काठमाण्डाै । इजरायल र इरानबीच पछिल्लो समय युद्धको स्थिति देखिएको छ। दुवै देशले एक–अर्कामाथि मिसाइल र ड्रोन हमला गरेका छन्। इजरायलले इरानका केही महत्वपूर्ण स्थानमा आक्रमण गर्यो भने इरानले पनि इजरायलमा सयौं मिसाइल प्रहार गरेकाे छ । यस क्रममा दुबै देशमा गरेर ३०० भन्दा बढी मानिसको मृत्यु भएकाे अनुमान छ। धेरै सैन्य र गैर सैन्य संरचनामा क्षति भएको छ।
यसले खाडी क्षेत्रलाई निकै प्रभावित बनाएको छ। तेल र ग्यास उत्पादन हुने स्थानहरूमा क्षति पुगेको छ, जसको असर विश्वभरि पर्ने डर बढेको छ। गल्फ देशहरू (जस्तै साउदी अरेबिया, कतार) अहिले दुवै पक्षलाई युद्ध नभड्काउन सहमितमा ल्याउने प्रयास गरिरहेका छन् ।
विश्वका ठूला देश र निकायहरूले शान्ति कायम गर्न अपील गरेका छन्। संयुक्त राष्ट्रसंघले शान्ति कायम राख्न आग्रह गरेको छ। अमेरिका, चीन, बेलायतजस्ता देशले दुवैलाई संयमता अपनाउन भनेका छन्। केही देशहरूले आफ्ना नागरिकलाई इजरायल र इरान भ्रमणमा नजान चेतावनीसमेत दिएका छन्। विशेषज्ञहरूका अनुसार यो युद्ध लामो समय चल्यो भने त्यसले ती दुइ देश बाहेक अन्य धेरै देशको अर्थतन्त्रमा असर पार्न सक्छ।
इजरायलको रणनीति
-
रणनीतिक उद्देश्य: इरानको परमाणु कार्यक्रम रोक्ने, हिजबुल्लाहजस्ता शत्रु गुटहरूलाई कमजोर बनाउने, आफ्नो भू–सुरक्षालाई मजबुत पार्ने।
-
सैन्य शक्ति: विश्वकै अत्याधुनिक वायु रक्षा प्रणाली (Iron Dome, David’s Sling), F-35 युद्धविमान, साइबर युद्ध कौशल, मोसादजस्ता खुफिया निकाय।
-
जोखिमहरू: गृहसुरक्षामा मिसाइल आक्रमणको खतरा, आन्तरिक राजनीतिक अस्थिरता, बहुराष्ट्रीय आक्रोश।
इरानकाे आत्मरक्षा रणनीति
-
रणनीतिक उद्देश्य: इजरायलको प्रभाव घटाउने, इस्लामिक प्रतिरोध शक्तिहरू (हिजबुल्लाह, हूती आदि) मार्फत क्षेत्रीय प्रभुत्व कायम राख्ने, प्रतिशोधपूर्ण आत्मरक्षा प्रदर्शन।
-
सैन्य शक्ति: मिसाइल भण्डार (शाहाब, फतेह–110 आदि), ड्रोन प्रणाली, साइबर क्षमताहरू, परोक्ष युद्ध (Proxy Warfare) क्षमता।
-
जोखिमहरू: अमेरिकी प्रतिबन्ध, आन्तरिक असन्तुष्टि, घातक हवाई आक्रमणबाट महत्त्वपूर्ण संरचनामा क्षति।
युद्धले थप विनाश निम्त्याउन सक्ने भएकाले क्षेत्रिय शक्तिहरू याे मामिलालाइ तत्काल सेलाउने पहलमा लागि परेका छन् । साउदी अरेबिया ऐतिहासिक रूपमा इरानको विरोधमा रहेपनि युद्ध बढ्दा आर्थिक र सुरक्षा जोखिममा पर्ने भएकाले मध्यस्थतातर्फ उन्मुख भएकाे देखिन्छ । उसले व्यावसायिक च्यानल खोल्दै मध्यस्थता गर्न चाहेकाे देखाएकाे तर अप्रत्यक्ष रूपमा इजरायलतर्फ झुकेको विश्लेषकहरू बताउँछन् ।
क्षेत्रिय रूपमा उदाउँदा आर्थिक शक्त कतार र युएइ तटस्थता राख्न चाहन्छन् । तर तनाव बढ्दै गएमा रणनीतिक र व्यापारिक प्रभावमा पर्ने सम्भावनाका कारण कूटनीतिक संवादमा सक्रिय रहेका छन् । उनीहरू अमेरिका र पश्चिमी देशसँग सन्तुलन कायमा गर्ने पक्षमा देखिन्छन्।
नेपालपत्र संवाददाता