आइतबार, कार्तिक ९ गते २०८३

सहकारीले गरेका राम्रा कामको प्रचार हुन नसक्दा गलत कुराले प्राथामिकता पायोः मन्त्री अधिकारी


आषाढ ५, २०८२ बिहीबार
सहकारीले गरेका राम्रा कामको प्रचार  हुन नसक्दा गलत कुराले   प्राथामिकता  पायोः मन्त्री अधिकारी

भूमि  व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मुलुकभर रहेका सहकारी मध्ये न्युन संस्थामा मात्र समस्या आएको बताएका छन् । उनले मुलुकमा ३२ हजार सहकारी संस्था रहेको भएपनि  बढीमा  एक हजार सहकारी संस्थामा मात्रै समस्या रहेको उल्लेख गरे ।  बजारमा सहकारी क्षेत्र पुरै सकियो भन्नेखाले प्रचार गर्नु  गलत भएको बताए । मन्त्री अधिकारीले  सहकारीले गरेका राम्रा कामको प्रचार प्रसार हुन नसक्दा गलत कुराले मात्र प्राथामिकता पाएको  जनाए ।

आज  सहकारी प्रशिक्षण तथा अनुसनधान केन्द्रले काठमाडौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै मन्त्री अधिकारीले सहकारीका विषयमा अन्यौलता छाएकोले त्यसलाई  सबै मिलेर चिर्नुपर्ने  बताए । उनले  आम सञ्चारका माध्ययका साथै सदस्यमा  जनचेतना जगाउन गोष्ठी सेमिनार जस्ता कार्यक्रम गरी जनस्तरसम्म प्रचार प्रसार गर्नु पर्नेमा जोड दिए । 

उनले भने, ‘सहकारीका सकरात्मक प्रचार प्रसारको कमी भएको छ, प्रचारको कमीले सहकारी क्षेत्र पछाडि परेको छ । केही सहकारीको बदमासीलाई सवै सहकारीसंग जोड्न मिल्दैन।यसलाई चिर्न जरुरी छ, यसको काम मिडियाले गर्ने भएकोले सहकारीका राम्रा कामको प्रचार गर्नुपर्छ ।’  सहकारीलाई व्यवस्थित बनाएर लैजान आवश्यक रहेको र विधि र पद्धतिमा संस्था सञ्चालन भए व्यवस्थित भएर जाने धारणा राखे । सहकारी तल्लो वर्गको उत्थानको लागि भएको भए पनि हुने खाने वर्गकोमा पुगेको र उद्धेश्य विपरित काम भएको उनले बताए । विना धितो र कमसल धितोमा लगानी  गर्दा सहकारीमा समस्या आएको र  यसलाई कानुनी रुपमा  व्यवस्थित गर्न स्थानीय नियमन निकायको मुख्य दायित्व रहेको उल्लेख गरे । 

अधिकांश सहकारी स्थानीय तहसंग भएकोले त्यही निकायले सहकारीलाई प्रवद्र्धन तथा नियमन गर्नु पर्ने उनले बताए । सहकारीबाट बदमासी गर्ने संचालक समिति तथा एकाघरका परिवारको पासपोर्ट समेत रोक्का गर्ने  व्यवस्था ल्याउन पहल भइरहेको उनले जनाए । ऋण लिने सदस्यलाई ब्याजमा पूँजिकृत गरेर सावाँको दोब्बर तेब्बर बनाएकोले पनि ऋण तिर्न समस्या भएकोले त्यसलाई सावाँ र ब्याज मात्र असुल गर्ने गरी  व्यवस्थित बनाउन उनले सुझाए  । उनले अधिकांश समस्याग्रस्त सहकारीका ऋणीबाट ऋण उठाउन सके बचतकर्ताको बचत सजिलै दिन सकिने जनाए ।

उनले सहकारीको पाठ्यक्रम नहुँदा समस्या आएकोले पालिकास्तरमै सहकारीको पाठ्यक्रम बनाएर पढाउनुपर्ने स्थिति आएको बताए । सहकारी प्रशिक्षण केन्द्रले माविस्तरको पाठ्यक्रम निर्माण गर्नुपर्ने र प्रशिक्षण केन्द्रको पाठ्यक्रमलाई मान्यता दिने  वातावरण मिलाउन सुझाव दिए । तालिम केन्द्रले दिएको तालिमको मान्यता नभएकोले यसले दिएको तालिमको मान्यता प्राप्त हुनेगरी तालिम दिने र  वयवस्थित गर्नेगरी जानुपर्ने उनको भनाइ थियो । कार्यक्रममा सहकारी विभाग, प्रशिक्षण केन्द्र तथा सातवटै प्रदेशका सहकारी हेर्ने अधिकारीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहकारी विभागका पूर्व रजिष्ट्रार केशव रेग्मीको कार्यपत्र प्रस्तुती तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल टिप्पणीकर्ता रहेका थिए ।