरू परिचालित भएका छन्। इजरायली सञ्चारमाध्यम र उद्धार सेवा निकायका अनुसार कम्तीमा २० जना घाइते भएका छन्। इजरायली प्रहरीका अनुसार उत्तरी बन्दरगाह सहर हाइफाको नजिकै हतियारका टुक्रा खसेको पुष्टि भएको छ। स्थानीय प्रशासनले घटनास्थलमा आपतकालीन सेवा परिचालन गरिएको जनाएको छ।
इरानले विगतदेखि नै तेलअविव, हाइफा र दक्षिणी सहर बेरशेबालाई आफ्नो मुख्य निशाना बनाउँदै आएको छ। जुन १३ देखि सुरु भएको युद्धयता इजरायलभर कम्तीमा ५० क्षेप्यास्त्र प्रहार भएको र २५ जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्कमा उल्लेख छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्फहान, फोर्डो र नतांजस्थित इरानी आणविक स्थलहरू ‘ध्वस्त पारिएको’ दाबी गरेपछि इरानले “दीर्घकालिन परिणाम” भोग्नुपर्ने चेतावनी दिएको छ।
अमेरिकी सेनाले इरानका तीन परमाणु केन्द्रमा हमला गरेको सामाजिक सञ्जालमा घोषणा गरेको दुई घण्टापछि ह्वाइटहाउसबाट राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै अमेरिकी राष्ट्रपतिले सो कारबाहीलाई ‘अभुतपूर्व सफलता’ बताएका थिए। उनले आफ्नो कदमले दिगो शान्तिको ढोका खोल्ने आशा व्यक्त गर्दै त्यहाँ इरानसँग परमाणु शक्ति बन्ने सम्भावना नहुने बताए।
तर, इरानको राष्ट्रिय आणविक सुरक्षा प्रणाली केन्द्र र अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाले भने अमेरिकी आक्रमणपछि विकिरण स्तरमा कुनै परिवर्तन नदेखिएको जनाएका छन्।
इरान र इजरेलबीचको भीषण द्वन्द्वमा प्रत्यक्ष संलग्न नभएको अमेरिकालाई जोड्ने राष्ट्रपति ट्रम्पको नाटकीय कदमले भविष्यमा कस्ता परिणाम निम्त्याउने हो भन्ने चासो र चिन्ता सर्वत्र बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।